रोल्पा/ नेपाल बालसाहित्य समाजको ३०औं राष्ट्रिय सम्मेलन गत शुक्रबार यहाँ समापन गरिएको छ । उक्त सम्मेलनले पाँचबुँदे रोल्पा घोषणापत्र सार्वजनिक गर्दै सम्मेलन समापन गरेको हो ।
उक्त घोषणापत्रको पहिलो बुँदामा बालबालिकाहरुमा अन्तर्निहित प्रतिभाको प्रस्फुटनका लागि आफू सम्बद्ध जिल्ला, क्षेत्र, संस्थााहरुका माध्यमबाट अधिकतम सिर्जनात्मक कार्यहरु गर्ने भनिएको छ । यसैगरी दोस्रो बुँदामा बालबालिकाहरुमा पठन संस्कृतिको विकासका लागि प्रत्येक विद्यालयमा पुस्तकालयको स्थापना, पुस्तकालयमा उमेर अनुसारका बालपुस्तकहरुको व्यवस्था र पुस्तकहरुको अध्ययन पठनका लागि विशेष समय निर्धारण गर्ने कामहरुलाई प्रोत्साहन गर्ने भनिएको छ ।
यसैगरी तेस्रो बुँदामा राजनीतिक रुपमा देश संघीय संरचनामा गइसकेर स्थानीय सरकारका रुपमा नगरपालिका र गाउँपालिकाहरुले काम गरिरहेको परिप्रेक्ष्यमा स्थानीय सरकार र सम्वद्ध जनप्रतिनिधिहरुले आफ्नो पालिकाहरुमा कम्तिमा एक एकवटा बालपुस्तकालयको स्थापना गरी बालबालिकाको सर्वांगीण विकासमा सहयोग गर्नुपर्ने भनिएको छ । यस्तै, चौथो बुँदामा विश्वव्यापीकरण भर्चुअल संसारका कारण बालबालिकाहरुमा विभिन्न समस्याहरु देखिने अवस्था सिर्जना भइरहेको अहिलेको अवस्थामा आमाबुवा, शिक्षक र अभिभावकहरुले सचेततापूर्वक त्यस्तो अवस्था आउन नदिनका लागि आ–आफ्नो तर्पmबाट गम्भीर प्रयास गर्ने रहेको छ ।
यसैगरी पाँचौं बुँदामा आधुनिकताको प्रभावसँगै विभिन्न भाषा, जातिका बाल लोकसाहित्य, वार्ता, लोककथा, किम्वदन्ती, मिथकहरु, लोप हुने अवस्थामा पुगेको सन्दर्भमा स्थानीय सरकार, साहित्यकार, अनुसन्धानकर्ता र प्राज्ञिक व्यक्तित्वहरुले त्यसको खोजी, अनुसन्धान र संकलन गरी प्रकाशन गर्ने र त्यसका लागि स्थानीय सरकारले आर्थिक सहयोग गर्ने भन्ने कुरा उल्लेख छ ।
मूल आयोजक समितिको मातहतमा रहेको रोल्पा घोषणापत्र तयारी उपसमिति प्रमोद प्रधानको संयोजकत्वमा गठन गरिएको थियो । उक्त उपसमितिका सदस्यहरुमा प्रा.डा. कर्णबहादुर बानियाँ, डा. शैलेन्द्रुप्रकाश नेपाल, अनन्तप्रसाद वाग्ले र डी.बी. टुहुरो रहनुभएको थियो । यसैगरी अन्य सदस्यहरुमा चन्द्र जी.एम., भगवती बुढामगर, गीता निर्दोषी, दीपेश पराई विष्ट, कविता उपाध्याय र तिलक संघर्ष रहनुभएको थियो ।
यसैबीच उक्त राष्ट्रिय बालसाहित्य सम्मेलनको मंसिर १८ गते पूर्वमन्त्री वर्षमान पुनले उद्घाटन गर्नुभएको थियो । नेपाल बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पुनले साहित्य र बालासाहित्यका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
समाजका महासचिव विष्णु के.सी.ले संचालन गर्नुभएको उक्त कार्यक्रममा रोल्पाका नेताहरुले सम्वोधन गर्नुभएको थियो ।
उक्त सम्मेलनमा सहभागी हुन देशभरिबाट बालसाहित्यकारहरु उपस्थित हुनुहुन्थ्यो । सम्मेलनमा स्लोभानिया, चीनलगायतका देशबाट पनि सहभागिता जनाइएको थियो । सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र पनि प्रस्तुत गरिएका थिए । ती कार्यपत्रहरुमाथि टिप्पणी पनि गरिएका थिए । यसैगरी सहभागी विद्यार्थीहरुलाई लेखनका विविध पक्षमा आधारित रहेर तालिमहरु प्रदान गरिएको सचिव भानु भट्टराईले जानकारी दिनुभयो ।
बालसाहित्य समाजको रोल्पा घोषणापत्र
Facebook Comments Box
