भक्तपुर/ विगतका तीन साता प्रधानमन्त्री पद खुस्कने खतरामा रहेका खड्गप्रसाद शर्मा ओलीलाई राहत मिलेको छ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साथले ओलीलाई राहत मिलेको हो । कांग्रेसको आडमा सरकार संचालन गरिरहेका ओली देउवाको साथ र वचनले ढुक्क अवस्थामा पुगेका बताइएको छ । वचनमा प्रतिवद्ध रहने स्वभावका देउवाका कारण ओली ढुक्क हुन पुगेका हुन् । परिस्थिति अनुसार बरु आफू बोली र व्यवहार बदल्ने स्वभावमा रहेका ओली देउवाको दृढ बोलीका कारण ढुक्क अवस्थामा पुगेका ओली निकटको समाचार स्रोतले बताएको छ ।
पछिल्ला केही हप्तामा ओलीको कुर्ची फुत्किने गरी विभिन्न गतिविधि र प्रयासहरु भएका थिए । त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल क्रियाशील देखिएका थिए । कांग्रेसमा अन्य नेताहरुले समेत वर्तमान संयुक्त सरकारप्रति प्रश्न उठाइरहेका अवस्थामा दाहाल भने वर्तमान सरकार ढाल्नका लागि क्रियाशील थिए । उनले आफू सरकार बाहिर रहेर भए पनि कांग्रेसको नेतृत्वमा अब सरकार बनाउने अवस्थामा पुगेको भनी भन्ने गरेका थिए । उनले ओलीलाई विभिन्न आरोप लगाउँदै वर्तमान सरकारलाई टिकाइराख्नुको औचित्य समाप्त भएको बताएका थिए ।
नयाँ सरकार गठनका लागि प्रयासरत रहेका दाहालले आफूले प्रधानमन्त्री बन्ने चाहना नपालेको भनी भन्ने गरेका थिए । उनले आगामी निर्वाचनसम्म आफू प्रधानमन्त्री बन्न इच्छुक नरहे पनि ओलीलाई भने टिकाइरहनुको औचित्य नरहेको बताउने गरेका थिए । त्यसका लागि कांग्रेसले चाहेका खण्डमा ओलीलाई च्युत गरी कुनै पनि बेला देउवालाई प्रधानमन्त्री बनाउन सकिने भन्ने धारणा उनले राख्दै आएका थिए ।
उता, दाहालले भगीरथ प्रयास गर्दा पनि देउवाले वर्तमान सरकार ढाल्नका लागि कुनै पनि प्रयास गरेनन् । उनले जे जस्ता हल्ला भए पनि आफू वर्तमान सरकारकै पक्षमा रहेको भन्ने सन्देश दिन चाहिरहेका छन् । उनी ओलीले पनि आफ्नो वचनको पालना गरी अबको नौ महिनामा सरकारको नेतृत्व छोड्नेमा आफू विश्वस्त रहेको भनी निकटवर्तीहरुलाई बताउने गरेका स्रोतले जानकारी दिएको छ । यसबीचमा ओली नेतृत्वको सरकार ढाल्नासाथ देउवाको नेतृत्वमा सरकार बनिहाल्ने भनी निकटवर्तीहरुले भन्ने गरे पनि देउवा भने त्यसप्रति आकर्षित नबनेको बताइएको छ ।
देउवाले पछिल्लो समय सरकारको नेतृत्व गर्ने भन्दा पनि वर्तमान बलियो सरकारले मुलुकका लागि केही राम्रो काम गरोस् भन्ने पक्षमा रहेको बताउने गरेका छन् । उनी ओलीलाई हाल साथ दिएको अवस्थामा पछिल्ला दिनमा पनि ओलीको साथले सरकार सजिलै चलाउने मनस्थितिका साथ काम गरिरहेका बताइएको छ ।
देउवा भोलिका दिनमा पनि चुनाव गराउने तथा ओलीको दल नेकपा (एमाले) लाई माओवादी केन्द्रबाट टाढै राख्नका लागि पनि सरकारमा एमालेको साथ चाहिरहेको अवस्थामा छन् । यसैगरी देउवाको मूल सरोकारमा प्रदेशका स्थिर सरकारहरु पनि परेका छन् । केन्द्रमा सरकारलाई ढाल्नासाथ प्रदेशमा समेत सरकार ढल्ने तथा अस्थिरता कायम रहने अवस्था छ । यसबीचमा मुलुक झनै अस्थिरतातर्फ जाने भनी देउवाले चिन्ता गर्ने गरेको समाचार स्रोतले बताएको छ ।
यसरी सरकार ढल्ने वा नढल्ने भन्ने हल्ला चलिरहेको अवस्थामा कांग्रेसमा भने किचलो कायमै छ । कांग्रेसमा आगामी महाधिवेशनमा कसलाई सभापति बनाउने भन्ने कुराले विशेष महत्व राख्ने गरेको छ । कांग्रेसका नेताहरु सरकार तथा मन्त्री बन्ने वा बनाउने कुरामा भन्दा पनि सभापति कसलाई बनाउने भन्ने कुरामा बढी केन्द्रित भैरहेको देखिन्छ । कांग्रेसमा हालका सभापति शेरबहादुर देउवा आगामी महाधिवेशनमा सभापति नबन्ने स्पष्ट छ । त्यसैले पनि सभापतिका लागि चाहना राख्नेहरुले सोही पदलाई बढी चासोका साथ हेरिरहेका छन् ।
कांग्रेस भित्र पनि महाधिवेशनलाई केन्द्रित गरेर आफूलाई हेर्नेहरुको भीड रहेको छ । कांग्रेसको महाधिवेशन भएर अर्को महाधिवेशन आउन लाग्दा समेत कतिपय विभागहरु खाली नै छन् । यसैगरी भातृसंस्थाहरुको पनि बेहाल छ । कतिपय भातृसंस्थाहरु नयाँ नेतृत्वको अभावमा पुगेका छन् ।
यसैगरी कांग्रेसमा वर्तमान सरकारको कार्यशैलीलाई लिएर पनि मतैक्यता छैन । सरकारको पक्ष र विपक्षमा आवाज उठाउनेहरु उत्तिकै छन् । कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस प्रतिपक्षमा हुँदा जति लोकप्रीय थिए, अहिले छैनन् भनी भन्न थालिएको छ । उनीहरु पहिले आफूले बोलेका कुराले थिचिएर बसेको अवस्थामा छन् । बोल्दा सरकारमै रहेर विपक्षी भएको आरोप लाग्ने नबोल्दा बोल्ती बन्द भएको भन्ने आरोप लाग्ने अवस्थामा उनीहरु रहेका छन् ।
नबोल्दा भोलिका दिनमा दलको नेतृत्वमा कसरी पुग्ने भन्ने चिन्ता उनीहरुमा छ । यसैगरी बोल्दा प्रधानमन्त्री ओलीले निशाना साँध्ने तथा प्रतिशोध लिने खतरा कायम छ ।
उता, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीमाथि भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको डण्डा तेर्साउने गरेको आरोप पनि लाग्न थालेको छ । आफूलाई मन नपर्ने वा आफ्नो विरुद्धमा उभिने कसैलाई पनि अख्तियारको डण्डा देखाएर ओलीले तर्साउने गरेको चर्चा छ । पछिल्लो डण्डा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई देखाइएको बताइएको छ ।
पतञ्जलि नामक एक कम्पनीलाई हदबन्दी भन्दा बढी जग्गा दिएको तथा त्यो जग्गा कानून मिचेर बिक्री गर्न समेत दिएको आरोपमा अध्यक्ष नेपालसँग अख्तियारले हालै बयान लिएको कुरा सार्वजनिक भएको छ । अध्यक्ष नेपाल भने उक्त निर्णय प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषद्ले गरेको निर्णय भएको भनी ढुक्कले बसेका थिए । मन्त्रिपरिषद्को निर्णयमाथि आयोगले प्रश्न उठाउन नपाउने भन्ने कुरा प्रचलनमा रहने गरेका कारण ढुक्कको अवस्थामा नेपाल रहे पनि आयोगले उनको बयान सुटुक्क लिएपछि उनी थर्कमान अवस्थामा रहेका बताइएको छ ।
अख्तियारलाई देखाएर आफूमाथि मुद्दा अघि बढाइन सक्ने तथा उस्तै परे ओलीले समेत बल गरी आफ्नो राजनीतिक जीवन बर्बाद पारिदिन सक्ने खतरा अध्यक्ष नेपालले देख्ने गरेको पनि बताइएको छ । सोही कारण अध्यक्ष नेपाल पछिल्लो समय मौन अवस्थामा रहेको पनि बताइएको छ ।
यसैगरी अख्तियार, सम्पत्ति शुद्धिकरण, प्रहरी, प्रशासन आदि प्रयोग गरेर सरकारले जसलाई जे पनि गर्न सक्ने अवस्था रहेको भनी प्रतिपक्षी दलका नेताहरु त्रसित अवस्थामा रहेका बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको रकम अपचलन मुद्दामा थुनामा पुगेका कारण पनि प्रतिपक्षी दलका नेताहरु त्रसित अवस्थामा पुगेका छन् ।
ओलीलाई देउवाको साथले राहत: कांग्रेसमै किचलो, अख्तियारको डण्डा
Facebook Comments Box
