कौशल कुमार भट्टराई
नेपाली कांग्रेसको महाधिवेशन आगामी पुस २६ गतेदेखि हुने भनी घोषित गरिएको छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । कांग्रेसको महाधिवेशन केन्द्रित भएर उक्त दलका नेता–नेतृहरु आफूलाई विभिन्न पदमा कसरी आसीन गराउने भनी लागि परेको अवस्था छ । राजनीतिमा सबै खालका खेलहरु खेलिने भएकाले कतिपय विभिन्न गुट बनाएर पनि आफू नेतृत्वमा पुग्ने पक्षमा देखिनुलाई स्वभाविक मानिन्छ ।
महाधिवेशनको मिति घोषित हुने कि नहुने भन्ने कुरामा कांग्रेस लामो समय अलमलमा परेको थियो । निर्वाचित सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेदारी पूर्णबहादुर खड्कालाई दिनुभयो । त्यसपछि खड्का नेतृत्वको बैठकले वारम्वार बैठक गरे पनि महाधिवेशनको विषयमा कुनै निर्णय लिन सकेन । सोही कारण देउवाले नै यो विषयमा सबैलाई सहमत गराई महाधिवेशनको मिति घोषणा गराउनु प¥यो ।
नियमित कि विशेष महाधिवेशन भनी कांग्रेस कुनै निर्णयमा पुग्न सकेको थिएन । यसैगरी कुन मितिमा गर्ने भन्ने विषयमा पनि सहमति बन्न सकेको थिएन । आगामी फागुन २१ गतेका लागि भनी घोषित प्रतिनिधिसभाको निर्वाचन अघि कि पछि भन्ने विषय पनि कांग्रेसमा उठेको थियो । अझ एक वर्ष समयावधि थप्ने कि भन्नेसम्मको कुरा उठेको थियो । यस्तो अवस्थामा नियमित महाधिवेशनको मिति घोषणा हुनु नै ठूलो कुरा भएको छ, कांग्रेसजनका लागि ।
महाधिवेशनको कुरा उठेपछि अबको नेतृत्वमा को को कसरी आउनु होला भन्ने कुराले पनि महत्व राख्दछ । यस क्रममा कांग्रेसको मुख्य पद भनेको सभापति र महामन्त्री हो । त्यसमध्ये पनि सभापति नै सबैभन्दा बढी महत्व राख्ने हुन्छ । दुई कार्यकाल सभापति भैसक्नुभएका देउवा अब सभापतिको उम्मेदवार नबन्ने अवस्था छ । यस्तो अवस्थामा कांग्रेसमा अबको नेतृत्वमा को पुग्नु उचित होला भन्ने कुराले महत्व राख्ने गरेको छ ।
कांग्रेसको सभापतिका लागि केही नामहरु चर्चामा छन् । खासगरी डा.शेखर कोइराला, हालका का.वा.सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापाको नाम बढी चर्चामा छ । यसैगरी पुराना नेता गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशशरण महत, कल्याण गुरुङ तथा चन्द्र भण्डारीले पनि आप्mनो नाम सभापतिको उम्मेदवारको रुपमा ल्याउने गर्नुभएको छ ।
देउवाको आशीर्वाद पाएका खण्डमा आफू पनि उम्मेदवार बन्ने पक्षमा रहेको भनी डा.शशांक कोइरालाले पनि इच्छा राख्ने गर्नुभएको बताइन्छ । यसैगरी सभापतिका लागि आफ्नो नाम घोषित नगर्नु भएका महामन्त्री विश्वप्रकाश शर्मालाई पनि योग्य उम्मेदवारको रुपमा लिइने गरिन्छ ।
कांग्रेसको अबको महाधिवेशनको स्थितिमा परिस्थिति फेरिएको छ । यसअघिको अवस्थाभन्दा बाहिरको अवस्थामा कांग्रेस पुग्नुपरेको छ । गत भदौ २३ र २४ गतेको नवपुस्ता (जेन–जी) को विद्रोहपछि सबैजसो दलहरु परम्परागत अवस्थाबाट माथि उठ्नुपर्ने अवस्थामा पुगेका छन् । सोही क्रममा कांग्रेस पनि रहेको छ ।
त्यसैले कांग्रेसको अबको नेतृत्वमा आउन चाहने व्यक्तिका लागि निम्नानुसारका केही गुण वा अवस्थालाई समेट्न सक्ने खालको हुनुपर्ने देखिन्छ । मुख्य रुपमा ती कुरालाई तल बुँदागत रुपमा समेटिएको छ ।
१) नवपुस्ताको चाहना समेट्न सक्ने
२) नवपुस्ताले समेत रुचाउने
३) शारीरिक तथा मानसिक रुपमा योग्य
४) स्वदेश तथा विदेशमा सशरीर खट्न सक्ने
५) अंग्रेजी भाषामा समेत दख्खल भएको
६) सरकार तथा दलको नेतृत्वमा केही भए पनि अनुभवी
७) शैक्षिक योग्यता राम्रै भएको
८) भ्रष्टाचारलगायतबाट मुक्त
९) गुटगत अवस्थाभन्दा माथि उठ्न सक्ने
१०) स्वदेश तथा विदेशमा समेत पत्यारिलो
११) अन्य दलका नेतृत्वसँग तुलनात्मक रुपमा प्रतिस्पर्धा गर्न सक्ने
१२) वाकपटुता भएको
१३) संगठन गर्न सक्ने क्षमता भएको
१४) कम स्वार्थी
१५) नवीन विचार ल्याउन सक्ने
१६) पुराना नेता–नेतृहरुलाई सम्मान गर्न सक्ने
१७) जनमत भएको
१८) आवश्यक पर्दा आर्थिक व्यवस्था गर्न सक्ने
१९) प्रतिस्पर्धी दलहरुसँग प्रतिस्पर्धा गर्न सक्ने
२०) टिकट वितरणमा गुटभन्दा माथि उठ्न सक्ने
२१) कांग्रेसका भातृ निकायहरुलाई चलायमान गराउन सक्ने
यसरी माथिका कुराहरुलाई केन्द्रित भएर माथि उल्लेखित संभावित नामहरुलाई तुलनात्मक रुपमा हेर्नु उचित हुन्छ । सबै कुरा पूर्ण भएको व्यक्ति पाउन त गाह्रै होला, तर त्यसमध्ये सबैभन्दा बढी मापदण्ड पूरा गर्ने पात्रलाई कांग्रेसको सभापति बनाइनु उचित हुन्छ । अब ती पात्रहरुलाई केही मात्रामा तुलनात्मक रुपमा दाँज्ने प्रयास गरौं ।
पूर्णबहादुर खड्का ः हालका कार्यवाहक सभापति पूर्णबहादुर खड्का सरकारमा बस्दा होस् वा दलको नेतृत्वमा बस्दा नै किन नहोस् खासै विवादमा आउनु भएको छैन । उहाँको जीवनशैली अनुकरणीय छ । माथिका मापदण्डहरुलाई विश्लेषण गर्दा उहाँ गुटमा बढी केन्द्रित देखिनुभएको छ । उहाँ गुटभन्दा माथि उठ्न सकेको अवस्था छैन । यसैगरी उमेरका कारण पनि पछिल्लो चाहनामा उहाँ अटाउन गाह्रो अवस्थामा हुनुहुन्छ । उहाँलाई नेतृत्वमा पु¥याउँदा नवविचार वा नवपुस्तालाई उहाँले समेट्न सक्ने संभावना कमै देखिन्छ ।
डा. शेखर कोइराला ः अघिल्लो पटकको उपविजेताको रुपमा रहनुभएका कोइराला यस पटकको सभापतिको स्वभाविक दाबेदार मानिनु हुन्छ । उहाले यसअघि देउवालाई राम्रै टक्कर दिनुभएको छ । उहाँले पदाधिकारीमा हालसम्म पुग्नु भएको छैन । यसैगरी मन्त्री वा प्रधानमन्त्री बन्ने अनुभवबाट पनि बाहिर हुनुहुन्छ । कोइराला परिवारको उत्तराधिकारीको रुपमा उहाँलाई लिने गरिएको पनि छ । उहाँसँग गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालासँग निकट भएर काम गरेको अनुभव पनि छ ।
यसका बाबजुद उहाँमा आफ्नै परिवारका सदस्यहरुको समेत विश्वास लिन नसकेको भन्ने आरोप लाग्ने गरेको छ । यसअघिको महाधिवेशनमा उहाँलाई बी.पी.कोइरालाका छोरा डा. शशांक कोइराला तथा गिरिजाप्रसादकी पुत्री सुजाता कोइरालाले समेत अन्तिम अवस्थामा साथ नदिंदा शेखरलाई पराजित बन्न झन मद्दत ग¥यो । यसैगरी कार्यकर्ताहरुमा खासै घुलमिल हुन नसक्ने भन्ने अवगुण पनि उहाँमाथि छ । यस्तै उहाँ पनि गुटभन्दा बाहिर जान नसकेको आरोप लाग्ने गरेको छ । सरकार वा दलको माथिल्लो निकायमा खासै अनुभव नहुनु पनि उहाँको अवगुण हो । सबैभन्दा पछिल्लो अवगुणमा उहाँ पनि नवपुस्ताको चाहनामा नपर्ने वर्गमै पर्ने अवस्था छ ।
गगनकुमार थापा ः कांग्रेसका महामन्त्रीमा आसीन उहाँलाई गगन थापा मात्र भनेर बढीमात्रामा चिनिने गरिन्छ । माथिका मापदण्डहरुको तुलनात्मक रुपमा विश्लेषण गर्ने हो भने धेरै मापदण्ड उहाँमा मिल्ने देखिन्छ । उहाँ गुटबाट निर्वाचनमा उम्मेदवार बन्ने गरे पनि आवश्यक पर्दा गुटभन्दा माथि उठ्न सक्ने ल्याकत राख्ने नेतामा पर्नुहुन्छ । महामन्त्रीमा निर्वाचित हुनुभन्दा पूर्व उहाँ गुटमा क्रियाशील देखिए पनि पछि उहाँले सभापति देउवालाई पूर्ण रुपमा साथ दिनु भएको अवस्था छ । यसैगरी आवश्यक पर्दा सबैसँग भिज्न सक्ने क्षमता पनि उहाँले देखाउँदै आउनुभएको छ ।
थापा भने नवपुस्ताले समेत पत्याउने नेतामा पर्नुहुन्छ । नवीन विचार दिने, वाकपटुता भएको, जनमत भएको, अंग्रेजी भाषामा समेत दख्खल भएको, कांग्रेसलाई क्रियाशील गराउन सक्ने, अनुभव पनि भएको नेतामा उहाँ पर्नुहुन्छ ।
अन्य नामहरु ः यसमा गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, चन्द्र भण्डारी, प्रकाशशरण महत, कल्याण गुरुङलगायत पर्नु हुन्छ । उहाँहरुको नामबाट माथिका मापदण्ड हेर्ने हो भने धेरै मापदण्ड उहाँहरुले पूरा गर्न नसक्ने अवस्था देखिन्छ । उमेर हदका कारण श्रेष्ठ अब सक्रिय हुने अवस्था देखिन्न । यसैगरी निधिले पनि सबैलाई समेटेर कांग्रेसलाई हाँक्न सक्ने अवस्था देखिन्न । चन्द्र भण्डारीमा श्रेष्ठ, निधि, महत र गुरुङमध्ये तुलनात्मक रुपमा उपयुक्त पात्र हुनुहुन्छ । उहाँमा पनि मन्त्री वा पदाधिकारी बनेको अनुभव भने छैन । यसैगरी उहाँमा वाकपटुता, निस्कलंकता पनि छ । अघिल्लो महाधिवेशनमा पदाधिकारीमा पराजित बनिसक्नुभएका भण्डारी पछिल्लो चरण आगलागीमा परी अलि अस्वस्थ अवस्थामा पनि हुनुहुन्छ ।
यसैगरी तुलनात्मक रुपमा गुरुङ उमेरमा उहाँहरुमध्येमा कान्छोमा पर्नु हुन्छ । उहाँमा जनमत नभएको अवगुण छ । यस्तै, जनमत तथा जनाधार केही नभएर पनि सभापति देउवाको निकटताका कारण अवसर पाउने भन्ने आरोप खेप्नेमा महत पर्नु हुन्छ । प्रत्यक्ष रुपमा निर्वाचित भएर नआई सधैँ समानुपातिक वा राष्ट्रियसभा ताक्ने नेतामा महत पर्नु हुन्छ । विद्यावारिधि गर्नु भएका महतले आफ्नो शैक्षिक योग्यता अनुसारको कार्य गर्न नसकेको आरोप पनि लाग्ने गरेको छ । यस्तै उहाँ पनि गुटभन्दा बाहिर ननिस्किएको तथा निस्कन नसक्ने अवस्थामा रहनु भएको भन्ने आरोप लाग्दै आएको छ ।
यसरी सर्सर्ती हेर्दा माथि उल्लेखित नेताहरुलाई तुलनात्मक रुपमा हेर्दा सबैभन्दा उत्तम पात्रको रुपमा महामन्त्री थापा नै देखिनुभएको छ । कांग्रेसजनले उहाँलाई निर्वाचित गराएमा कांग्रेस साँच्चै नै जनचाहना अनुसार परिवर्तित हुँदै फेरि पनि पहिलो शक्तिकै रुपमा रहन सक्ने अवस्था पनि रहने देखिन्छ । माथिका मापदण्ड र थापासँगको वास्तविक तुलना गरेर हेर्न हो भने त्यो पात्र पनि कांग्रेसमा रहेको अवस्था छ । हालका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने थापासँग तुलना गर्न लायक पात्रका रुपमा देखिनुभएको छ ।
पछिल्लो समय शर्माले आफूलाई सभापतिको उम्मेदवार घोषणा गर्नुभएको छैन । उहाँले आफूले कुन पदमा उम्मेदवारी दिने वा नदिने भन्ने स्पष्ट पार्नुभएको छैन । थापाभन्दा केही वरिष्ठ मानिनु हुने शर्माले आफूलाई वरिष्ठभन्दा पनि थापासँगको सहकर्मीको रुपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ । दुवैजनाले महामन्त्रीको गरिमालाई मिलेर कायम राख्ने गर्नुभएको छ । त्यसैले थापा उम्मेदवार बन्ने अवस्थामा शर्माले उहाँलाई नै समर्थन गर्ने चर्चा पनि छ । उहाँहरु दुवैजना एउटै पदमा उम्मेदवार बनेका खण्डमा मत विभाजन हुने तथा दुवैजना पराजित हुन सक्ने अवस्था पनि छ । त्यसैले उहाँहरुले यो कुरालाई मनन गरी एकजनामात्र सभापतिमा उम्मेदवार बन्ने अवस्था देखिन्छ ।
सभापति बाहेकका पदहरुले समेत कांग्रेसलाई हाँक्न मद्दत गर्ने अवस्था रहन्छ । खासगरी महामन्त्रीमा को आउला भन्ने कुराले पनि महत्व राख्दछ । सभापतिले मात्र चाहेर हुँदैन कि महामन्त्रीहरुको समेत साथ रहेमा मात्र कांग्रेस सहज ढंगबाट अघि बढ्न सक्छ । त्यसैले आगामी महाधिवेशनमा कांग्रेसजनले मतदान गर्दा गुटभन्दा माथि उठेर निर्णय गर्नुपर्ने हुन्छ । विभिन्न दलहरु एकता प्रक्रियामा रहेका, नवपुस्ताको चाहना अनुसारका दलका संरचना बनाउने होडबाजी चलिरहेका यो बेला कांग्रेस जस्तो ऐतिहासिक दलले आफूलाई सही रुपमा उभ्याउन सक्नुपर्ने आवश्यकता छ ।
