बारमा डीएलए र पीपीएलए भिड्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं l नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिको निर्वाचन भोलि शनिबार काठमाडौंमा हुने भएको छ । विगतमा नेपाली कांग्रेस निकटका कानूनव्यवसायीहरुको संस्था डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) र वामपन्थीहरु खासगरी नेकपा (एमाले) निकटका पीपीएलएको बीचमा प्रतिस्पर्धा हुने गरेकोमा यस पटक भने त्यसको संरचनामा केही परिवर्तनको अवस्था देखिएको छ ।

डीएलएको समूहमा बिगतमा वामपन्थी बाहेकका अन्य राजनीतिक आस्थाका कानूनव्यवसायीहरु समेत रहने गरेका थिए । यस पटक भने यो समूहमा केन्द्रीय राजनीतिक गठबन्धनकै स्वरुपको समूह बनेको छ । उता, पीपीएलएको समूहमा एमाले सहित सबै वामपन्थीहरुलाई समेटिने गरेकोमा एमालेमा आएको फुट तथा एमालेबाट फुटेको नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्र निकटका कानूनव्यवसायीहरु समेत डीएलएको नेतृत्वमा बनेको समूहमा पुगेका छन् ।

यस पटक पीपीएलएले वामपन्थीहरुलाई समेट्न सकेको छैन । यस्तो अवस्थामा विगतमा पीपीएलएमा रहेका वामपन्थी विचारधाराका नाम चलेका अधिकांश कानूनव्यवसायीहरु अहिले एकीकृत समाजवादीमा आवद्ध भएको अवस्था छ । यस कारणले गर्दा पीपीएलए झनै कमजोर अवस्थामा रहेको स्थितिमा छ । यता, आफू एक्लै नै सक्षमको अवस्थामा रहँदै आएको डीएलए यस पटक वामपन्थीहरुको समेत साथ पाएका कारण दह्रो अवस्थामा रहेको विश्लेषण कानूनव्यवसायीहरुमाझ हुँदै आएको छ ।

विगतमा अध्यक्षलगायतका पदमा दुई समूहका उम्मेदवारहरु बन्ने गरेको अवस्थामा यस पटक भने स्वतन्त्र समूह बनाएर केही कानूनव्यवसायीहरुले अध्यक्ष, महासचिव लगायत केही पदमा उम्मेदवारी दिएका छन् । यसैगरी यस पटक अध्यक्षमा मात्रै नौ जनाको उम्मेदवारी परेको अवस्था छ ।

यस्तो अवस्थामा बरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको नेतृत्वमा डीएलएले बृहत् लोकतान्त्रिक, प्रगतिशील, समावेशी तथा पेशागत कानून व्यवसायी समूह बनाएको छ । अध्यक्षमा डीएलएका गोपाल कृष्ण घिमिरेलाई उठाइएको अवस्थामा अन्य दल समर्थकहरुले उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा सदस्य पदमा बाँडफाँड गरी उम्मेदवारी दिएका हुन् ।

घिमिरे नेतृत्वको समूहबाट उपाध्यक्ष पदका लागि आठ जनाले उम्मेदवारी दिएका छन् । यसरी उपाध्यक्षमा उम्मेदवारी दिनेहरुमा आशा राई (महिला), सुरज खत्री (१ नं. प्रदेश), सुधीर कुमार कर्ण (मधेश प्रदेश), हर्क बहादुर रावल (बागमती प्रदेश), वीरेन्द्र के.सी.(गण्डकी प्रदेश), पशुपति भण्डारी (लुम्विनी प्रदेश), उत्तम प्रसाद आचार्य (कर्णाली प्रदेश) र तुलाराम गिरी (सुदूरपश्चिम प्रदेश) रहेका छन् ।

यसैगरी महासचिवमा अन्जिता खनाल र कोषाध्यक्षमा भरत बहादुर राउतले उम्मेदवारी दिएका छन् । यस्तै सदस्य पदमा विनिता नेपाली, किरणकुमारी साह, नरेशकुमार साह, नारायण दास राई, रुप बहादुर सारु, सीता पौड्याल, शर्मिला थापा विष्ट र जितेन्द्र बहादुर मडैले उम्मेदवारी दिएका छन् । यसैगरी सदस्यका लागि भरत कुमार लकाई, देवी प्रसाद कोइराला, निर्भयराज पौडेल, सन्तोष कुमार राउत, गुणराज आचार्य र सन्तोष तिवारीले उम्मेदवारी दिएका छन् ।

उता, पीपीएलएका बरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको नेतृत्वमा प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहले उम्मेदवारी दिएको छ । यो समूहबाट महिला उपाध्यक्षमा रमा श्रेष्ठ तथा अन्य प्रदेशका उपाध्यक्षमा क्रमशः रोहित कुमार डाँगी, केशव प्रसाद दास, डिल्लीराम मैनाली, भूपेन्द्र खनाल, वाशुदेव ज्ञवाली, विष्णु प्रसाद तिमिल्सिना र चंख बहादुर साउद (सिबी) ले उम्मेदवारी दिएका छन् ।

यस्तै अधिकारीको समूहबाट सदस्यमा कुन्जनी परियार प्यासी, नरसिंह चौधरी थारु, सुभाषचन्द्र झा, शशी कुमारी श्रेष्ठ, दिलकुमारी राई, इन्दिरा आचार्य, मनिका खड्का र गणेश बहादुर ओलीले उम्मेदवारी दिएका छन् । यस्तै सदस्य पदका लागि कुबेर घिमिरे, तारा कुमार श्रेष्ठ, युवक कुमार गौतम, अर्जुन खड्का, अनिल कुमार श्रेष्ठ र हरि प्रसाद पंगेनीले पनि उम्मेदवारी दिएका छन् ।

यस पटक स्वतन्त्र समूह बनाएर पृथ्वी राईले अध्यक्षमा तथा त्रिलोक बहादुर चन्दले महासचिवमा उम्मेदवारी दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *