मैनालीको ‘कर्तव्य’ नाटकमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ लाई नाटकमा रुपान्तरण गरी प्रदर्शनी गर्ने कार्य भएको छ । यही भाद्र ११ गतेदेखि २९ गतेसम्म सो कथालाई नाटकीय रुपान्तरण गरी मञ्चन गर्ने शुभ कार्य निर्देशक पुष्पराज अवस्थीले गर्नु भएको हो ।
मोनस्टर फिल्म एण्ड ओजस थिएटर रातोपुल (शैली थिएटर) मा प्रायः दैनिक दुई शो भइरहेको बताइएको छ । कथाकार मैनालीको प्रशिद्ध कथा ‘कर्तव्य’ लाई नाटकीय रुपान्तरण गर्ने कार्य भने पुरु लम्सालले गर्नुभएको हो । सो नाटक मञ्चनको व्यवस्थापनको कार्य भने सागर कार्कीले गर्नुभएको छ ।
मैनालीले पहाडी ग्राम्य भूभागको कथा भनी सामान्य ढंगमा वर्णन गरेको बाबुको उदारता र उनको देहवसानपछि दुई दाजभाइका बीच हुने उतारचढावको भावनात्मक कथालाई नाटकको माध्यमबाट देखाउने कार्य भैरहेको दर्शकहरुले बताएका छन् । सुदूरपश्चिमको सेटिङ दिएर निर्देशक अवस्थीले मैनालीको कथाका पात्र र परिवेशलाई फरक ढंगबाट प्रस्तुत गर्नुभएको छ । उतैको जीवनशैली, उतैको रहनसहन र चाडबाडलाई नाटकमा समेटिएको छ । बोलीचाली तथा गौरा गाउने कुरालाई पनि नाटकमा नयाँ ढंगबाट प्रस्तुत गर्ने कार्य निर्देशक अवस्थीले गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।
‘कर्तव्य’ कथामा बाबुको देहवसान पछि दाजुभाइ पात्रहरूले आफ्नो व्यक्तिगत सुखलाई त्यागेर परिवार र समाजप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता अहिले उत्तिकै प्रासंगिक रहेको बताइएको छ । मञ्चमा कलाकारहरु रुविन सुनार, प्रदीप विश्वकर्मा, अञ्जना दुलाल, उज्वल साइपोम राई, तृप्ती श्रेष्ठ, प्रशान्त हुमागाईं र सविता तामाङको अभिनय देख्न पाइन्छ । यसैगरी सन्तोष ढकाल, अर्जुनहाङ राई, तुलसी राई, मुकेश विश्वकर्मा, अनिश बोगटी, उत्सव कार्की, धीरेन कार्की, रश्मी गुरुङको अभिनयले नाटकलाई जीवन्तता दिएको बताइएको छ ।
नाटकमा गायक भुवन दाहाल र जनक ताम्राकारको गीत–संगीत समावेश छ । नाटकमा भेषभूषाको काम अञ्जना दुलालले गर्नुभएको छ । यसैगरी प्रकाश व्यवस्थापनको काम सविता तामाङले तथा कोरियोग्राफी श्याम कार्कीको रहेको छ । संगीत परिचालनमा प्रदीप विश्वकर्मा र गोविन्दराज खड्का जुट्नु भएको छ । यस्तै, मञ्च व्यवस्थापनमा उज्वल साइपोम राई र सागर कार्की खटिएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *