सर्वनाम थिएटरमा अग्निचक्षु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ विश्वकै एक मात्र जीवित देवी कुमारीको विषयमा सर्वनाम थिएटर कालिकास्थानमा यही माघ ११ देखि २५ सम्म अग्निचक्षु शीर्षकको नाटक नियमित मञ्चन भइरहेको छ । साइलेन्ट एक्टको प्रस्तुति र नागरिक कल्याण समाज नेपालको आयोजनामा मञ्चन भइरहेको उक्त नाटकले सांस्कृतिक पृष्ठभूमिमा नारी सशक्तीकरणको आवाज बोल्ने बताइएको छ ।
गौतम बुद्धको जन्मथलो, विश्वको सर्वोच्च शिखर सगरमाथा अनि जीवित देवी कुमारी पुज्ने देशको रूपमा नेपाल विश्वमा परिचित छ । यिनै जीवित देवी कुमारीको सांस्कृतिक विषयमा अग्निचक्षु नाटक लेख्ने कोसिस लेखक चन्द्र प्रसाद पाण्डेले गर्नु भएको छ । संस्कृतिभित्र लुकेका धार्मिक, सामाजिक, ऐतिहासिक तथा जीवन दर्शनका कुराहरू पनि यसमा समेट्ने प्रयास गरिएको पाण्डे बताउनु हुन्छ । यस नाटकको पाण्डुलिपि निर्माणको क्रममा नाटककार, संस्कृतविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले समेत अध्ययन गरी आशीर्वाद दिनुभएको पाण्डेको दाबी छ ।
यो भन्दा पहिले मञ्चन भएको नाटक जिउँदो आकाश अन्तर्राष्ट्रिय ओलम्पिक थिएटर फेस्टिभल हुँदै नेपालका १२ स्थानमा १०० पटक भन्दा बढी मञ्चन भएको थियो । ‘यसै क्रममा संस्कृतिमाथि काम गरौँ भन्ने जिज्ञाशा आयो र यो नाटक लेखनको क्रममा जुट्न थालेँ । फलस्वरुप २०८१ सालमा यो नाटकलाई पहिलो पटक शिल्पी थिएटरमा मञ्चन गरियो । यसै क्रममा बुढानीलकण्ठ स्कुलको नेपाली विभागद्वारा त्यहीँका विद्यार्थी भाइबहिनीहरुद्वारा २०८२ मङ्सिर २५–२८ सम्म मञ्चन भयो । नेपाली र नेवाः दुवै भाषामा मञ्चन गर्ने हाम्रो योजनाअनुरुप हरिगोपाल श्रेष्ठले नेपाल भाषामा अनुवाद गर्नुभएको छ । नेपाल भाषामा पनि मञ्चन गर्ने योजनालाई मूर्त रुप दिने वाचा गर्दै हाल नेपाली भाषामै मञ्चन गर्दैछाँै ।’’ पाण्डेले जानकारी गराउँदै भन्नु भयो ।
यो नाटकमा नेपाली कलायात्रामा लामो समय काम गरिरहनु भएका कृष्णभक्त महर्जनले नाट्य प्रस्तुति संयोजनको अभिभारा वहन गर्नुभएको बताइएको छ । मञ्चमा कृष्णभक्त महर्जन, मञ्जु श्रेष्ठ, हेना नगरकोटी, सुशील राजोपाध्याय, सलोना बज्राचार्य र श्रीशेष श्रेष्ठको अभिनय देख्न पाइने बताइएको छ । यसैगरी अन्य कलाकारहरुमा कुन्दन शाक्य, धीरज थापा मगर, राजेन्द्र डंगोल र दिव्यता चौधरी (बाल कलाकार) रहनु भएको बताइएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *