एमालेका केन्द्रीय नेता श्रेष्ठ राप्रपा नेपालमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

इनरुवा/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा रही केन्द्रीय राजनीतिमा सक्रिय रहँदै आउनु भएका रमेश श्रेष्ठ राप्रपा नेपालमा प्रवेश गर्नु भएको छ । यसअघि उहाँ नेकपा (एमाले) को केन्द्रीय सल्लाहकारका रुपमा रही एमालेको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।
त्यसो त श्रेष्ठको राजनीतिक पृष्ठभूमि राप्रपा तथा राप्रपा नेपाल नै रहँदै आएको थियो । पञ्चायत कालमा गृहमन्त्री बन्नु भएका होमबहादुर श्रेष्ठ (ठूलोबाबु) का छोराका रुपमा रहँदै आउनु भएका श्रेष्ठ २०७० सालमा राप्रपा नेपालमै हुनुहुन्थ्यो । २०७० सालको संविधानसभाको निर्वाचनमा श्रेष्ठलाई सांसद बनाउने अवस्था आउँदा पनि अध्यक्ष कमल थापाले खेल खेली बन्न नदिएको भनी श्रेष्ठले राप्रपा नेपाल त्याग्नु भएको थियो । राप्रपा नेपालको केन्द्रीय सदस्यका रुपमा रहँदा सो दल त्यागेपछि उहाँ एमालेमा प्रवेश गर्नु भएको थियो ।
२०७४ सालको संविधानसभाको निर्वाचनमा श्रेष्ठ एमालेबाट सुनसरी क्षेत्र नं.४ बाट उम्मेदवार बन्नु भएको थियो । त्यसबेला उहाँ नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीसँग पराजित हुनुभएको थियो ।
श्रेष्ठको प्रवेश कार्यक्रम भने उनै केन्द्रीय अध्यक्ष कमल थापाकै उपस्थितिमा हुन गयो । सुनसरीको इनरुवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले जेठ १५ गते हुने आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको आरोप लगाए । थापाले आन्दोलन शान्तिपूर्ण भद्र अवज्ञाको रुपमा अघि बढ्ने दाबी गरे ।
‘निर्धक्क भएर काठमाडौं आउनुहोस्, गणतन्त्र मान्दिन, धर्म निरपेक्षता मान्दिन भन्ने अधिकार संविधानले नै दिएको छ । धारा २७४ ले यसको विकल्प खोज्ने अधिकार स्विकार गरेको छ, गणतन्त्रको विकल्प खोज्ने कुरा संविधान विरोधी होइन,’ उनले स्पष्ट पारे । अनावश्यक हस्तक्षेप गर्ने, बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काममा सरकारले समय बर्वाद नगरोस् भन्दै अहिलेको कुशासन र भ्रष्टतन्त्रको विरुद्धमा जनता जागिसकेको उनको जिकिर थियो ।
‘यो राष्ट्रवादी आन्दोलन हो, नेपाल र नेपाली जनताको हितको लागि नेपाली जनता मिलेर गर्न लागेको आन्दोलन हो । कुनै विदेशी प्रभाव र उक्साहट छैन,’ थापाले भने । कार्यक्रममा नेताहरू तारानाथ लुइँटेल, तेज कुरुङ्वाङ, बल्लभ दाहाल, माधव आचार्य, रामविलास मेहतालगायतले बोलेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *