काँग्रेसका नेता आफ्नो नारी छाम्न जिल्ला दौडाहामा

Nayabimarsha (Weekly Newspaper from Nepal)
कृष्ण लम्साल

काठमाडौं/ नेपाली काँग्रेसको १५ औं महाधिवेशन कहिले हुन्छ भन्ने बारेमा टुङ्गो लाग्न सकेको छैन । काँग्रेसको विधान अनुसार आगामी २०८२ मंसिरमा महाधिवेशन गर्नुपर्ने हो तर कृयाशील सदस्यता वितरण २०८१ चैत्र मसान्त भित्र नसकिँदा १५ औं महाधिवेशन निर्धारित समयमा नहुने निश्चित छ ।
यसैबीच १५ औ महाधिवेशनलाई आधार बनाएर काँग्रेसका नेताहरु आफ्नो नारी छाम्न जिल्ला दौडाहामा निस्किएका छन् । काँग्रेसमा यतिबेला वरियताको विषय पनि पेचिलो बनेको छ । काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला र उपसभापति पूर्णबहादुर खड्काबीच वरियताको लफडा शुरु भएर एकअर्काबीच पानी बाराबारको अवस्था आएको जानकारहरुले बताएका छन् ।
यस्तै १४ औं महाधिवेशन र त्योभन्दा पछाडि एउटै कित्तामा रहेका वरिष्ठ नेता कोइराला र महामन्त्री गगनकुमार थापाको पनि कित्ताकाट भएको काँग्रेसवृत्तमा चर्चा चलेको छ । वरिष्ठ नेता कोइराला र महामन्त्री थापा १५ औं महाधिवेशनमा सभापतिका सशक्त उम्मेदवार हुन् । काँग्रेसको संस्थापन पक्षका नेताहरु र सभापति शेरबहादुर देउवा निकट ठानिएका नेताहरु पूर्णबहादुर खड्का, डा. शशाङ्क कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले पनि जिल्ला दौडाहामा निस्किएर कार्यकर्ताहरु भेट्ने क्रमलाई तीब्र बनाउँदै गुटका बैठकहरु गर्दै आएका छन् ।
यस बाहेक नेता विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँणले पनि भेटघाटलाई तीब्र पारेको चर्चा चलेको छ । समापति देउवाले आफ्नो आशीर्वादबाट कसलाई सभापति बनाउने भन्ने बारेमा अझसम्म मुख खोलेका छैनन् । नेताहरु आशिर्वादका लागि बुढानिलकण्ठ धाउने क्रम जारी छ । जिल्ला दौडाहामा आफ्नो नारी छाम्न निस्किएका नेताहरुमध्ये वरिष्ठ नेता डा. शेखर कोइराला, महामन्त्री गगनकुमार थापा र देउवाको आशिर्वाद पाएमा उपसभापति खड्का तथा पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाबीच नै प्रतिस्पर्धा हुने बताइएको छ । अन्य नेताहरुले जतिसुकै चुरीफुरी गरे पनि कार्यकर्ताले नपत्याउने जानकारहरुले बताएका छन् ।
यसैबीच नेतात्रय निधि, सिंह र कोइरालाबीच एकता भएर महाधिवेनमा गएमा निधि पनि बलियो उम्मेदवार रहेको काँग्रेसीहरुले बताएका छन् । नेताहरुले जिल्ला दौडाहालाई जतिसुकै तीब्र परि पनि महाधिवेशनको निर्णय गर्ने साँचो सभापति देउवाको हातमा रहेकाले १५ औ महाधिवेशन २०८४ को निर्वाचनपछि मात्र हुन सक्ने वा अगाडि भएमा २०८३ मंसिरमा हुने बताइएको छ । यसैबीच सभापति देउवाले बहुमत ल्याउने परिस्थिति नभएकोले बढी सिट जित्न काँग्रेसका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *