‘एक्लो’ को ट्रेलर सार्वजनिक

Nayabimarsha (Weekly Newspaper from Nepal)
मनोज कुमार पोखरेल

सुनसरी/ आगामी पुष १७ गतेबाट प्रदर्शनीमा आउन लागेको चलचित्र ‘एक्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ । झन्डै तीन मिनेट लम्बाइको ट्रेलरमा सत्तासंघर्ष, प्रहरीको अनुसन्धान र प्रविधिजस्ता पक्षलाई केन्द्रमा राखिएको देखिन्छ । ट्रेलर हेर्दा चलचित्र प्राविधिक रूपमा बलियो रहेको अनुमान गर्न सकिने बताइएको छ ।
प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दीया पुन, बेनिशा हमाल, दिनेश डी.सी., कविता नेपाली र सुरजसिंह ठकुरीको अभिनय देख्न सकिने बताइएको छ । यसैगरी, एवनराज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बेलायती अभिनेता जेमी बेकन लगायतको अभिनय पनि चलचित्रमा रहेको बताइएको छ ।
एनआरएनए समूहको लगानी रहेको चलचित्रको निर्माता भने प्रदीप खड्का रहनुभएको छ । विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन बाबु श्रेष्ठले गर्नुभएको हो । रुपेश तामाङको सम्पादन, रोहित शाक्यको संगीत तथा राजु तामाङको द्वन्द्व निर्देशन रहेको यस चलचित्रको गीत भने स्वप्निल शर्माले तयार पार्नुभएको हो ।
यो चलचित्रको गत मेमा विश्वप्रसिद्ध कान्स चलचित्र फेस्टिभलमा स्टल नै राखेर प्रचार गरिएको पनि बताइएको छ । सोही कारण अन्तर्राष्ट्रिय बजारमा यो चलचित्रको चर्चा चुलिएको बताइएको छ । यही डिसेम्बर २८ मा अमेरिकाको न्युयोर्कस्थित ‘म्युजियम अफ द मुभिङ इमेज’ मा चलचित्रको प्रिमियर गरिने पनि जनाइएको छ । यो चलचित्रमा खतरनाक भाइरसका कारण मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथालाई कथानक ढंगबाट उठाइएको पनि बताइएको छ ।

‘गोबर गणेश’ को पोस्टरमा प्रेम र खुशी
रोशन काफ्ले
ललितपुर÷ चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को डेब्यु निर्देशकीयको रुपमा नयाँ चलचित्र आउने भएको छ । चलचित्र ‘गोबर गणेश’ को फस्र्टलुक पोस्टर सार्वजनिक भएसँगै उक्त चलचित्रको बारेमा चर्चा चल्न थालेको हो । मंगलबार सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य जोडी वर्षा सिवाकोटी र निर्देशक श्रेष्ठलाई अटाइएको छ । दुवैजना खुशीमुद्रामा देखिएकाले चलचित्रमा उनीहरूको प्रेम सम्बन्धलाई संकेत गरेको बताइएको छ ।
वर्षा साइकल जडित रिक्सा चलाइरहेकी छिन् । त्यसमा मरिचमान बसेका छन् । घाँटीमा सिट्टी झुन्ड्याएका उनी कुनै नगरपालिकाको फोहोर उठाउने कर्मचारी जस्ता देखिएका बताइएको छ । पृष्ठभूमिमा शहरका बाक्ला घरहरू हुनुले पनि यो चलचित्र शहरीया जीवनमा आधारित रहेको अनुमान गर्न सकिने बताइएको छ । निर्माण पक्षले पोस्टरमार्फत चलचित्रका मुख्य पात्रको संघर्ष र प्रेम सम्बन्धलाई प्रकाश पार्ने प्रयास गरेको देखिन्छ ।
यो चलचित्र आगामी माघ १ गतेबाट प्रदर्शनीमा आउने बताइएको छ । यो चलचित्रमा मरिचमान र वर्षासहित विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ लगायतको अभिनय रहेको बताइएको छ । चलचित्रमा शिवराम श्रेष्ठको डीओपी तथा विपिन मल्लको सम्पादन रहेको बताइन्छ ।

म्युजिक भिडियोमा ‘ख्रीष्टको प्रेममा’
काठमाडौँ÷ इसाई धर्मावलम्वीहरुको मुख्य चाड क्रिसमसको अवसर पारेर म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’ सार्वजनिक भएको छ । गायिका उर्मिला लाम्गादेको श्वर रहेको उक्त गीतमा गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’ को रहेको छ । यसैगरी संगीत संयोजन विषम आचार्यले गरेका बताइएको छ ।
निर्देशक तथा कोरियोग्राफर केशव राज भट्टको निर्देशनमा तयार गरिएको यस म्युजिक भिडियोमा सम्राट अधिकारी, श्रृष्टि सुब्बा र देवेन्द्र बरालको अभिनय रहेको छ । अजय रेग्मीले छायांकन गरेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गर्नुभएको छ । ख्रीष्टियन प्रेम–सन्देशलाई केन्द्रमा राखेर तयार पारिएको यस गीतको म्युजिक भिडियो स्वयम् गायिका लाम्गादेको युट्युब च्यानल “उर्मिला लाम्गादे” मार्फत सार्वजनिक गरिएको हो ।

गणेश खड्काको “तिमी पुग्यौ धेरै टाढा”
काठमाडौं÷ तिमी पुग्यौ धेरै टाढा, हिँड्नेलाई बाटो रै’छ
छोडी गयौ सबै आफ्ना, बस्नेलाई माटो रै’छ !
यी हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो “तिमी पुग्यौ धेरै टाढा” गीतका हुन् । यो गीत बनेर आउनुमा केही भित्री कुराहरु रहेका बताइएको छ । त्यसो त कवि, नाटककार तथा गीतकार गणेश खड्का प्रवासमा बसेर कलम चलाउनु हुन्छ । प्रवासमै बस्ने अर्का सङ्गीतकार तथा गायक नवीन खनालले शब्द मन पराएपछि सहकार्य गर्ने सल्लाह भयो तर रेकर्डिङ्गको प्रक्रिया थाल्नै वर्षौँ लागेको बताइएको छ ।
‘प्रवासी जीवन बाध्यता, आवश्यकता र परिस्थितिको दास हुँदै हो । समय अर्काको अधीनमा हुन्छ अनि जिन्दगी पनि अरूकै बन्दकीमा । पराधीन जीवनशैली र बन्दकी समयका छोक्राहरु निचोरेर आफूलाई थोरै भए पनि सिर्जनशील बनाउनु आत्मसन्तुष्टिको शर्तमा गतिलै कुरा रहेछ । लेखिएर छोडेको गीतप्रति अन्याय नहोस् भन्ने हेतुले गीत रेकर्ड भयो ।’ खड्काले गीत रेकर्डिङको पृष्ठभूमि बताउँदै भन्नुभयो ।
पुरुष आवाज सङ्गीतकार नवीन आफैँले दिने हुनुभयो । महिला आवाजमा गायिका रजिना रिमालले साथ दिनुभयो । गीत त रेकर्ड भयो, तर सुन्ने होइन हेर्ने जमानामा अडियोले मात्रै गीतको पूर्णता महसुस गराउने कुरो नभएकाले अन्ततः भिडियो पनि निर्माण गर्ने आकांक्षा बढायो । गीतकार सेसेल्स, सङ्गीतकार दुबई अनि गायिकालगायत म्युजिक भिडियोमा सामेल अन्य सदस्य नेपालमा रहेको अवस्था थियो । कुनै समयका रेडियो सहकर्मी गणेश खड्का र नवीन खनालले आफूहरू पचासको दशकमा रेडियो नेपालमा हुँदै केहि गीतमा सहकार्य गरिसकेका कारण पनि यसलाई जसरी पनि रेकर्ड गराउन सकिने आत्मविश्वामा रहनु भएको थियो । त्यसैलाई संयोजन गर्न सक्दा उक्त गीतको भिडियो रेकर्डिङ समेत हुन पुगेको बताइएको छ ।
नाटक, कविता, गीत, गजल, मुक्तक, कथा, निबन्ध तथा समसामयिक लेख रचनामा कलम चलाउँदै आउनु भएका खड्काका यसअघि पनि दर्जन बढी गीतहरू बजारमा आइसकेका छन् । उहाँका नाटकसङ्ग्रह र कवितासङ्ग्रह सहित अन्य केही सम्पादित पुस्तकहरू पनि प्रकाशित छन् ।
खड्का अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ । गीतको म्युजिक भिडियोमा दृश्य सुवेदी र रुषा नेउपानेले जीवन्त अभिनय गरेका बताइएको छ । गीतमा रिकेश गुरुङ्गको सङ्गीत संयोजन, हरि हुमागाईंको छायाङ्कन अनि शिव पुरीको निर्देशन तथा सम्पादन रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *