पराजुलीको कांग्रेस प्रवेशले उत्साह

Nayabimarsha (Weekly Newspaper from Nepal)

हेटौंडा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पहिरो जाने क्रम बढेको छ । रास्वपामा पहिलेका नेता कार्यकर्ताहरुले उक्त पार्टी छोड्ने क्रम बढेको हो । यस क्रममा मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गर्नु भएको छ ।
३० वर्षे राजनीतिक जीवन व्यतित गर्नु भएका पराजुली पुरानै घर नेपाली कांग्रेसमा फर्किनु भएको छ । पराजुलीलाई कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीमा कांग्रेसमा हालै प्रवेश गराउनु भएको हो । कांग्रेस सभापति थापासँगको भेटपछि पराजुलीले ‘समय क्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरूले मलाई गम्भीर रूपमा सोच्न बाध्य बनायो । हामीले जुन उद्देश्य, मूल्य र आदर्शका साथ पार्टीलाई बुझेका थियौं, व्यवहारमा त्यसको ठीक विपरीत अवस्था विकसित हुँदै गएको महसुस भयो,’ पराजुलीले भने, ‘सीमित व्यक्तिहरूको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको अवस्थाले निराश बनायो ।’ मनहरी गाउँपालिका घर भएका पराजुली ६ मंसिर २०८१ मा भएको पार्टीको पहिलो जिल्ला भेलाबाट सर्वसम्मत रुपमा पुनः सभापति चयन हुनु भएको थियो ।
पराजुली २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नु भएको थियो । पराजुलीले १२ हजार ३९ मत ल्याएर तेस्रो बन्नु परेको थियो । यस क्षेत्रबाट नेकपा (एमाले) का महेश बर्तौला ३४,९१६ मत ल्याउँदै विजयी हुँदा कांग्रेसको समेत समर्थनमा तात्कालीन नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले ३०,३९६ मत पाउनु भएको थियो । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुने तयारीमा रहनु भएका पराजुलीलाई रास्वपाले टिकट नदिएको बताइएको छ ।
यसैबीच पराजुलीको कांग्रेसमा फिर्तीले कांग्रेस मकवानपुरमा उत्साह थपेको बताइएको छ ।
यसैगरी रास्वपाका बागमती सभापति दिनेश हुमागाइँ सर्लाही पुगेर कांग्रेसमा प्रवेश गर्नु भएको छ । यसअघि काभ्रेपलाञ्चोकमा रास्वपाबाट उम्मेदवार बनी १० हजारभन्दा बढी मत ल्याउनु भएका हुमागाइँले कांग्रेसका सभापति गगन थापाबाट सदस्यता लिनु भएको हो । उहाँ अहिले काभ्रेपलाञ्चोक जिल्लामा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन लागिपर्नु भएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *