काँग्रेसमा क्रियाशील सदस्यता नवीकरण गर्ने घटे

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली काँग्रेसको १४औं महाधिवेशनमा भन्दा १५ औं महाधिवेशनमा क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ क्रियाशील सदस्यता लिनेको संख्या घटेको छ । काँग्रेस स्रोतले दिएको जानकारी अनुसार यसको असर क्रियाशील सदस्यताबाट प्राप्त हुने आम्दानीमा परेको छ ।
क्रियाशील सदस्यबाट प्राप्त हुने आम्दानी करोडबाट लाखमा झरेको बताइएको छ । देशको सबैभन्दा ठूलो दल काँग्रेसको आम्दानी घट्नुलाई अर्थपूर्ण रुपमा मानिएको छ । गत आर्थिक वर्षमा काँग्रेसले तीन करोड ६४ लाख २९६ रुपियाँ आम्दानी गरेको थियो । त्यसभन्दा अघिल्ले आर्थिक वर्षमा १४ करोड ८९ लाख रुपियाँ आम्दानी गरेको थियो ।
काँग्रेसले लेवी, नयाँ सदस्यता, सदस्यता नवीकरण, क्रियाशील सदस्यता शुल्कबाट आम्दानी गर्दै आइरहेको छ । यी सबै शिर्षकबाट हुने आम्दानी घटेपछि एक वर्षमा काँग्रेसको आयश्रोत ११ करोड २५ लाख बढी घटेको हो । पछिल्लो आर्थिक वर्ष २०७९÷०८० मा काँग्रेसले ५७ लाख ६० हजार ८०० मात्र आर्जन गरेपछि पार्टी ऋणात्मक अवस्थामा पुगेको जानकारहरुले बताएका छन् । आर्थिक वर्ष २०८०÷०८१ को आम्दानीको हिसाब आउनै बाँकी छ । घटनाक्रमले आम्दानी घट्ने देखाएको छ । काँग्रेसले क्रियाशील सदस्य नवीकरण शुल्क रु.दुई सय र नयाँ क्रियाशील सदस्य रु.१० लिँदै आएको छ ।
यसैगरी काँग्रसलाई प्राप्त हुने चन्दा सहयोग रकम पनि घटेको समाचार सूत्रले जानकारी दिएको छ । काँग्रेसमा आम्दानीभन्दा खर्च बढेपछि ऋणात्मक अवस्था रहेको बताइएको छ । काँग्रेसमा दलभन्दा व्यक्ति धनी देखिएका छन् । काँग्रेसको संगठन निर्माणमा भन्दा सत्ता स्वार्थमा ध्यान केन्द्रित हुँदा यस्तो अवस्था आएको बताइन्छ ।
काँगे्रसले संघमा विभिन्न कार्यक्रम गरे पनि प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले संगठन निर्माणमा ध्यान नदिई कमाउधन्दातिर लागेपछि सदस्यता लिन र नवीकरण गर्ने व्यक्तिहरुले नाक खुम्च्याउन थालेका छन् । काँग्रेसको वडाअध्यक्ष, गाउँपालिका प्रमुख र नगरप्रमुख एवं प्रदेश सांसदले क्रियाशील सदस्यता वितरण र नवीकरणप्रति ध्यान नदिएको व्यापक चर्चा चलेको छ । गाउँ–गाउँ, टोलटोल, वडा, क्षेत्र, नगर र जिल्लामा महाधिवेशन आउन लागेपछि मात्र आफ्नो पक्षधरलाई क्रियाशील सदस्यता वितरण गरी अन्यलाई निषेध गर्ने प्रवृत्ति देखिएको छ ।
काँग्रेसमा क्रियाशील सदस्यता लिएर महाधिवेशन प्रतिनिधिमा लड्ने र विजयी बनेपछि गाउँ नफर्कने अनि कमाउधन्दामा लाग्ने प्रवृत्ति मौलाएको छ । कतिपय ठाउँमा क्रियाशील सदस्यता विवादले अधिवेशन नै भै नरहेको अवस्था छ । यस्तो अवस्थाको अन्त्य गर्न केन्द्रले हस्तक्षेप गरी निष्ठावान् र इमान्दार व्यक्तिहरु जो काँगे्रसप्रति बफादार छन्, तिनीहरुलाई न्याय दिनुपर्ने देखिन्छ । अन्यथा गुट उपगुटको मारमा पर्दै आएको काँग्रेसप्रति जनताको आकर्षण बढ्नुको सट्टा घट्ने निश्चित छ । यसतर्फ काँग्रेसको संगठन विभाग प्रमुख र अन्य नेतृत्वको ध्यान जानुपर्ने देखिन्छ भनी कांग्रेसका शुभचिन्तकहरुले सुझाव दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *