वैदेशिक रोजगार विभागको जेन–जीसँग सहकार्य

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत भाद्र २३ र २४ गतेको नवपुस्ता (जेन–जी) विद्रोहबाट ध्वस्त बनेको वैदेशिक रोजगार विभाग खरानी टक्टक्याएर सुधारको दिशामा अगाडि बढेको छ । जेनजी विद्रोहभन्दा अगाडि विभागलाई सुशासन र भ्रष्टाचारमुक्त बनाउने हिसाबले महानिर्देशक कमल भट्टराई र निर्देशक उपेन्द्र पौडेलले शुरु गरेको अभियानले गति लिँदै गर्दा जेनजी विद्रोह हुन पुगेको थियो ।
खासगरी भट्टराई विभागको महानिर्देशक बन्नुभन्दा अगाडि विभाग बेथिति र घुसखोरीको अखडा बनेको बताइन्छ । सुधारवादी प्रशासकको पहिचान बनाएका महानिर्देशक भट्टराईले जेनजी विद्रोहपछि भ्रष्टाचार विरोधी अभियानमा जेनजीहरुसँग सहकार्य गरेर विभागलाई भ्रष्टाचारमुक्त बनाउने हिसाबले कृयाशील बनेको जानकारहरुले बताएका छन् । रोजगारीको शिलशिलामा विदेशमा पुगेका कैयौं युवाहरुले दुःख पाएको अवस्थामा मेनपावर कम्पनीहरुलाई नियमन गर्ने तथा श्रम स्वीकृतिमा हुने गरेका बेथितिको अन्त्यका लागि समूह नै बनाएर आक्रामक हिसाबले काम गरिरहेका छन् । परिवर्तन र सुशासनका अनुभूति दिलाइसकेका महानिर्देशक भट्टराईले आगामी दिनमा अझ निर्मम बन्ने र जेनजी पुस्ताको माग बमोजिम काम गर्ने बताएका छन् ।
यसैक्रममा गत मंसिर २४ गते विभागको कम्पाउण्डबाट १३ जना विचौलियाहरुलाई नियन्त्रणमा लिएका छन् । यी विचौलियाहरुले सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाउँदै अनलाइन फाराम भरिदिने, श्रम स्वीकृतिका काम सहज गरिदिने ठगिएको रकम असुल गरिदिने जस्ता बहानामा मोलतोल गरेर सताउँदै आइरहेका बताइएको छ ।
महानिर्देशक भट्टराईले विभागको सुधार अभियानअन्तर्गत बैरोको गुनासो भए सिधै महानिर्देशकसँग सम्पर्क गर्ने व्यवस्था, विभागका कामहरु विद्युतीय अनलाइनबाटै हुने व्यवस्था, नक्कली कामदारको बाटो बन्द गरी राष्ट्रिय परिचयत्रमार्फत वैदेशिक रोजगारमा जोड्ने प्रणालीको व्यवस्था गर्नुभएको छ । यसैगरी बायोमेट्रिक प्रणाली सञ्चालनलगायतका सुधारका कार्यक्रमहरु लागू गरेर सिन्डिकेटको अन्त्य गरेको सरोकारवालाहरुले बताएका छन् । यी यावत सुधारका कामहरु गर्दै अगाडि बढेका महानिर्देशक भट्टराईको कामलाई नवनियुक्त श्रम तथा रोजगार मन्त्री राजनाथसिंह भण्डारीको ध्यानाकृष्ट गर्ने जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *