चुनौतीको चाङमा ओली: भण्डारीको भय

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ प्रधानमन्त्री समेत रहनु भएका खड्गप्रसाद शर्मा ओलीमाथि चुनौतीहरु थपिने क्रम बढेको छ । सरकारको नेतृत्वकर्ता भएकाले हुने चुनौतीभन्दा पनि नेकपा (एमाले) को अध्यक्ष भएकाले उहाँमाथि चुनौती थपिएको हो । सरकारलाई टिकाउनेदेखि एमालेभित्र उत्पन्न समस्या समाधान गर्नेसम्मको चौतर्फी चुनौतीमा ओली पर्नु भएको छ । सरकारलाई टिकाउनका लागि भगीरथ प्रयास गरिरहनु भएका ओलीका लागि हिजो आफ्नै भनिएकाहरुले एमालेभित्र चुनौती दिइरहेको अवस्था छ । ओलीलाई सरकार र आफ्नो दल हाँक्नका लागि अहिले दुइटा डुंगामा शयर गर्नुजस्तै भएको बताइने गरिएको छ । ओलीले दुईतिर गोडा राख्दा चुनौतीहरु थपिने क्रम बढेको बताइएको छ ।
सरकार सञ्चालनमा समेत ओलीमाथि समस्या देखिएको छ । ओलीको वर्तमान सरकारलाई समर्थन दिएर समर्थन फिर्ता लिएका दलहरुको विषयलाई लिएर सर्वोच्च अदालतले प्रश्न उठाएको छ । जनता समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीले दिएको समर्थन फिर्ता लिएको अवस्थामा सरकारले विश्वासको मत लिनु पर्ने कि नपर्ने भन्ने विषय अदालतमा प्रवेश गरेको छ । अदालतले पनि सो विषयलाई लिएर कारण देखाऊ आदेश जारी गरेको छ ।
यस्तो अवस्थामा ओलीले उस्तै परे विश्वासको मत लिनुपर्ने अवस्था आउन सक्छ । अहिलेको अवस्थामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साथ पाएको हुँदा ओलीलाई बहुमत पु¥याउन गाह्रो नभए पनि यो प्राविधिक विषयले समय अल्झाउने अवस्था देखिएको छ । ओलीले संविधानको व्यवस्थालाई पालना गर्दा उस्तै परे कांग्रेस बटारिने हो कि भन्ने भय समेत लिनु परेको छ ।
यसैगरी सरकारमा रहेका तराई केन्द्रित दलहरुले मन्त्रीहरु परिवर्तनका लागि भनी ओलीलाई अनुरोध गरेका छन् । खासगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलबाट सरकारमा गएका मन्त्री परिवर्तन गरिदिन भनी ओलीलाई पत्र थमाएको पनि महिना नाघिसकेको छ । यसैगरी यसै साता जनता समाजवादी पार्टीले समेत आफ्ना दुवै मन्त्रीहरुलाई फेरबदल गरिदिन भनी ओलीलाई पत्र पठाएका छन् ।
त्यसो त ओली स्वयम् पनि आफ्ना दलका कतिपय मन्त्रीहरु परिवर्तन गर्ने पक्षमा रहेका छन् । उनले कांग्रेसबाट मन्त्री बनेकाहरुलाई समेत परिवर्तन गर्नका लागि भनी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भनेको कुरा पनि आइरहेको छ । उता, देउवा भने अहिले आफ्नो दलबाट भएका मन्त्रीहरु परिवर्तन गर्ने पक्षमा नदेखिएको अवस्था छ । यस्तो स्थितिमा ओलीले मन्त्रीहरुको विषयमा समेत कुनै निर्णय लिन नसकेको अवस्था छ ।
यसैगरी उखु किसानदेखि मल नपाएका किसानहरु समेत आन्दोलित छन् । शिक्षकदेखि कवाडीवालाहरुले समेत काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । यस्तो अवस्थामा ओलीमाथि सरकार चलाएको चाप पनि परिरहेको छ । कतिपय अवस्थामा मिलिजुली सरकार रहेकाले चाहेर पनि आफूखुशी सरकार सञ्चालन गर्न नपाएको अवस्थामा ओली रहनु भएको छ ।
सरकारले एक वर्षको समयसीमा नघाई सक्दा पनि सरकारले जनताको पक्षमा खासै काम गर्न नसकेको भनी आलोचना पनि खेप्नु परिरहेको छ । सरकारमा रहेका दलहरुका बीचमा नै मतैक्यता हुन सकेको छैन । दलहरु पनि आन्तरिक समस्यामा देखिएकाले त्यसको असर पनि सरकारलाई परिरहेको छ ।
उता, ओली आफ्नै दलको चत्रब्युहमा परिरहनु भएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारी ओलीका लागि अहिले गलपासो जस्तै बन्नु भएको छ । ओलीले तेस्रो कार्यकाल समेत आफैं अध्यक्ष बन्ने तयारी गरिरहेको अवस्थामा भण्डारीले ओलीलाई चुनौती दिंदै आउनु भएको छ । पूर्वराष्ट्रपतिको हैसियतमा चूप लागेर बस्न भनी ओली र ओली पक्षधरहरु भन्ने गरे पनि भण्डारीले आफू अघि बढिसकेको वताउँदै आउनु भएको छ ।
बुधबार ओलीले प्रधानमन्त्री निवासमा काठमाडौं उपत्यकाका तीन जिल्लाका अगुवा कार्यकर्ताहरुको भेला डाकी एमाले भित्रको अवस्थालाई झनै सार्वजनिक गर्ने कार्य गर्नु भएको छ । ओलीले आप्mनो विकल्प एमाले भित्र खोज्ने समय नआएको भन्दै भण्डारीले पदीय हैसियत विर्सिएर सक्रिय राजनीतिमा आउने भन्नु ठीक होइन भन्ने मन्तव्य राखेको सहभागीहरुले वताएका छन् ।
उता, भण्डारी भने आफू अघि बढिसकेको भन्दै पछि नहट्ने पक्षमा देखिनु भएको छ । सोही कारण भण्डारीले विपक्षी मानिएका कतिपयसँग भेट गरी आफू भोलिका दिनमा विकल्प खोज्न सक्ने बताउने गर्नु भएको छ ।
भण्डारीले काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोलेर आफूलाई झनै सक्रिय राख्न चाहिरहनु भएको छ । उक्त सम्पर्क कार्यालय मदन भण्डारी फाउण्डेसनका लागि भनी भाडामा लिइए पनि भण्डारीको लागि सक्रिय बन्ने कार्यालय बनेको स्रोतले वताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *