काठमाडौंं/ सडक विभागमा महानिर्देशकका रुपमा आउनु भएका डा. विजय जैशीको हालसम्मको कार्यलाई सुधारका कार्यहरु भनी विभागमा भन्न थालिएको छ । आठ महिनाको प्रगति विवरणलाई आधार बनाउँदै उहाँको कार्यलाई सुधारको रुपमा लिन थालिएको हो ।
उक्त आठ महिने अवधिलाई गत वर्षसँग तुलना गर्दै विभागका जानकारहरुले महानिर्देशक जैशीले पहिलेका महानिर्देशकहरुको तुलनामा राम्रो काम गरेको भनी प्रशंसा गर्न थालेका छन् । देशका लागि रुग्ण बनेका धेरै ठेक्काहरु तोडेर महानिर्देशक जैशीले प्रशंसा पाएको बताइएको छ । त्यसो त ठेक्का तोडिएसँगै अधुरा कामलाई के कसरी अघि बढाइने हो भनी जैशीप्रति चासोका साथ हेर्नेहरु पनि छन् ।
जैशीलाई काम गर्न हालका विभागीय मन्त्री कुलमान घिसिङको कारण पनि सजिलो भएको बताइएको छ । यसैगरी जैशी महानिर्देशकमा आउनुपूर्व पुँजीगत खर्च ४८ प्रतिशत रहेकोमा हाल त्यो बढेर ७५ प्रतिशत नाघेको बताइन्छ । २०८१ सालको अशोज ११ गतेको बाढीबाट क्षतविक्षतको अवस्थामा पुगेको बी.पी.राजमार्ग पनि हाल सुचारु अवस्थामा पु¥याएको जश पनि जैशीमाथि गएको बताइन्छ । यसैगरी विभागको टाउको दुखाइको अवस्थामा रहेको धुलिखेल–साँगा सडक खण्डको निर्माणलाई गतिशील बनाउने श्रेय पनि जैशीमाथि नै गएको बताइन्छ ।
उता, महाकाली पुलको निर्माण, दाउन्ने बुटवल खण्डको सडकको अवस्थामा सुधार जस्ता कार्यमा पनि जैशीलाई जोडेर सकारात्मक चर्चा चल्ने गरेको छ । यसबाहेक स्याप्रुवेशी– रसुवागढी, अरनिको राजमार्गको बाह्रबीसे– कोदारी खण्डमा पहिरोले क्षतविक्षत पारेको सडक खण्डमा यातायातलाई सुचारु गराउने कार्य पनि जैशीकै कार्यकालमा हुँदा यसले पनि उहाँको कार्यलाई सफल बनाउन सघाएको बताइएको छ । यस्तै, ग्वार्को खण्डमा फ्लाईओभर संचालनको जश पनि जैशीमाथि नै गएको बताइन्छ ।
यसबाहेक आँबुखैरेनी– मुग्लिङ सडकको राइट अफ वे निर्धारण गरिएको, काठमाडौं उपत्यकामा रहेका सामरिक महत्वका सडकका खाल्डाखुल्डी पुर्ने कार्यहरुले पनि तीव्रता पाएको अवस्था छ । सडक मर्मतका लागि ‘रोड एम्बुलेन्स’ तथा मोबाइल संचालनमा ल्याइएको बताइएको छ । यी कार्य विभागको इतिहासमै पहिलो पटक भएको भन्ने गरिएको छ । यसैगरी चौबीसै घण्टा संचालन हुने कल सेन्टरको स्थापना, जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीको क्षतिको विवरण संकलन तथा पुनर्निर्माणका कार्यहरुमा तीब्रता हुनुलाई पनि महानिर्देशक जैशीको खुबीसँग जोडेर हेर्ने गरिएको छ ।
यसैगरी विभागमा हुने कर्मचारीको सरुवाको लागि मापदण्ड तय गरिनुले जैशी अघिका महानिर्देशकहरुको कार्यशैलीभन्दा पृथक रहेको भनी चर्चा भैरहेको बताइन्छ । यस्तो खालका कार्यहरु आगामी दिनमा महानिर्देशक बन्नेहरुका लागि राम्रो मार्गदर्शकयुक्त कार्यहरु हुने भनी विभागमा चर्चा चल्ने गरेको छ ।
यता, सडक विभागमा तीनजना सिडिइहरु राजेश पौडेल, विजय महतो र धर्मेन्द्र झा सुईमा बढुवा हुनु भएको छ । विभागमा हाल सुइको दरबन्दी भएको गुणस्तर, मध्यपहाडी र उत्तर–दक्षिण सडकको नेतृत्व खाली रहेको स्रोतले जानकारी गराएको छ ।
सडक विभागलाई चलायमान बनाउँदै जैशी
Facebook Comments Box
