भक्तपुर/ खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा बनेको वर्तमान सरकार बद्नामीको मार्गमा हिंड्न थालेको छ । नेपाली कांग्रेसको समेत साथ पाएर बनेको वर्तमान सरकारका प्रधानमन्त्री ओलीले सही दिशामा सरकारलाई चलाउन नसकेको आरोप लाग्दै आएको छ । आफ्नो प्रतिकूलको शब्द समेत सुन्न नरुचाउने ओलीले संयुक्त सरकारलाई एकलकाँटे ढंगबाट संचालन गर्न थालेकाले सत्तासाझेदारहरुका बीचमा समेत मनमुटाव हुन थालेको छ । करिब दुई तिहाई सांसदको समर्थनमा बनेको वर्तमान सरकारका प्रधानमन्त्री ओलीले दैनिक रुपमा ‘आफ्नो सरकार ढल्दैन’ भनी भन्नुपर्ने अवस्था आएको छ । यस्तो अवस्था आउनुमा ओलीको अहंकारी शैली नै प्रमुख कारक रहेको भनी राजनीतिक क्षेत्रमा चर्चा चलेको छ ।
सरकारले जे जस्तो निर्णय लिनुपर्ने हो त्यसतर्फ रत्तिभर जाँगर नदेखाएको बताइन्छ । सरकार गठनका समयमा संविधान संशोधनको कुरालाई प्रमुखताका साथ उद्घोष गरिएको थियो । त्यसविपरितको दिशामा वर्तमान सरकार लागि रहेको छ । सरकारले जुन गतिका साथ काम गर्नुपर्ने हो, त्यसतर्फ ध्यान नै नदिएको अवस्था आएको देखिन्छ । सरकार सबैलाई पेलेरै जाने भन्ने पक्षमा देखिएको छ । करिब एक महिनादेखि सडकमा आन्दोलनरत शिक्षकहरुसँग बुधबार मात्र वार्तामा बसी केही निकास निकाल्न सरकार सहमत भएको छ ।
आन्दोलनमा रहेका शिक्षकहरुमाथि घुसपैठ गराई आन्दोलनलाई बद्नाम गराउने कार्य स्वयम् सरकारले गरेको भनी आरोप पनि लाग्न गयो । यसैगरी आवासीय चिकित्सकहरु पनि आन्दोलनका चरणवद्ध कार्यक्रममा साथ सडकमा छन् । सहकारी पीडितहरु पनि आन्दोलित अवस्थामै छन् । यस्तो अवस्थामा सरकार निकास दिनुको साटो नसुनेको अवस्थामा बसिरहेको देखिन्छ । सरकारमा रहेकाहरु समाधानको खोजीमा लागेको नदेखिएको भनी आलोचना भैरहेको छ ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका बीचमा बुधबार एकता कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रम नै भाँडिने गरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार चलान गरियो । उक्त विषयले बुधबार दिनभरी राजनीतिक तथा अदालत र प्रहरी प्रशासनलाई तताउने काम ग¥यो । सर्वोच्च अदालतका एक कर्मचारीले लहडमा आई चौधरीको विचाराधीन मुद्दाका विषयलाई लिएर कीर्ते कागजात बनाई उनलाई थुनामा पठाउन लगाएका थिए ।
करिब पाँच घण्टाको काराबासको प्रक्रियाका बीचमै चौधरीलाई छाड्ने कार्य भयो । अदालतले आफ्नो कर्मचारीको कार्यलाई गलत भन्दै चौधरीलाई थुनामुक्त गरायो । यो कार्यलाई पनि कतिपयले ओलीको कार्यशैलीसँग जोडेर हल्ला गरेका थिए । उनीहरुको एकता प्रक्रियालाई रोक्नका लागि सरकारी तवरबाटै प्रपञ्च गरिएकोसम्मको हल्ला चलेको थियो ।
यो विषय यति तात्यो कि हाल सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने कुरा आयो । सरकारमा पर्यटन राज्यमन्त्रीका रुपमा रहेका आफ्ना मन्त्रीलाई उक्त पार्टीले फिर्ता बोलाउने भन्ने कुरा आयो । यसैबीचमा सत्तारुढ दलहरुको बैठक तथा अदालती प्रक्रियामा समेत कुरा उठेको थियो ।
दुई तिहाईको सरकारलाई एकदमै दह्रो सरकार मानिन्छ । यस्तो सरकारले चाहेमा संविधान समेत संशोधन गर्न सक्छ । यस्तो बलियो मानिएको सरकारलाई बेकामे बनाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको मानिन्छ । ओली आफ्नो स्वार्थ र इविका लागि जसलाई जे गर्न पनि तयार रहेको जसरी प्रस्तुत हुँदै आएको आभाष आमस्तरमा गरिन थालिएको छ । ओलीले सरकार संचालनलाई भन्दा पनि आफ्नो दल संचालनलाई प्राथमिकतामा राखेको आम बुझाइ छ ।
जनताको चाहना विपरित ओली प्रचारबाजीमा केन्द्रित हुँदै गरेको बताइन्छ । विभिन्न प्रदेशहरु बनाइएका छन् जसमा मुख्यमन्त्रीको छुट्टै व्यवस्था गरिएको छ । यस्तो अवस्थामा पनि ओली भने विभिन्न प्रदेशमा पुगेर राज्यस्रोतको दोहन गर्दै उद्घाटनको नाममा रिवन काट्दै हिंड्ने गरेका छन् । कहिले पूर्वाञ्चल त कहिले पश्चिमाञ्चल पुगी उद्घाटन गर्ने कार्यमा ओली लाग्ने गरेका छन् ।
ओलीको ध्याउन्न आफू र आफ्ना कसरी बन्नेमा मात्र केन्द्रित रहने गरेको आरोप लाग्ने गरेको छ । विभिन्न नियुक्ति तथा राजदूतहरुमा ओलीको ध्यान जाने गरेको बताइन्छ । पछिल्लो समयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा ओलीको नजर परेको बताइन्छ । सरकारको प्रमुख साझेदार नेपाली कांग्रैसले गभर्नरका लागि आशा गरेको अवस्थामा वचन दिएर पनि ओली जालझेलमा लागि रहेको बताइन्छ । ओलीको चाल आफू निकटका व्यक्तिलाई गभर्नर बनाउनु रहेको छ ।
उता, कांग्रेस पनि आफूले वचन पाएर पनि गभर्नर बनाउन नपाएको भनी रुष्ट बनेको छ । सत्ताको लागि मुख्य पिलरको रुपमा रहेको कांग्रेसलाई दिक्क लगाउने कार्यमा ओली लागेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) देखि अन्य दल पनि तयारी अवस्थामा छन् । देउवाले चाहेको कुनै पनि बेलामा उनी प्रधानमन्त्री बन्न सक्ने अवस्था छ । यस्तो अवस्थामा देउवालाई रिझाउनुपर्नेमा ओली भने चिढ्याउने कार्यमा तल्लीन देखिएका छन् ।
देउवा पनि पछिल्लो अवस्थालाई ख्याल गर्दै जोखाना हेर्दै गरेको अवस्थामा छन् । देउवा आफ्नो कारणले ओलीले हट्नु नपरोस् भन्ने चाहिरहेका छन् । हट्नै परे ओली आफ्नै शैलीका कारण हट्ने भन्नेमा देउवा पुगेका छन् ।
वर्तमान सरकारमा रहेर कांग्रेस बद्नाम मात्र बन्ने गरेको भनी देउवालाई उनकै दलका नेताहरुले सचेत गराई रहेका छन् । ओलीले विभिन्न बहानामा कांग्रेसलाई उत्तानो चित लगाई रहेको तथा उस्तै परे नेतृत्व परिवर्तन समेत नगर्ने खतरा रहेको भनी देउवाको कान भर्ने कार्य पनि भैरहेको छ । कम बोल्ने तर उचित निर्णय गर्ने स्वभावका देउवा भने जोखाना हेरेर बसेको बताइन्छ ।
