एनआरएनएको कार्यसमितिलाई परराष्ट्रको मान्यता

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ परराष्ट्र मन्त्री डा. आरजु राणाले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिसँग सरकारले सहकार्य गर्ने प्रष्ट पारेकी छिन् । हालै भएको एकता महाधिवेशनबाट निर्वाचित महेश कुमार श्रेष्ठको नेतृत्वको कार्यसमितिलाई परराष्ट्र मन्त्रालयमा बधाइ दिने क्रममा उनले सो धारणा राखेकी हुन् । मन्त्री राणाले छुटेको समूहलाई पनि यहीमार्फत गोलबद्ध हुन आह्वान गर्दै एनआरएनएलाई एकताबद्ध भएर जान आग्रह पनि गरिन् ।
मन्त्री राणाले संसारभर रहेका एनआरएनहरू नेपालको मानार्थ दूत भएको बताइन् । उनले सबैलाई सरकारसँग सहकार्य गरेर नेपालको उन्नतिमा साथ दिन अपिल गरिन् । सो अवसरमा मन्त्रालयका सचिव अमृतबहादुर राईले बृहत् एकताका लागि अहिलेको कार्यसमितिले पहल गर्ने आफूले विश्वास लिएको बताए ।
सोही अवसरमा संघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले एकता अधिवेशन सम्पन्न गर्न परराष्ट्र मन्त्री, परराष्ट्र मन्त्रालय लगायत नेपाल सरकारले गरेको सहयोगका लागि आभार व्यक्त गरे । एनआरएनभित्रका विवादहरू समाधानका लागि सल्लाहकार बोर्डको आवश्यकता रहेको उनले बताए ।
यसैगरी एनआरएनएका पूर्वअध्यक्ष भवन भट्टले तीता कुराहरू बिर्सिएर अघि बढ्दा मात्रै सबैले सफलता पाउने बताए । संसारकै ठूलो सङ्गठनको रूपमा रहेको एनआरएनबाट सरकारले पनि लाभ लिन सक्ने उनले उल्लेख गरे ।
एनआरएनए अभियन्ता आर.के. शर्मा, उच्चस्तरीय समितिका सदस्य विनोद कुँवर, समितिका सदस्य सचिव जानकी गुरुङले एकता महाधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति निर्वाचित गरेको जानकारी सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयलाई गराइसकेको बताएका थिए । सोही अवसरमा उक्त प्रतिवेदन परराष्ट्र मन्त्री राणालाई पनि हस्तान्तरण गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *