‘जलवायु परिवर्तनसम्बन्धी अध्ययन प्रतिवेदन–२०८२ मूल समितिलाई बुझाइएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले मूल समितिलाई प्रतिवेदन बुझाएको हो । डाक्टर अन्जान शाक्य नेतृत्वको उपसमितिले प्रतिवेदन मूल समितिका सभापति कमला पन्तलाई बुझाएको हो । ‘जलवायु परिवर्तन सम्वन्धि अध्ययन प्रतिवेदन–२०८२’ मा कोप सम्मेलन, जलवायु वित्त, प्राकृतिक सम्पदाको संरक्षण सम्वन्धीलगायतका विषयलाई केन्द्रित गरेर तयार गरेको उपसमितिका संयोजक शाक्यले जानकारी दिइन् । नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै छ । जलवायु परिवर्तनको असर स्तरोन्नतिलाई पर्छ नै तर स्तरोन्नति भैसकेपछि जलवायु परिवर्तनका कारण समस्या आएमा जलवायु वित्तबाट हामीलाई छुट्याउन पाइँदैन भन्ने कुराको वकालत गरिनुपर्छ भन्ने कुरा प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदनमा विगतका तीन÷चार दशकको तथ्याङ्क हेर्दा हिमालमा प्रतिदशक शून्य दशमलव शून्य पाँच डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको देखाइएको छ । यसको असरले खासगरी हिमनदी पग्लिने क्रम तीव्र रूपमा बढिरहेको कुरालाई प्रतिवेदनमा गम्भीरताका साथ उठाइएको छ ।
विश्व तापमान वृद्धिले सन् १९८० देखि २०१० सम्मको अवधिमा करिब २५ प्रतिशत हिमनदीको क्षेत्रफल घटेको देखाइएको छ । सम्भावित जोखिम समाधानका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हातेमालो गरी अघि बढ्नुको विकल्प नभएको कुरा पनि प्रतिवेदनमा उल्लेख छ । नेपालका हिमताल तापक्रम १.५ डिग्री नपुग्दै विष्फोट हुने गरेको छ । कृषि, ऊर्जा र वन क्षेत्रमा दश÷दशवटा आयोजना संचालन भएको र अफ बजेट (२९.२५%) तथा अफ ट्रेजरी (२५.५५%) अन्तर्गत बजेट खर्च भएको छ । त्यसैगरी प्रतिवेदनमा कोप सम्मेलनमा उठाइएका विषयलाई पनि समावेश गरिएको छ । नेपालमा विगत १२ वर्षमा जलवायु वित्तको क्षेत्रमा ३२२.५३ मिलियन अमेरिकी डलर मात्र सहायता आएको देखिएको उल्लेख गरिएको छ । नेपालका हिमाललगायत प्राकृतिक सम्पदाको सुरक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउनुपर्ने र नकारात्मक प्रभाव कम गर्न परम्परागत सीप र ज्ञानको सदुपयोग गर्नुपर्ने कुरालाई सुझावको रुपमा राखिएको छ ।
प्रतिवेदनलाई आधार मान्ने हो भने जलवायु परिवर्तनको सन्दर्भमा नेपालको नकारात्मक असर कमै देखिन्छ । यसको मतलब नेपालमा यस विषयमा कम बहस चलाउने भन्ने होइन । नेपालमा भोलिका दिनमा जलवायु परिवर्तनका कारण हिमनदी तथा हिमालहरुको आकर्षण घट्ने अवस्था देखिन्छ । त्यसैले जलवायु, वातावरणको संरक्षणका लागि नेपालमा विद्यालयस्तरदेखि नै विद्यार्थीहरुलाई सचेत गराउनु जरुरी छ । यसैगरी हरेक घरबाट निस्कने फोहोरको व्यवस्थापनका अतिरिक्त कुन सामान वा चिज वातावरण अनुकुलित छैन भन्ने कुरालाई ध्यानमा राखी कार्य गरिनु जरुरी छ । यसका लागि निरन्तर पैरवी गर्ने, जलवायु जोखिम र हानी नोक्सानी न्यूनीकरणका लागि जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्ने र जलवायु कूटनीति परिचालनमार्फत अन्तराष्ट्र्रिय जलवायु वित्तमा पहुँच अभिवृद्धि गर्ने जस्ता कुरामा जोड दिनुपर्ने देखिन्छ । यसका लागि मानिसमा सचेतना प्रमुख कुरा हो । वातावरणको प्रतिकुल हुने खालका कुनै पनि बस्तु तथा सामानको प्रयोग नै नगर्ने, प्रयोग गरे त्यसको पुनप्र्रयोग गर्ने तथा अन्तिममा त्यसको सही व्यवस्थापन गर्ने कार्यलाई एकदमै प्राथमिकता दिनुपर्ने जरुरी छ । यसकालागि सबै सम्बन्धित तथा सरोकारवाला निकायहरुले समयमै ध्यान दिनु जरुरी छ ।
जलवायु परिवर्तनको असरबारे सचेतना जरुरी
Facebook Comments Box
