सडक विभाग सुईहरुको सरुवा यो हप्ता

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो हप्ता (भाद्र १४ गते भित्र) सडक विभाग मातहतमा रहेका प्राविधिक सहसचिव सुपरिटेण्डेन्ट इन्जिनियर (सुई) हरुको सरुवा गर्ने भएको छ । मन्त्रालय उच्च श्रोतका अनुसार सरुवा हुनेहरुमा २ वर्ष पुगेका सुपरिटेन्डेण्ट इन्जिनियरहरु रहेका छन् ।
सडक विभाग र मातहतका कार्यालयहरुमा कार्यरत सू.ई.हरु मध्ये आयोजना निर्देशनालय (एडीबी) का आयोजना प्रमुख इ.चुडाराम ढकाल, सडक विभाग पुल महाशाखाका उपमहानिर्देशक ललीजन खनाल र संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय सूदुरपश्चिमका श्यामबहादुर खड्का रहेको श्रोतले बताएको छ । मन्त्री र सचिवको स्वविवेकले गर्ने सरुवा भएकाले एडीबीका आयोजना प्रमुख ढकालको सरुवा नहुन पनि सक्ने चर्चा चलेको छ ।
हाल विभागको मर्मत तथा सम्भार महाशाखा र गुणस्तर अनुसन्धान तथा विकासकेन्द्र र मध्यपहाडी लोकमार्ग नेतृत्वविहीन बनेको छ । यीमध्ये मर्मत सम्भार महाशाखामा संघीयमा कार्यरत खड्कालाई ल्याउने कि पुल महाशाखाका खनाललाई भन्नेबारे मन्त्रालय टुंगोमा पुगी नसकेको बताइएको छ । हाल टनेलमार्गमा कार्यरत सौजन्य नेपाल र धुलिखेल सिन्धुली सडकका ज्ञानेन्द्र झालाई चलाइने जानकारहरुले बताएका छन् । हाल राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत सु.ई. बुद्धरत्न बज्राचार्यको पनि विभाग छिर्ने सम्भावना रहेको स्रोतले अनुमान गरेको छ ।
मन्त्रालयले प्रथम श्रेणीका प्राविधिक सहसचिवहरुको सरुवा गरेपछि मात्र सामान्य प्रशासन मन्त्रालयको मापदण्ड अनुसार आगामी दशैं अगाडि द्वितीय श्रेणी (सिडिई) का उपसचिवहरुको सरुवा गर्ने सोचमा मन्त्रालय रहेको श्रोतले जानकारी दिएको छ । विगतका मन्त्रीहरु सरुवाको खेतीपातीबाट आयआर्जनको श्रोत ठान्दथे तर वर्तमान मन्त्री देवेन्द्र दाहाल ठेक्कापट्टाको कमिसन, असारे विकास र सरुवाको खेतीबाट टाढै रही हालसम्म विवादित नबतेकाले स्वच्छ मानिएका छन् ।
यता, गत श्रावण २१–२२ गते सम्पन्न वार्षिक समीक्षा बैठकमा राखिएका विभिन्न ११ वटा विधाहरुमध्ये नुवाकोट सडक डिभिजन प्रमुख सुवोध देवकोटाले उत्कृष्ट ल्याब भवन सबैभन्दा बढी बेरुजु फस्यौट र रुग्ण ठेक्काको व्यवस्थापन गरेर पुरस्कृत भएका छन् । कालीगण्डकी डोरीडोरको योजना प्रमुख कल्पना अधिकारीले समयभन्दा ६ महिना अगाडि काम सम्पन्न गरी यो आ.व.मा कूल ४४ किलोमिटर सडक कालोपत्रे र बेरुजुलाई पनि घटाएपछि पुरस्कृत भएकी छन् । योजना प्रमुखद्वय देवकोटा र अधिकारी दुवै क्षमतावान् सिडिई मानिन्छन् । त्यसैगरी उक्त सम्मानबाट धु्रव झा लगायत अन्य सिडिईहरु पुरस्कृत भएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *