तालमेलको तालमेलको हात फैलाउँदै एमाले एमाले : त्रासमा ओली, आशमा थापा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ करिब १२ वर्षपछि गठबन्धन प्रवृत्ति हटाउने राष्ट्रिय चासोमा नेकपा (एमाले) बाधक बन्न थालेको छ । विगतका विभिन्न निर्वाचनमा निर्वाचनअघि कतिपय दलहरुले गठबन्धन गर्ने गरेका थिए । त्यस्तो गठबन्धनका कारण निकास निस्कन नसकेको तथा दलका मतदाता झनै निराश भैरहेको अवस्था थियो । त्यसैले त्यो प्रवृत्ति हटाउनु पर्ने भन्ने कुरा जोडबलले उठे पनि ंएमाले फेरि त्यस्तै कुकर्म गर्न प्रयासरत रहेको बताइएको छ । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि सबैजसो दलहरुले आ–आफ्नै उम्मेदवार बनाएर मैदानमा गएका छन् । एमालेले पनि आफ्ना उम्मेदवार सबैजसो निर्वाचन क्षेत्रमा लडाएको छ । यस्तो अवस्थामा दोस्रो ठूलो दल एमाले भने उक्त अवसरलाई विगार्न लागि परेको बताइएको छ । यसका लागि एमालेका शीर्ष नेताहरुले विभिन्न दलका नेताहरुसँग तालमेलको प्रस्ताव गरिरहेको स्रोतले बताएको छ । त्यसो त कर्णाली प्रदेशका केही जिल्लाका क्षेत्रहरुमा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीका बीचमा तालमेल गर्ने निर्णय भएको बताइएको छ ।
त्यसो त एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले गठबन्धनकै लागि प्रयास गरेको स्रोतले बताएको छ । नेपाली कांग्रेसका तात्कालिन सभापति शेर बहादुर देउवासँग ओलीले साँठगाँठ गरी गठबन्धनको वातावरण बनाउँदै लगेको अवस्था स्रोतले जानकारी गराएको छ । त्यो बेला देउवा पनि ओलीको प्रस्तावमा सकारात्मक बनेको स्रोतको दाबी छ । त्यसैबीचमा कांग्रेसमा नयाँ तरंग आयो । देउवा लगायतका केही नेताहरुले नचाहँदा नचाहँदै पनि कांग्रेसले विशेष महाधिवेशन गर्न पुग्यो । यो महाधिवेशनले नीतिमा मात्र परिवर्तन गरेन कि नेतृत्व नै परिवर्तन गर्न पुग्यो ।
विशेष महाधिवेशनले कसैसँग गठबन्धन नगरी सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने निर्णय ग¥यो । त्यसैगरी सबै क्षेत्रमा कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मै मतदान गर्ने अवसर प्रदान गर्ने निर्णय पनि भयो । त्यससँगै कांग्रेसले गगन थापाको नेतृत्वमा नयाँ कार्य समिति नै चयन गर्न पुग्यो । सभापति बन्नु भएका थापाले उम्मेदवारको टिकट वितरण गर्ने अवसर प्राप्त गर्नु भयो ।
थापाले सबै निर्वाचन क्षेत्रमा अधिकांश नयाँ उम्मेदवार चयन गरी पठाउनु भयो । त्यसअघिको कांग्रेस नेतृत्वले गरेका निर्णयहरुलाई मान्दै राष्ट्रियसभाको निर्वाचनमा एमाले र जसपा नेपालसँग गरेको गठबन्धनलाई कायमै राख्ने निर्णय पनि सभापति थापाले गर्नु भयो । यो निर्णयको पालना कांग्रेसजनले गरी गठबन्धनमा रहेका सबै उम्मेदवार निर्वाचित पनि बनेको अवस्था छ ।
यो गठबन्धनलाई अनुमोदन गर्ने सभापति थापाले फागुन २१ गते हुने भनिएको निर्वाचनमा भने कसैसँग गठबन्धन नगर्ने भनी फेरि पनि भन्नु भयो । कांग्रेसको सभापतिमा थापा आएसँगै एमाले अत्तालिन पुगेको थियो । एमालेका अध्यक्ष ओली देउवालाई मनाएर कांग्रेस–एमालेको गठबन्धन गराउने पक्षमा हुनुहुन्थ्यो । उहाँको प्रस्ताव पहिले जुन जुन क्षेत्र जुन पार्टीले जितेको हो, उसैलाई दिने र अरु क्षेत्रमा भागबण्डा गरी साझे उम्मेदवार बनाउने रहेको भनी समाचार स्रोतले जानकारी दिएको छ । ओलीको प्रस्तावमा देउवा तथा उहाँ निकटका नेताहरु समेत सहमत रहेको बताइएको थियो ।
त्यस्तो अवस्थामा कांग्रेसको नेतृत्व नै परिवर्तन हुन गयो । निर्वाचन परिणाम जस्तो आए पनि स्वीकार्ने गरी थापाले आफ्ना सबै मतदातालाई आफ्नै चुनाव चिन्हमा मतदान गराउने अवस्थाको निर्णय गरिसक्नु भएको छ । यो मार्गमा कांग्रेस गइरहेको अवस्थामा पनि ओली भने फेरि पनि तालमेलको कुरा गरी रहेको बताइएको छ ।
यसरी एमालेले गठबन्धन गर्न नमिलेको अवस्थामा तालमेलको कुरा गर्न थाल्नुमा अध्यक्ष ओली स्वयम् नै दबाबमा पर्नु रहेको पनि स्रोतले दाबी गरेको छ । झापा निर्वाचन क्षेत्र नं.५ बाट उम्मेदवार बन्नु भएका ओलीलाई आगामी निर्वाचन नै असुरक्षित अवस्था बनेको स्रोतले बताएको छ । यस्तो, अवस्थामा आफ्नो जितलाई कसरी सुनिश्चित गर्न सकिएला भनी ओली विभिन्न सूत्रहरुको प्रयोग गर्न थालेको बताइएको छ ।
उक्त निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह (बालेन) लाई उम्मेदवार बनाएको छ । बालेन झापा पुगेदेखि नै त्यस क्षेत्रमा बालेनको पक्षमा माहौल बन्न थालेकाले ओलीमा त्रास देखिएको स्रोतले बतायो । यसअघिका निर्वाचनहरुमा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी गठबन्धन गर्दै जित निकाल्दै आउनु भएको थियो ।
यस पटक राप्रपाले पनि सो क्षेत्रमा आफ्नो छुट्टै उम्मेदवार बनाएको छ । यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन उम्मेदवार बनेको क्षेत्र नं.३ मा पनि एमालेले उम्मेदवारी दिएको छ । यसरी देशैभरी सबैजसो दलहरु आ–आफ्नै उम्मेदवार बनाएर परीक्षणमा उत्रिएको अवस्था छ । त्यसलाई स्वीकारे जानुको सट्टा ओली भने विभिन्न स्थानमा तालमेल गरेर भए पनि आफ्ना केही नेताहरुको जितलाई सुनिश्चित गर्न चाहिरहेको बताइएको छ ।
ओलीको यो चाहनालाई अन्य दलले खासै महत्व नदिएको पनि बताइएको छ । ओलीले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सह–संयोजक माधव कुमार नेपाललाई फोन गरेर आग्रह गरेको पनि समाचार स्रोतले दाबी गरेको छ । यस्तो अवस्थामा दाहाल र नेपालले पनि ओलीको कुरालाई महत्व नदिएपछि ओली तिल्मिलाएको बताइएको छ ।
उता, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको कांग्रेस भने उत्साहका साथ निर्वाचनमा होमिएको बताइएको छ । थापाले गठबन्धन वा तालमेलको कुरा नै नसुन्ने भन्ने कुरा बुझेर ओलीले अहिले पनि देउवासँग प्रयास गरिरहेको बताइएको छ । राजनीतिक रुपमा निस्कृय अवस्थामा पुग्नु भएका देउवा भने अहिले यो विषयमा प्रवेश गर्न चाहिरहनु भएको छैन । त्यसैले पनि ओली तिल्मिलाएको स्रोतले दाबी गरेको छ ।
कांग्रेसका सभापति थापा भने अहिले आएर तालमेल वा अन्य यस्तै खाले कुरा आउँदा त्यसप्रति कांग्रेस नलाग्ने भनी स्पष्ट गरिरहनु भएको छ । यो निर्वाचनमा निर्वाचनअघि कसैसँग तालमेलको संभावना नरहेको भन्दै थापाले कांग्रेस आफ्नै बलबुताले निर्वाचनमा गएको तथा जाने बताउँदै आउनु भएको छ । उहाँले अरुको बलमा उभिएर निर्वाचन जित्ने भन्दा पनि आफ्नै बलमा उभिएर थोरै मतान्तरले विजयी भए पनि स्वीकार्य हुने भन्ने मनस्थितिका साथ कार्य गरिरहनु भएको पनि बताइएको छ ।
यसरी एमालेका अध्यक्ष ओलीमा त्रास देखिएको छ भने कांग्रेस सभापति थापामा भने आश देखिएको भनी चर्चा चल्ने गरेको छ ।

 

डा. भट्टराईलाई पितृशोक
काठमाडौं÷ पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उहाँका पिता भोजप्रसादको हिजो विहीबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
९७ वर्षीय भट्टराईको हिजो विहीबार बिहान निधन भएको थियो । उहाँको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ । केही दिनदेखि स्वास्थ्यमा जटिल समस्या देखिएपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उहाँको उपचार गराइको बताइएको छ ।
अन्त्येष्टिमा प्रलोपाका नेता–कार्यकर्ताहरु सहभागी भएका थिए । उक्त बेलामा अन्य राजनीतिक दलका उच्च तहका नेताहरुको भने खासै सहभागिता नभएको पनि बताइएको छ । स्वर्गीय भट्टराईका २ छोरा २ छोरी रहनु भएको पनि बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *