सांसदले गर्नुपर्ने काम के हुन् ?

Nayabimarsha (Weekly Newspaper from Nepal)
कौशल कुमार भट्टराई

यही फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएको छ । निर्वाचनको बेलामा विभिन्न उम्मेदवारहरु हुनु स्वाभाविक हो । यसैगरी नेपालमा दलीय व्यवस्था रहेकाले धेरै दलबाट धेरैजना उम्मेदवार बन्नु भएको छ । यसैगरी स्वतन्त्र रुपमा समेत उम्मेदवारी परेका छन् । यसरी प्रत्यक्षतर्पm १६५ निर्वाचन क्षेत्रमा हुन गइरहेको निर्वाचनले १६५ जना सांसदहरुको चयन गर्ने संवैधानिक व्यवस्था गरेको छ ।
यसैगरी त्यही प्रत्यक्ष निर्वाचनकै दौरान समानुपातिकतर्पmको समेत मतदानको व्यवस्था गरिएको छ । संविधानले प्रत्यक्षका अतिरिक्त समानुपातिकतर्पm ११० स्थानको पनि मतदान गरिनुपर्ने व्यवस्था गरेको छ । प्रत्यक्षमा भने दलका उम्मेदवारका अतिरिक्त स्वतन्त्र रुपमा समेत उम्मेदवार बन्न पाइने व्यवस्था छ । उता, समानुपातिकको व्यवस्था भने राजनीतिक दलका लागि मात्र हो ।
प्रत्यक्षमा पहिलो हुने उम्मेदवार निर्वाचित हुने व्यवस्था गरिएको छ । यसको अर्थ जतिजना उम्मेदवार भए पनि तीमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुने हुन्छ । यदि केही कारणले उम्मेदवारहरुले बराबरी मत पाएको खण्डमा गोला गर्ने गरिन्छ । गोला जसको भागमा पर्छ उही निर्वाचित हुने व्यवस्था गरिएको छ ।
उता, समानुपातिकतर्पm भने पृथक व्यवस्था हुन्छ । यस अन्तर्गत दलहरु नै उम्मेदवार भएको ठानिन्छ । हुन त दलहरुले विभिन्न कानूनी व्यवस्थाको पालना गर्दै आफ्नो दलका तर्पmबाट उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा निर्वाचन हुनुपूर्व नै पेश गरेको हुन्छन् । त्यसरी यस निर्वाचन प्रणालीमार्फत दलहरुले तोकिएको सीमा पार गरेको खण्डमा उनीहरुले प्राप्त गरेको मतको आधारमा ११० जना सांसद निर्वाचित हुने हुन्छन् । यसको छनौटको प्रकृया अलि फरक भए पनि प्राप्त मतको आधारमा दलहरुले सांसद पनि पाउने हुन्छन् ।
यसरी हेर्दा आसन्न निर्वाचनले प्रत्यक्षतर्फ १६५ जना तथा समानुपातिकतर्फ ११० जना गरी जम्मा २७५ जना सांसदको चयन गर्ने हुन्छ । यसरी चयन भएका सांसदहरु नै प्रतिनिधिसभाका सांसदका रुपमा रहन्छन् । त्यसमध्ये प्रत्यक्ष रुपमा जितेर आएका सांसदहरुमध्ये जुन दल वा सांसदले बहुमत जुटाउने अवस्था हुन्छ उही नै प्रधानमन्त्री बन्ने व्यवस्था हुन्छ । यहाँ प्रधानमन्त्री चयनको विषयभन्दा पनि सांसदको विषयमा यो लेखमा केन्द्रित हुन गइरहेको छु ।
खासगरी अहिलेको निर्वाचनको अवस्था तथा प्रचार प्रसारको स्थितिलाई आंकलन गर्दा अनौठो अवस्था देखिएको छ । विभिन्न उम्मेदवारहरु आफू सांसदमा निर्वाचित भएमा यसो गर्ने, उसो गर्ने भनी वाचा गरिरहेका छन् । उनीहरु विकास–निर्माणका कुरामा केन्द्रित देखिएका छन् । हुने नहुने कुरा वा वाचा गरिरहेका छन् । यसैगरी मतदाताले पनि सांसदको काम, कर्तव्य र अधिकारको विषय नबुझेको देखिन्छ । उनीहरुको पनि चाहना सांसदबाट विकास निर्माणको कुराको आशा नै रहेको देखिन्छ । मतदाताले आफ्नो व्यक्तिगत कुरालाई पनि सांसदसँग माग गर्ने देखिएको छ ।
नेपालको संवैधानिक व्यवस्थालाई हेर्ने हो भने सांसदहरुको मुख्य काम भनेको कानून बनाउने हो । उनीहरु नीति निर्माणमा केन्द्रित हुनुपर्ने हो । विकास निर्माणका कुराभन्दा पनि के कसरी विकास गर्न सकिन्छ भनी नीति नियम बनाउने हो । उनीहरुले व्यक्तिगत कुरालाई भन्दा पनि राम्रो कानून बनाउने कुरामा आफूलाई उभ्याउनुपर्ने हो ।
यसरी विश्वव्यापी रुपमा सांसदहरुको भूमिका आदिलाई विश्लेषण गरेर हेर्ने हो भने व्यवस्थापिका निकायमा जवाफदेहिता सिर्जना गर्नुपर्ने अवस्थामा सांसदहरु रहने हुन्छन् । व्यवस्थापिकाको भूमिकालाई मध्य नजर गर्दा उनीहरुले कानून बनाउने, बहस गर्ने र पारित गर्ने कार्यमा आफूलाई केन्द्रित गर्नुपर्ने हुन्छ । यसैगरी प्रस्तावित विधेयकहरूको समीक्षा र संशोधन गर्ने कार्यमा पनि उनीहरुको भूमिका हुन्छ ।
यसैगरी प्रतिनिधित्वको भूमिकामा पनि सांसदले आपूmलाई उतार्नुपर्ने हुन्छ । यसका लागि संसदमा आफ्ना मतदाताको हित र विचारको प्रतिनिधित्व गर्ने गरी आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ । उनीहरु सरकार र जनता बीचको कडीको रूपमा काम गर्ने प्रतिनिधिको रुपमा प्रतिनिधित्व गर्ने खालको हुनुपर्छ । यस्तै, निरीक्षणको भूमिका पनि सांसदहरुले निर्वाह गर्नुपर्ने हुन्छ । यस क्रममा सरकारका गतिविधिहरूको अनुगमन र छानविन गर्ने कार्य पनि सांसदहरुले गर्नुपर्ने हुन्छ । यसै क्रममा प्रश्न, बहस र समितिहरूमार्फत सरकारलाई जवाफदेही बनाउने कुरामा पनि सांसदहरुले आफूलाई लगाउनुपर्ने हुन्छ ।
जनताले बढी चासो राख्ने कुरा बजेट पनि हो । त्यसैले यसमा पनि सांसदहरुको भूमिका रहन्छ । सरकारी बजेट र खर्चको छलफल र अनुमोदन गर्ने कार्यमा सांसदहरुको भूमिका रहने गर्दछ । यस्तै, विकासको भूमिकामा पनि भोलिका दिनमा सांसदहरुले आफूलाई सक्रिय बनाउनुपर्ने हुन्छ । उनीहरुले आफ्नो निर्वाचन क्षेत्रमा विकास परियोजनाहरूलाई सहजीकरण गर्ने, आफ्नो क्षेत्रका लागि स्रोत र सेवाहरूको वकालत गर्ने कार्य गर्नुपर्ने हुन्छ ।
कानून निर्माण समितिहरू पनि संसदमा हुन्छन् । तिनीहरुमा समेत सांसदहरुको भूमिका हुने गर्दछ । विशिष्ट मुद्दाहरू वा विधेयकहरूको विस्तृत रूपमा जाँच गर्ने संसदीय समितिहरूमा भाग लिने कार्य पनि सांसदहरुले गर्नुपर्ने हुन्छ ।
यी बाहेक सांसद हुनका लागि कस्ता व्यक्तिहरु योग्य हुन्छन् भन्ने कुरा पनि मुख्य विषय हो । यो विषयमा केन्द्रित हुँदा निम्नानुसारका गुणहरु सांसदमा हुनुपर्ने देखिन्छ ।
१. निष्ठा र इमानदारी
२. वास्तविक समुदायका मुद्दाहरूको बुझाइ
३. संसदमा बलियो प्रतिनिधित्व सीप
४. सेवाको ट्याक रेकर्ड
५. पहुँच र जवाफदेहिता
६. यथार्थपरक प्रतिज्ञाहरू
७. परिपक्व, जिम्मेवार नेतृत्व
८. समुदायसँग वास्तविक सम्बन्ध
९. व्यावहारिक विचारहरू सहितको स्पष्ट दृष्टिकोण
१०. भ्रष्टाचार र पार्टीको दबाबबाट स्वतन्त्रता
यसरी हेर्दा सांसद बन्नु वा बनाउनुपूर्व धेरै कुरामा विचार गर्नुपर्ने हुन्छ । उनीहरुमध्येबाटै देशको प्रधानमन्त्री समेत चयन हुने संवैधानिक व्यवस्था रहेका कारण मतदाता झनै चनाखो हुनुपर्ने अवस्था रहन्छ । सांसदका उम्मेदवारहरुले जे जति कुरा गरिरहेका छन्, ती तिनको बसको कुरा हो कि होइन भन्ने समेत नबुझी उम्मेदवार पनि मतदाता पनि लागि रहेको देखिन्छ ।
यसैगरी माथिका सैद्धान्तिक कुराका अतिरिक्त व्यावहारिक पाटोबाट पनि सांसदको कुरालाई हेरिनु आवश्यक छ । सांसद हुने वा भएको व्यक्ति स्थानीयसँग प्रत्यक्ष सम्पर्कमा रहने खालको हुनुपर्छ । उनीहरु जनप्रतिनिधि भएकाले आफ्नो क्षेत्रको सही प्रतिनिधित्व गर्न सक्ने खालको हुनुपर्छ । स्थानीयबासीको कुरा, मर्म, पीरमार्कादेखि आवश्यकतालाई समेत बुझ्न सक्ने खालको प्रतिनिधि छानेको खण्डमा त्यस्ता प्रतिनिधिले सही रुपमा प्रतिनिधित्व गर्ने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *