भूमि व्यवस्था मन्त्रीको निशानामा भ्रष्टहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङनामले मालपोत र नापी कार्यालयका प्रमुखहरुले विचौलियाहरुसँग साँठगाँठ गरेको आरोपमा उपत्यकाका तीनवटा मालपोत कार्यालयका प्रमुखहरुलाई हटाउनु भएको छ । तात्कालिन खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारका मन्त्री बलराम अधिकारीको पालामा मालपोत विभाग र नापी विभागका महानिर्देशक एवं कार्यालय प्रमुखहरुको सरुवा गरेको थियो ।
त्यसको प्रत्यक्ष उदाहरण पोखराको लिचीबारी जग्गा प्रकरणलाई लिइएको छ । मन्त्री इङनामले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ महिना नपुग्दै विभागदेखि कार्यालयहरुमा बेथिति र घुसखोरीको सूचनाहरु आउन थालेपछि सुधार गर्ने अठोटका साथ पहिलो चरणमा उपत्यकाका तीनवटा मालपोत कार्यालयहरुबाट अभियानको थालनी गरेको समाचार श्रोतले जानकारी दिएको छ । घुस्याहरुलाई जेलमै हाल्नुपर्ने तर यो निकै गाह्रो काम रहेको बताउने मन्त्री इङनामले ललितपुर मालपोत, भक्तपुर र चाबहिल मालपोतका प्रमुखलाई जिम्मेवारीमुक्त गरेको बताइएको छ । जिम्मेवारीबाट हटाई सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ भने अब उपत्यकाका नापी प्रमुखहरु भक्तपुर पूर्ण पाण्डे, ललितपुर अतिज कुँवर र चाबहिलको संजय छतकुली निशानामा परेको बताइएको छ । भोलि माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लाग्ने भएकाले तत्काल सरुवाको संभावना भने टरेको बताइएको छ ।
मालपोत र नापीमा विचौलियाले कार्यालयको कित्ताकाटदेखि हाल साबिक, मोठ भिडाउने लगायतका काममा सेटिङ गर्दै आइरहेको समाचार श्रोतले बताएको छ ।
यस्ता अनगिन्ती बेथिति र घुसखोरी तात्कालिन मन्त्री अधिकारी र उनको टीममा रहेकाहरुबाट हुन गरेको थियो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पनि मालपोत र नापीमा भ्रष्टाचार हट्न नसकेको श्रोतको दाबी छ । यस्ता कैयौं बेथिति र भ्रष्टाचार रोक्न मन्त्री इङनामले प्रयास गरे पनि भ्रष्टाचारको केन्द्रविन्दु मानिने मालपोत र नापीका घुसघोरहरुबाट सेवाग्राही आजित बनेका छन् । सुशासन र भ्रष्टाचार रोक्न भएको जेनजी विद्रोह पनि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भने झैं हुने अवस्था छ ।
मन्त्री हुनु २ महिना अगाडि नै आफैं राजश्व बाहेक ५ हजार रुपियाँमा घुस बुझाउन बाध्य भएको घटनाले झस्किएका मन्त्रीको मन्त्रालय अब सुध्रिन्छ कि चुरीफुरी मात्रै हो भनी सर्वसाधारणले चासो राखेका छन् । भूमि व्यवस्था मन्त्रालयमा हाल मदन भुजेल सचिव बनेर आए पनि उनलाई विचौलियाहरुले प्रभावमा पार्ने चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *