काठमाडौं/ राजकुमार श्रेष्ठले गृहसचिवको जिम्मेदारी सम्हाल्न थाल्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मुखमा उहाँलाई गृहसचिवको जिम्मेदारी दिइएको हो । यही पुस १४ गतेदेखि उहाँले गृहको जिम्मेदारी प्रारम्भ गर्नुभएको हो ।
सरकारले यसअघिका गृहसचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरेको छ । मुलुकको शान्तिसुरक्षा र सुशासनको जिम्मेदारी लिनुपर्ने गृहसचिव दंगाल नेकपा (एमाले) को चाकडीमा बढी व्यस्त रहने गरेकाले उहाँलाई सरुवा गर्नुपर्ने अवस्था आएको भनी मन्त्रालयमा चर्चा चलेको छ । तात्कालिन गृहसचिव गोकर्णमणि दुवाडीलाई सरुवा गरी दंगाललाई गत अशोज ८ गते गृहमन्त्रालयको सचिवको जिम्मेदारी दिइएको थियो ।
यसैबीच यही पुस ११ गतेकै मन्त्रिपरिषद्को बैठकले अन्य ६ जना सचिवहरुको पनि सरुवा गरेको थियो । यसरी सरुवा भई नयाँ ठाउँको जिम्मेदारी पाउने सचिवहरुमा किरणराज शर्मा– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृष्णहरि पुस्कर– उपराष्ट्रपतिको कार्यालय रहनु भएको छ । यस्तै, लोकनाथ पौडेल– युवा तथा खेलकुद मन्त्रालय, दीपक काफ्ले– श्रम तथा रोजगार मन्त्रालय रहनु भएको छ । यस्तै, हरिप्रसाद लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । लम्साल आगामी फागुनको दोस्रो साताबाट सेवानिवृत्त हुने बताइएको छ ।
उता, हालका गृहसचिव श्रेष्ठसँग गृह मन्त्रालयको अनुभव रहेको बताइएको छ । यसअघि पनि गृह मन्त्रालयमा सह–सचिव भै कार्य गरिसक्नुभएका श्रेष्ठमाथि पनि तात्कालिन नेकपा (माओवादी केन्द्र) सरकारमा हुँदा राम्रै हालीमुहाली गरेको आरोप भने लाग्दै आएको बताइन्छ । गोर्खा पुख्र्यौली थालथलो हुनुभएका श्रेष्ठका लागि आगामी फागुन २१ गते हुने भनिएको निर्वाचन फलामको च्युरा हुने चर्चा पनि चलेको छ ।
चुनौतीको चाङमा गृहसचिव श्रेष्ठ
Facebook Comments Box
