काठमाडौं/ नेपाली संगीत क्षेत्रकी अमर गायिका तारादेवीको स्मृतिमा श्रद्धा, सम्मान र सांगीतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सम्पन्न भएको छ ।
तारादेवी स्मृति फाउन्डेसनको आयोजनामा तथा काठमाडौं महानगरपालिकाको सह–आयोजनामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा उक्त विशेष समारोह सम्पन्न भएको हो ।
समारोहको शुरुआत अमर गायिका तारादेवीको तस्बिरमा माल्यार्पण गर्दै गरिएको आयोजकले जनाएको छ । त्यस अवसरमा उहाँका कालजयी गीत, नेपाली संगीतमा पु¥याएको योगदान तथा व्यक्तित्वमाथि चर्चा गरिएको बताइएको छ । त्यसपछि प्रस्तुत गरिएका विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रममार्फत तारादेवीको कला र सृजनालाई स्मरण गरिएको सहभागीहरुले बताए ।
प्रत्यक्ष संगीत प्रस्तुति क्रममा तारादेवीका सदाबहार गीतहरू गुञ्जिँदा कार्यक्रमस्थल भावुक वातावरणले भरिएको थियो । उहाँका गीतहरूले दर्शक तथा श्रोताहरूलाई भावनात्मक बनाएको थियो । नयाँ पुस्ताले पनि उहाँको संगीतको गहिरो प्रभाव अनुभूति गर्ने अवसर पाएका बताइएको छ ।
समारोहमा वरिष्ठ कलाकार किरण खरेल, संगीतकार दीपक जंगम तथा संगीतकर्मी एवं काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । अतिथिहरूले तारादेवी नेपाली संगीतको इतिहासमा कहिल्यै नमेटिने नाम भएको उल्लेख गर्दै उहाँको योगदान सधैँ स्मरणीय रहने धारणा व्यक्त गर्नुभएको थियो ।
समारोहकै अवसरमा नेपाली गीत–संगीतको विकासमा उल्लेखनीय योगदान पु¥याएका स्रष्टाहरूलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा गीतकार माधवप्रसाद खनाल, संगीतकार शिवशंकर मानन्धर तथा चर्चित गायिका संगीता राना प्रधान रहनुभएको थियो ।
सम्मान ग्रहण गर्दै स्रष्टाहरूले तारा देवीजस्ता महान् कलाकारको स्मृतिमा आयोजना गरिने कार्यक्रमले नेपाली संगीतको गरिमा अझ उचो बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
आयोजक संस्था तारादेवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसीले तारादेवी नेपाली संगीतकी प्रेरणादायी हस्ती भएको उल्लेख गर्नु भयो । उहाँका गीत, श्वर र योगदान सदैव स्मरणीय रहने भनी उहाँले बताउनुभयो । यस्ता कार्यक्रमहरूले पुराना स्रष्टाको योगदानलाई उजागर गर्नुका साथै नयाँ पुस्तालाई नेपाली गीत–संगीतप्रति आकर्षित र प्रेरित गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रमले तारादेवीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली संगीतको इतिहास र यसको निरन्तरताबारे सोच्न प्रेरित गरेको सहभागीहरूको प्रतिक्रिया रहेको थियो ।
तारादेवीको स्मृतिमा कार्यक्रम
Facebook Comments Box
