काँग्रेसको निकासका लागि भेला

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नेपाली काँग्रेसको वर्तमान राजनीतिक अवस्थाको निकास विशेष महाधिवेशन नै भएको निष्कर्षसहित अगुवा नेताहरूको विशेष भेला सम्पन्न भएको छ । बुधबार भएको भेलाले विशेष महाधिवेशनमार्फत नयाँ नीति र सशक्त नेतृत्व चयन गरी आगामी फाल्गुण २१ गते हुने निर्वाचनमा एकतावद्ध रूपमा सहभागी हुनुपर्ने अभिमत जाहेर गरेको बताइएको छ ।
विशेष भेलामा काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भेषबहादुर कार्की, महासमिति सदस्यहरू विष्णुराज कार्की, सुरेश श्रेष्ठ, नेविसंघका पूर्वकेन्द्रीय सदस्य एवं अधिवक्ता किरण न्यौपाने, महाधिवेशन प्रतिनिधिहरू मनोजकुमार थापा, सरु बानियाँ, संगीता फुयाँल लगायतको सहभागिता रहेको थियो । यसैगरी विभिन्न वडा समितिका सभापतिहरू, क्षेत्रीय समिति पदाधिकारी तथा सदस्यहरू, नगर, प्रदेश कार्यसमितिका सदस्यहरू र वडा अध्यक्षहरूको उल्लेख्य उपस्थिति रहेको बताइएको छ ।
भेलाले २४ गते पत्रकार सम्मेलन आयोजना गर्ने, जिल्लास्तरीय अगुवा साथीहरूको वृहत् भेला गर्ने तथा २७ गते हुने विशेष महाधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सफल बनाउन सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ । कार्यक्रमपछि प्रतिक्रिया दिँदै काँग्रेस भक्तपुरका पूर्व सहसचिव तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य अधिवक्ता किरण न्यौपानेले विशेष भेलाका निर्णयहरूले पार्टीलाई नयाँ ऊर्जा र दिशा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विशेष महाधिवेशन सफल पार्न सबै तहका नेता–कार्यकर्तालाई एकतावद्ध भएर लाग्न आग्रह समेत गर्नुभएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *