काठमाडौं/ तात्कालिन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई कारबाही गर्न माग गरिएको छ ।
जेन–जी आन्दोलनका क्रममा घाइते भएका परिवारका सदस्य र मानवअधिकार तथा शान्ति समाजले कारबाहीको माग गरेका हुन् । घाइतेका परिवारजनले हालका गृहमन्त्री ओम प्रकाश अर्याललाई भेटेर कारबाही गर्नका लागि भनी ज्ञापनपत्र पनि बुझाएका छन् । आन्दोलनका क्रममा भ्रष्टाचारको अन्त्य, सुशासन र प्रत्यक्ष निर्वाचित कार्यकारीको माग राखेर सडकमा उत्रिएका आन्दोलनकारीलाई तात्कालिन सरकारले निर्ममतापूर्वक गोली चलाएको थियो ।
गोली लागी गत भदौ २३ गते नै १९ जनाको मृत्यु भएको थियो । हालसम्म उक्त आन्दोलनमा परी मृत्यु हुनेहरुको संख्या ७४ जना पुगेको बताइएको छ । यसरी आन्दोलनका क्रममा प्रत्यक्ष रुपमा मृत्यु हुनेहरुका अतिरिक्त परोक्ष रुपमा मृत्यु हुनेहरुको संख्या ७४ पुगेको भनिएको छ । त्यसैगरी २४ गते तोडफोड तथा आगजनीको घटना गराउनेहरुमाथि पनि कारबाही हुनुपर्ने माग पनि गरिएको छ ।
२४ गते विभिन्न सरकारी निकाय तथा व्यक्तिका घरहरुका अतिरिक्त व्यापारिक प्रतिष्ठानहरुमाथि पनि आगजनी तथा तोडफोड गरिएको थियो । त्यसरी आन्दोलनको माग विपरित तोडफोडमा उत्रिएकाहरुको पहिचान गरी उनीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याइनुपर्ने माग पनि गरिएको छ ।
यसैगरी विशिष्ठ व्यक्तिको नाममा राज्यको ढुकुटीबाट दिइँने गरिएको सेवा सुविधामा पनि कटौती गर्न माग गरिएको छ । यसैगरी विभिन्न निकायमा भएका भौतिक क्षतिको पुनर्निर्माणका लागि पनि आग्रह गरिएको छ । आगामी १० वर्ष अर्थात् एक दशकलाई पुनर्निर्माणको दशकको रुपमा लिई ती संरचनाहरुको पुनर्निर्माण गरिनुपर्ने माग पनि गरिएको छ ।
यसअघिका सरकारहरुले राज्यका हरेक निकायलाई भ्रष्टाचारको थलो बनाएको भन्दै आन्दोलनकारीहरु कतिपय दलका नेताहरुको व्यक्तिगत सम्पत्तिमाथि तोडफोड र आगजनीमा समेत उत्रिएका थिए । यसैगरी केही नेताहरुमाथि कुटपिटका घटना पनि भएका थिए ।
यसरी तात्कालिन खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारलाई जेन–जी आन्दोलनले ढालेको अवस्थामा नयाँ आशासहित सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ । वर्तमान सरकार जेन–जी पुस्ताको इच्छा अनुसार बनेको भन्ने गरिए पनि हालसम्म नियुक्त भएका मन्त्रीहरुमा उक्त पुस्ताको प्रतिनिधित्व हुन पाएको छैन । यस्तो अवस्थामा नयाँपुस्ताका आन्दोलनकारीहरुले पछिल्ला गतिविधिलाई लिएर असन्तुष्टी व्यक्त गर्न थालेका छन् ।
ओली र लेखकमाथि कारबाही होला ?
Facebook Comments Box
