काठमाडौं/ प्रतीक्षित चलचित्र ‘अवतारः फायर एन्ड एस’ प्रदर्शनीको तयारीमा छ । सन् २०२५ को यो सबैभन्दा ठूलो चलचित्रको काउन्टडाउन जति तीव्र हुँदैछ, चलचित्र र यसका पात्रहरूले उत्तिकै चर्चा बटुलिरहेका छन् । हलिउडका चर्चित निर्देशक जेम्स क्यामरुनको निर्देशनमा यो चलचित्र बनेको हो ।
यस क्रममा एउटा नाम लगातार चर्चामा छः वरङ्ग । यो केवल एक नयाँ पात्र मात्र नभई, चलचित्र वरपर सिर्जित रहस्य र अपार उत्सुकताको केन्द्रविन्दु बनेको छ । ‘अवतारः फायर एन्ड एस’ मा दर्शकहरूले पहिलो पटक पान्डोराको गहिराइमा प्रवेश गर्नेछन्, जहाँ एक विल्कुलै नयाँ सभ्यता ‘मङ्गक्वान’ कबीला (जसलाई एस पिपलको नामले पनि चिनिन्छ) उनीहरूको पर्खाइमा छ । यो कबीला कठोर जीवन, निरन्तर सङ्घर्ष र अथाह पीडाबाट गुज्रिएको छ ।
यो कबीलाको नेतृत्व ‘वरङ्ग’ ले गर्छिन्, जो पीडाबाट खारिएकी छिन्, उद्देश्यबाट प्रेरित छिन् र यस गाथाको भावनात्मक दाउपेचलाई नयाँ तरिकाले परिभाषित गर्न तयार छिन् । यो असाधारण पात्रलाई पर्दामा जीवन्त बनाउँदै छिन् महान् अभिनेता चार्ली च्याप्लिनकी नातिनी उना च्याप्लिन । वरङ्गलाई केवल एक विरोधी पात्रको रूपमा मात्र नभई, आफ्नो ऊर्जाले कथालाई दिशा दिने एक प्राकृतिक शक्तिको रूपमा प्रस्तुत गरिएको बताइएको छ ।
वरङ्गको तीव्रता र उग्रतालाई महसुस गर्नका लागि उना च्याप्लिनले छायाङ्कनका क्रममा विशेष सङ्गीत, वातावरण र प्रतीकात्मक साजसज्जाको सहारा लिएकी थिइन् । प्रारम्भिक सङ्केतहरूले उनको अभिनय यस फ्रेन्चाइजकै सबैभन्दा प्रभावशाली प्रदर्शनहरूमध्ये एक हुने देखाएका छन् ।
ओमाटिकाया र मेटकायना कबीलाको विपरीत, मङ्गक्वान एक यस्तो कबीला हो जसलाई परिस्थितिहरूले टुट्ने अवस्थामा पु¥याएको छ । यो एक समुदाय हो जसले गहिरो चोट र हतासा भोगेको छ । उनीहरूको यो पीडाले पान्डोराको संरक्षक शक्ति ‘एवा’ बाट उनीहरूलाई टाढा बनाएको छ ।
चलचित्रको प्रारम्भिक प्रतिक्रियाहरूमा यसलाई साहसी र अत्यन्त प्रभावशाली चलचित्र बताइएको छ । यसैले गर्दा वरङ्ग यस वर्षको सबैभन्दा चर्चित पात्रहरूमध्ये तीव्र गतिमा उदाइरहेकी छिन् ।
‘अवतारः फायर एन्ड ऐस’ डिसेम्बर १९ मा अङ्ग्रेजी, हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड भाषामा विश्वभरि प्रदर्शन हुँदैछ । (अजेन्सीको सहयोगमा)
चार्लीकी नातिनी पर्दामा
Facebook Comments Box
