भौतिक मन्त्रालय एमालेकरण, प्रगति भने टिठलाग्दो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसको बैशाली टेकेर प्रधानमन्त्री बनेका खड्गप्रसाद शर्मा ओलीले सरकारलाई एमालेकरण गरी सबै ठाउँमा एकलौटी गरेको आरोप लागेको छ । ओली नेतृत्वको सरकारमा काँग्रेस सहभागी भए पनि निरीह बनेको चर्चा चलेको छ । यस्तो अवस्थामा एमालेबाट अपमानित हुने काम भयो र दुव्र्यवहार भयो भने सरकारमा नबस्ने काँग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।
यसै सन्दर्भमा प्रधानमन्त्री ओलीको आशिर्वादले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जस्तो आकर्षक र शक्तिशाली मन्त्रालयको नेतृत्व सम्हालेका राष्ट्रिय सभाका सांसद एवं भौतिक मन्त्री देवेन्द्र दाहाल सबैभन्दा कमजोर मन्त्रीका रुपमा देखिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रतिवेदनमा सबैभन्दा कम अंक ७.९ प्रतिशत ल्याएर असफलताको सूचीमा उनी दर्ता भएका छन् ।
मन्त्रालय र सडक विभाग एवं मातहतका डिभिजन तथा योजनाहरुलाई एमालेकरणमा परिणत गरी टिठ लाग्दो अवस्थामा पु¥याएको जानकारहरुले बताएका छन् । एमालेले नेतृत्व गरेका मन्त्रालयहरुमा सूचना तथा सञ्चार मन्त्रालयले १८.१५, शिक्षामन्त्री विद्या भट्टराई २४.५५, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय २५.०, भूमि व्यवथा गरिबी निवारण तथा सहकारी ३३.३५, अर्थ मन्त्रालय ३९.२, उद्योग मन्त्रालय ४८.१, रक्षा मन्त्रालय ५९.० र स्वयं प्रधानमन्त्रीको कार्यालयले २८.५ प्रतिशत अंक ल्याएको समाचार श्रोतले बताएको छ ।
यसरी अनुगमन प्रणालीमा प्रविष्ट गरी विश्लेषण गर्दा सबै मन्त्रालयहरुभन्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अरुको तुलनामा कमजोर देखिएको छ । बार्षिक कार्य योजनामा तोकिएको माइलस्टोन कार्यान्वयनमा मन्त्रालय सबैभन्दा पुच्छरमा परेको प्रतिवेदन सावजनिक भएपछि मन्त्री दाहाल नैतिक संकटमा परेका छन् । भौतिक पूर्वाधार मन्त्री बनेपछि आठ महिनाको अवधिमा पाइपलाइनमा रहेका सडकहरुबाहेक अरु नयाँ योजना र बिग्रेभत्केका पुरानै सडकहरु पनि मर्मत हुन नसकेको समाचार श्रोतले जानकारी दिएको छ ।
मन्त्रालय र विभागलाई एमालेकरण गरी असफल बनेका मन्त्री दा हाल सडक विभागको नेतृत्वका कारण विवादित बन्दै आइरहेका छन् । हाल सडक विभाग र सो अन्तर्गतका आयोजनाहरुमा तरमारा सुपरिटेण्डेन्ट इन्जिनियरहरुको विगविगी रहेको श्रोतले बताएको छ । प्रजातन्त्रमा आस्था राख्ने सुईहरुलाई टर्च बालेर खोज्नुपर्ने अवस्था र जिम्मेवारीबाट मन्त्रालयले भेदभाव गर्दै आएको समाचार श्रोतले बताएको छ ।
भौतिक सचिव केशवकुमार शर्मा मन्त्रालय र विभागको बारेमा राम्रो जानकार भए पनि उनले आफ्नो क्षमता देखाउन नसेको चर्चा चलेको छ । यता, वर्षा लाग्न दुई महिना मात्र बाँकी हुँदा बी.पी. राजमार्ग क्षतिग्रस्त सडक बनाउन अर्थमन्त्रालयबाट बजेट निकास भए पनि ठेक्का लगाउन समय लाग्ने भएकाले यो वर्ष पनि बी.पी.राजमार्ग (चौकीडाँडा–नेपालथोक) बाट यात्रा गर्ने यात्रुहरुले सास्ती पाउने बताइएको छ । हाल उक्त सडकखण्ड मर्मत गरेर यो वर्षामा सवारीसाधन चलाउने हिसाबले मात्र काम भैरहेको स्रोतले बताएको छ ।
भौतिक मन्त्रालयले बी.पी. राजमार्गसहित २६ वटा आयोजनामध्ये १३ वटा सडक र १३ वटा पुल बनाउन १९ अर्बको श्रोत सहमति अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिएका छन् । यसमा बी.पी. राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गसहित १३ वटा सडकहरुको पुनर्निर्माण हुने भएको छ । ७ वर्षपछि चक्रपथ सडक विस्तारको दोश्रो खण्ड कलंकी–स्यूचाटार–बसुन्धरासम्म डी.पी.आर.का लागि प्रकृया अगाढि बढेको समाचार श्रोतले जानकारी गराएको छ । यसरी काम गर्दागर्दै पनि भौतिक मन्त्रालयको प्रगति पुच्छरमा परेपछि मन्त्री दाहाल आक्रोशित बन्न पुगेका छन् । विभागको नेतृत्वका कारण मन्त्री दाहालले अपजसको भारी बोक्नु परेको सिंहदरबारमा चर्चा चलेको छ । यसतर्फ मन्त्री दाहालले बेलैमा कदम नचाले थप आलोचित बन्नुपर्ने बताइएको छ ।
यसैबीच मन्त्रालय र विभागको उपलब्धी शून्य भए पनि मन्त्री दाहाल, सचिव शर्मा, सडक विभागका बैदेशिक समन्वय महाशाखा हेर्ने उप महानिर्देशक डा.विजय जैसी र पुल महाशाखाका उमनि ललिजंग खनाल विश्व बैकको आगामी फागुन २६ गतेदेखि चैत्र १ (मार्च १०–१४) सम्म आयोजना हुने सेमिनारमा भाग लिन अमेरिकाको वासिङ्टन डीसी जाने भएका छन् । सो कार्यक्रमको बारेमा सडक विभागका महानिर्देशकलाई जानकारी नगराइएपछि महानिर्देशक आगो बनेको सडक श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *