काठमाडौं/ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतका ९ जना उपसचिवको सरुवा भएको छ । कार्यालय मातहतका राजश्व अनुसन्धान विभागअन्तर्गत बुटवल, कोहलपुर र इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयका प्रमुखसहित ९ उपसचिवको सरुवा गरिएको हो ।
कार्यालयका उपसचिव कृष्णप्रसाद शर्मालाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा सरुवा गरिएको छ । त्यहाँ कार्यरत उमेशराज रिमाललाई राजश्व अनुसन्धान विभागमा पठाइएको कार्यालयले जनाएको छ । यसैगरी कार्यालयकै सुवास श्रेष्ठलाई राजश्व अनुसन्धान कार्यालय बुटवलमा खटाइएको छ । त्यहाँका प्रमुख विवेक घिमिरेलाई राजश्व अनुसन्धान विभागमा तानिएको जनाइएको छ ।
यस्तै, राजश्व अनुसन्धान कार्यालय इटहरीका उत्तमकुमार घिमिरेलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ । त्यहाँ राजश्व अनुसन्धान विभागका अर्जुन राईलाई जिम्मेवारी दिइएको जनाइएको छ । उता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका मनोज रेग्मीलाई राजश्व अनुसन्धान विभागमा, विभागका नवराज अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ । यस्तै, पर्वत गिरीलाई भने कार्यालयकै प्रशासन शाखामा पदस्थापन गरिएको जनाइएको छ ।
