ललितपुर/ कलाकार अर्जुन घिमिरे (पाँडे) द्वारा निर्देशित चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार आयोजित एक कार्यक्रमका बीच यो सार्वजनिक गरिएको हो ।
ट्रेलरमा चलचित्रलाई पारिवारिक तथा सामाजिक ड्रामाको रूपमा बुझाइएको छ । ट्रेलरले सन्तानको अस्ट्रेलिया सपना, पारिवारिक प्रेम, बिछोड र सामाजिक सङ्घर्षको कथालाई चलचित्रको विषयबस्तु बनाएको सङ्केत दिएको बताइएको छ ।
‘झरी’ पछि आउने ‘इन्द्रेणी’ लाई खुशीको रूपमा लिइने भएकाले यो चलचित्रमा कथाका मुख्य सार पनि यही रहेको ट्रेलरबाट अनुमान गर्न सकिने चलचित्र समीक्षक सामीप्य तिमल्सिनाले प्रतिक्रिया दिनुभएको छ । यो चलचित्रमार्फत अभिनेता गणेश उप्रेतीले नौ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेको पनि बताइएको छ ।
चलचित्रमा उप्रेतीको अलवा रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय रहेको बताइएको छ । चलचित्रमार्फत नव कलाकार विमोञ्चम दवाडी र जेसिका पोखरेलले नेपाली रजतपटमा डेब्यु गरेको पनि बताइएको छ ।
निर्देशक पाँडेले चलचित्रले हाम्रै समाजको कथा भन्ने कुरालाई मुखरित गरेको बताउनुभयो । चलचित्र सबैले रुचाउनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले यसै चलचित्रमार्फत ठूलो पर्दाको निर्देशनमा आफूले डेब्यु गरेको पनि जानकारी दिनुभयो । अनिसा सेन्दाङ लिम्बु निर्माता रहेको चलचित्रको सह–निर्मातामा अनु थापा, पंकज खड्का, राम कार्की, श्रीजना खड्का र सुवास शर्मा रहनुभएको छ ।
आगामी पुस ४ गतेबाट देशभर प्रदर्शनीको तयारीमा यो चलचित्र रहेको पनि बताइएको छ ।
‘झरीपछिको इन्द्रेणी’ आगामी पुसमा
Facebook Comments Box
