३९ देशका ८५ चलचित्रहरु निशुल्क हेर्न पाइने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा आयोजना हुने महोत्सवमा ३९ देशका ८५ चलचित्रहरु प्रदर्शनी हुने बताइएको छ ।
काठमाडौँमा विश्वभरका सांस्कृतिक, सामाजिक र सिर्जनात्मक चलचित्रको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सात वर्षदेखि निरन्तर रुपमा यो महोत्सव आयोजना हुँदै आएको छ । यो महोत्सव नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र उत्सवका रूपमा स्थापित हुँदै गएको आयोजकको भनाइ छ । यस वर्षको महोत्सवमा ७५ भन्दा बढी देशबाट ७०० चलचित्र प्राप्त भएका मध्येबाट ५२ देशका १३८ चलचित्रहरू महोत्सवका लागि चयन भएका बताइएको छ ।
महोत्सवमा लघुचलचित्र, कथानक चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्रसँगै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयबस्तुमा आधारित चलचित्रहरू समावेश गरिएका बताइएको छ । “तीन मिनेटदेखि साढे दुई घण्टासम्म अवधिका चलचित्रहरू महोत्सवका लागि छनोट भएका छन्,” महोत्सवका निर्देशक तथा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनु भयो । चाबहिलको चलचित्र विकास बोर्डमा उद्घाटन समारोह रहने बताइएको छ ।
महोत्सवमा चलचित्र प्रदर्शनीसँगै सांस्कृतिक कला प्रदर्शनी, नृत्य, कला–संस्कृति र पर्यटनसम्बन्धी अन्तरक्रिया लगायत थुप्रै कार्यक्रमहरु रहेको महोत्सवकी सह–निर्देशक सृष्टि न्यौपानेले जानकारी दिनु भएको छ । अस्ट्रेलियाली निर्देशक मौलीनाथ गंगोलीद्वारा चलचित्रसम्बन्धी मास्टर क्लास पनि दिने कार्यक्रम रहेको बताइएको छ ।
महोत्सवको लागि अन्तर्राष्ट्रिय निर्णायक मण्डलमा अमेरिकाकी निर्माता–निर्देशक जेसिका एकर्सन, बेलायतकी निर्माता एड्रियाना कुलिग, जर्जियाकी अनुसन्धानकर्ता निनी सिभेलिज, इटालीकी लेखक तथा निर्देशक भ्यालेन्टिना गाल्डी रहनु भएको छ । यसैगरी बेलायतकी निर्देशक–निर्माता म्याग्डालिना कोर्पास, अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा. जर्ज ग्युलेर्मो क्याराभोटा, ट्युनिसियाका निर्देशक नुमिन नुमिन, लाट्भियास्थित स्कार्लेट फिल्म्सका संस्थापक इमरोज होसेन पनि निर्णायक मण्डलमा रहनु भएको छ ।
राष्ट्रियतर्फको जुरीमा चलचित्र लेखक, निर्देशक तथा कलाकार रमेश बुढाथोकी, अभिनेता धीरेन शाक्य, अभिनेत्री तथा निर्माता दीपाश्री निरौला, अभिनेता आर्यन सिग्देल र निर्माता तथा छायाकार रविन आचार्य रहनु भएको छ ।
महोत्सवमा दक्षिण एशियाली मुलुक भारत, बंगलादेश, पूर्वी एशियाली देशहरू चीन, थाइल्यान्ड, कोरिया, काजकिस्तान, यूएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, ताइवान लगायतका चलचित्रहरू चयन भएका बताइएको छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, जर्मनी, रुस, स्विजरल्यान्ड, ट्युनिसिया, युक्रेन, स्पेन, नेदरल्यान्ड, मेक्सिको, फिनल्यान्ड, लिथुआनिया, चिली, नर्वे, ब्राजिल, सर्बिया, पोर्चुगल, पोल्यान्ड, हंगेरी, ग्रीस, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक लगायत युरोप, दक्षिण अमेरिका तथा अफ्रिकी मुलुक मोरक्को, इजिप्ट, दक्षिण अफ्रिकाका चलचित्रहरू पनि समावेश रहेका सुवेदीले जानकारी दिनु भएको छ ।
महोत्सवमा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकारसँगै उत्कृष्ट लघु चलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालबालिका चलचित्र तथा मानव अधिकारसम्बन्धी चलचित्र विधामा प्रतिस्पर्धा हुनेछ । नेपाल पुलिस क्लबमा हुने महोत्सवको समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट ठहरिएका चलचित्र, कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गरिने अध्यक्ष सुवेदीले जानकारी दिनु भएको छ । यस वर्ष १५ राष्ट्रिय र १५ अन्तर्राष्ट्रिय गरी ३० उत्कृष्ट चलचित्र सम्मान गरिने कार्यक्रम रहेको बताइएको छ ।
चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरिने जानकारी पनि सुवेदीले दिनु भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *