कौशल कुमार भट्टराई
हामी नेपाली सानैदेखि आफ्नो देशलाई प्रकृतिले धन्य भएको देश भनेर गर्व गर्छौँ । हिमाल, पहाड, जंगल, नदी, हरियाली— सबैभन्दा सुन्दर प्राकृतिक दृश्य यहाँ पाइन्छ । आजको वास्तविकता हेर्दा त्यो सुन्दरता झल्झली मात्र छैन; हामीलाई धेरै गम्भीर चुनौतीका रूपमा पनि औंल्याइरहेको छ — हावा, पानी, फोहोर र वातावरणीय स्वास्थ्यका समस्याले ।
यी समस्या आजका दिनमा केवल सुस्त आलोचना गरे पुग्ने विषय होइन; हाम्रो जीवन, स्वास्थ्य, सामाजिक विकास र देशकै भविष्यसँग सम्बन्धित विषय बनेका छन् । यस्तो अवस्थामा देशको नेतृत्वमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भूमिकाले अत्यन्त महत्व राख्छ ।
वायु प्रदूषणको अवस्था
जब हामी बिहान घरको झ्याल खोलेर हेर्छौँ, धेरैजसो दिन धुँवा–धुलो र कुहिरो मिश्रित आकाश देखिन्छ । त्यो कुनै प्राकृतिक कुहिरो होइन—सहस्रौं सवारी साधन, निर्माणाधीन काम, खुला फोहोर र धुवाँले भरिएको हावा हो । विभिन्न अध्ययनले देखाएको तथ्यांकलाई हेर्ने हो भने काठमाडौं उपत्यकाको सानो कण (जसलाई हामी वैज्ञानिक रूपमा ‘एः२.५’ भन्छौँ) निकै उच्च रहेको पाइन्छ । त्यो कण हाम्रो फोक्सोमा सिधै प्रवेश गर्छ र बायु प्रदूषणसँग सम्बन्धित रोग, हृदय सम्बन्धी समस्या, श्वासप्रश्वास सम्बन्धी पीडा र दीर्घ स्वास्थ्य समस्या निम्त्याउँछ । यसले हजारौँ मानिसको स्वास्थ्यमा असर पु¥याइरहेको छ र हरेक वर्ष धेरै मानिसको ज्यानसमेत लिइरहेको छ ।
यो समस्या नेपालमा नयाँ होइन । वर्षौंदेखि हाम्रो हावा बिग्रँदै गएको छ, तर समाधानका उपायहरू कहिल्यै पर्याप्त र समयमै लागू भएका छैनन् । यसले स्पष्ट देखाउँछ—समस्या बुझ्ने क्षमता छ, तर त्यसलाई लागू गर्ने कार्यशैली कमजोर छ ।
नदीहरुको अवस्था
हामीले सानैदेखि बागमती जस्ता नदीको महत्त्व पढेका छौँ । धार्मिक एवम् सांस्कृतिक हिसाबले बागमती हाम्रो पहिचान हो । आजको बागमतीलाई हेर्दा त्यो पहिचान नै होइन कि जस्तो अवस्थामा पुगेको छ ।
यो नदीमा ढल, घरेलु फोहोर, प्लाष्टिक र विभिन्न कुरा मिसिएको छ । पानी दुषित बनेको छ र नदी किनारका बसोबासले थप समस्या सिर्जना गरेका छन् । बगिरहेको पानी नभएर फोहोर बगिरहेको दृश्यजस्तो देखिन थालेको छ ।
हाम्रो जीवनशैलीले नदीलाई प्रकृतिबाट प्राप्त निःशुल्क उपहार नभएर फोहोरको डंगुर बनाइदिएको छ । नदी सफा गर्ने प्रयासहरू समय–समयमा भएका छन्, तर ती प्रयास दीर्घकालीन र स्थायी समाधानतर्फ लैजान सक्ने खालका रहेनन् । यसले बताउँछ कि हामी समस्या मात्र देख्छौँ, समाधानलाई लाग्ने दृढता देखाउन सकिरहेका छैनौँ ।
समस्याको पहिचान
नेपालमा वातावरणसँग सम्बन्धित धेरै नीति, कानून र योजना बनेका छन् । धमाधम नीति निर्माण भइरहेका छन् । नीति मात्र बनाउनु पर्याप्त छैन; त्यसलाई मनदेखि लागू गर्न सक्नुपर्छ । उदाहरणका लागि कुनै नीति प्रभावकारी रूपमा लागू नभएमा अर्थहीन हुन्छ । नियम त हामीसँग छन्, तर त्यसमा कडाइ र नियमित अनुगमन कमजोर छ । विशेषगरी स्थानीय तहदेखि उच्च तहसम्म समन्वय र सहभागिता कमजोर छ । तथ्यांक संकलन र अनुसन्धान पर्याप्त नहुँदा समस्या पहिचानका आधार नै कमजोर हुन्छन् ।
यो सबै मिलेर आजको अवस्था आएको हो । नीति त कतै कागजमा छ, तर त्यो जीवनमा उतारिएको छैन ।
प्रधानमन्त्रीलाई अवसर र चुनौती
अब प्रश्न उठ्छ कि अब के गर्ने ? यो प्रश्न केवल सोच्ने विषय होइन; यो तत्काल र समग्र रूपमा समाधान खोज्ने विषय हो । प्रधानमन्त्री बालेन्द्र शाहले देशका सबै तह र सबै जनसमुदायसँग समन्वय गरी वातावरणीय समस्या हल गर्न सक्ने क्षमता र समय पाएको अवस्था छ । अब यो नेतृत्वभन्दा माथि उठेर, केवल शब्दमा नभएर कार्यमा परिणाम ल्याउने बेला हो । यसका लागि तल बुँदागत रुपमा उल्लेख गरिएका कुराहरुमा प्रधानमन्त्री बालेन्द्र तथा सरकारले ध्यान दिनु उचित ठानेको छु ।
१. वातावरण संरक्षणलाई प्राथमिकता दिनु
सबैभन्दा पहिलो सर्त हो कि यो विषयलाई केवल एउटा सरकारी कार्यक्रमको रूपमा होइन, जीवनको अपरिहार्य आवश्यकता भनेर हेरिनु पर्छ । वायु, पानी र माटो स्वच्छ राख्न नसक्ने देश उन्नत र स्वस्थ राष्ट्र बन्न सक्दैन । यसका लागि यी चार पक्षलाई प्राथमिकतामा राखेर काम गर्दा राम्रो हुन्छ । ती हुन् ः हावा स्वच्छ बनाउने, नदी तथा पानीको संरक्षण गर्ने, फोहोर व्यवस्थापन गर्ने र वातावरणसँग सम्बन्धित सार्वजनिक सचेतना जगाउने ।
२. वायु प्रदूषण कम गर्न ठोस कदम
वायु प्रदूषण कम गर्नका लागि आवश्यकता छ कि नियमित निरीक्षण, कडाइ र दिगो योजना अनुरुप अनुगमनको । यसैगरी सबै सवारी साधनले समयमै गुणस्तर जाँचबाट पार पाउनुपर्ने गरी अनिवार्य रुपमा नियम बनाई लागू गरिनु पर्ने हुन्छ । यसैगरी पुराना र अत्यधिक धुवाँ निस्कने गाडी सञ्चालनमा रोक लगाउनु पनि जरुरी छ । निर्माण क्षेत्रमा धुलो नियन्त्रणको नियम कडाईका साथ लागू गर्नुपर्ने देखिन्छ । औद्योगिक धुवाँ र धुलोलाई न्यून बनाउने विशेष योजना बनाइनु आवश्यक छ । यसैगरी अर्को महत्वपूर्ण कुरा भनेको सार्वजनिक यातायात सुधारेर हरेक नागरिकलाई सहज सेवा उपलब्ध गराइएमा त्यसले निजी सवारीको चाप घटाउने देखिन्छ ।
यी कदमहरू मात्रै लागू भएमा हामीले दैनिक रूपमा सास फेर्ने हावामा क्रमशः सुधार देख्न सक्नेछौँ ।
३. नदी संरक्षणको अभियान
बागमती मात्र होइन, देशभरका नदीहरूलाई जीवित बनाउने कार्यक्रम आवश्यक छ । यसका लागि नदी किनारका अवैध संरचना हटाउने, ढल तथा फोहोरलाई सिधै नदीमा जान नदिने जस्ता कार्य गरिनुपर्छ । यस्तै, प्रशोधन संयन्त्रहरू निर्माण गरी त्यसको अनुगमन गर्ने, स्थानीय समुदायलाई नदी संरक्षणमा सक्रिय सहभागी बनाउने जस्ता कार्यलाई निरन्तरता दिनुपर्ने हुन्छ । यी कदमहरूले मात्र नदीलाई जीवन्त बनाउने बाटो खुल्छ ।
४. फोहोर व्यवस्थापनलाई व्यवस्थित
शहर तथा गाउँ दुबै क्षेत्रमा फोहोर व्यवस्थापन निकै चुनौतीपूर्ण छ । आज धेरै ठाउँमा फोहोरलाई सडक, खाली जग्गा वा नदीमा फ्याँकिदिइन्छ । यसले न केवल दृश्य प्रदूषण फैलाउँछ; स्वास्थ्य र पानीको गुणस्तर माथि प्रत्यक्ष नकारात्मक असर पु¥याउँछ ।
त्यसैले फोहोर व्यवस्थापनलाई सफल बनाउन आवश्यक देखिन्छ । यसका लागि घर घरबाटै फोहोर छुट्याउने व्यवस्था अनिवार्य गर्ने, पुनःप्रयोग गर्न मिल्ने बस्तुहरू अलग राखिने नियम कडाइका साथ लागू गर्ने । यस्तै पुनप्र्रयोगका उद्योगलाई प्रवद्र्धन गर्ने, फोहोर प्रशोधन केन्द्रहरूलाई नियमित सञ्चालन गराउने जस्ता कुरालाई प्राथमिकतामा राखिनु पर्छ । जब फोहोरलाई व्यवस्थापन गर्न सकिन्छ, तब मात्र हामीले सार्वजनिक क्षेत्रमा सफाइ र स्वास्थ्य कायम राख्न सक्नेछौँ ।
५. वातावरण शिक्षा बढाउने
जनता सचेत नभएसम्म कुनै पनि नीति प्रभावकारी रूपमा लागू हुँदैन । विद्यालयदेखि लिएर समुदायसम्म वातावरणीय शिक्षा अनिवार्य हुनेछ । हरेक नागरिकले बुझ्नुपर्छ कि स्वच्छ वातावरण हाम्रो अधिकार मात्र होइन, हाम्रो कर्तव्य पनि हो ।
समुदाय, विद्यार्थी, महिलाहरू, युवा समूहहरू, स्थानीय तह सबैलाई सरोकारवालाको रूपमा सहभागी बनाइनेछ ।
६. सही तथ्यांक संग्रह र अनुसन्धान
उचित जानकारी र तथ्यांक बिना दिगो योजना बनाइरहन सकिँदैन । यसका लागि नियमित वायु‑गुणस्तर नाप्ने यन्त्रहरू देशभर विस्तार गरिनुपर्ने देखिन्छ । नदी, माटो र पानीको गुणस्तरबारे अनुगमन गरी सही तथ्यांकको संकलन गर्न सक्नुपर्ने हुन्छ । यसो गर्न सकिएमा यसले नीति निर्माणलाई अझ सुदृढ बनाउनेछ ।
विश्वबाट सिक्ने कुरा
हाम्रो देशभन्दा ठूला अर्थतन्त्र भएका राष्ट्रहरूले पनि वातावरण जोगाउन धेरै मेहनत गर्ने गरेका छन् । यसका लागि उनीहरूले नियम कडाइका साथ लागू गर्छन्, नागरिकलाई जिम्मेवार बनाउँछन् र जनभागीदारीलाई मुख्य ठान्ने गरेका छन् ।
नेपालसँग स्रोत, क्षमता र सुन्दरता छ । अब केवल अनुशासन, दृढता र निरन्तरता चाहिएको छ ।
अबको बाटो
नेपालको वातावरण मात्र नीतिमा सीमित रहेर ठीक हुने विषय होइन । यो हाम्रो स्वास्थ्य र भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो । हावा, पानी, सास–प्रश्वास, नदी र वातावरण— यी सबै हाम्रो दैनिक जीवनको हिस्सा हुन् । यदि हामीले आज वातावरणीय चुनौतीलाई सक्रिय रूपमा स्वीकार्य भएर समाधानतर्फ लागेनौँ भने भोलि हाम्रो स्वास्थ्य, हाम्रो सन्तान र हाम्रो देशको समग्र विकास नै जोखिममा पर्छ ।
प्रधानमन्त्री बालेन्द्र शाहसँग शक्तिशाली नेतृत्व क्षमता छ, समय छ र जनताको अपेक्षा छ । अब आवश्यक छ—कुरा भन्दा काम ।
हामी प्रकृतिसँग कर्तव्यपूर्वक मिलेर अघि बढ्ने कि केवल शब्दमा मात्र वातावरणको संरक्षणको कुरा गर्ने ? यो प्रश्नको उत्तरले नै हाम्रो देशको भविष्य निर्माण गर्नेछ ।
