रोषन काफ्ले
शेयर बजार केवल अंकहरूको उतारचढाव होइन; यो अर्थतन्त्रको नाडी हो । यसले देशको वर्तमान अवस्था मात्र होइन, भविष्यप्रतिको आशा र आशंका पनि बोलिरहेको हुन्छ । विश्वका विकसित राष्ट्रहरूमा शेयर बजार आर्थिक विस्तारको प्रमुख आधार बनेको छ भने नेपालमा यो अझै सिकाइ र सम्भावनाको चरणमा छ । यही फरक यथार्थभित्र दुवै बजारबीचको तुलना गर्दा गहिरो अन्तर मात्र होइन, सिक्न सकिने मार्ग पनि प्रस्ट देखिन्छ ।
विश्व शेयर बजारलाई हेर्दा, त्यहाँको पहिलो झलक नै स्थिरता भित्रको गतिशीलता हो । बजार दिनदिनै माथि–तल भइरहन्छ, तर त्यो उतारचढाव अनियमित हुँदैन; त्यसका पछाडि ठूला कारणहरू हुन्छन् । कुनै देशमा युद्धको संकेत देखियो भने लगानीकर्ता सुरक्षित क्षेत्रतर्फ सर्छन्, केन्द्रीय बैंकले ब्याजदर बढायो भने पूँजीको दिशा परिवर्तन हुन्छ । ठूला कम्पनीले नाफा घटायो भने सूचकमा असर पर्छ । यसरी विश्व बजारमा प्रत्येक चाल अर्थतन्त्रका गहिरा संकेतसँग जोडिएका हुन्छन् ।
त्यहाँ लगानी गर्ने तरिका पनि फरक छन् । अधिकांश लगानी दीर्घकालीन सोचका साथ गरिन्छ । पेन्सन फन्ड, म्युचुअल फन्ड, बीमा कम्पनीजस्ता संस्थाहरूले बजारलाई दिशा दिन्छन् । उनीहरू कुनै हल्ला वा क्षणिक उत्साहमा होइन, वर्षौँको योजना, तथ्यांक र विश्लेषणका आधारमा निर्णय गर्छन् । यही कारणले गर्दा, विश्व बजार कहिलेकाहीँ ठूलो झट्का खाए पनि पुनः उठ्न सक्ने क्षमता राख्छ ।
अब नेपालको सन्दर्भमा प्रवेश गर्दा, चित्र अलि फरक देखिन्छ । यहाँको शेयर बजार अझै संवेदनशील र सीमित संरचना भित्र चलिरहेको छ । बजारको आकार सानो छ, क्षेत्रगत विविधता कम छ, र लगानीकर्ताको आधार मुख्यतः व्यक्तिगत (चभतबष्)ि छ । यसले गर्दा बजारमा स्थायित्वभन्दा बढी उतारचढाव देखिन्छ ।
नेपालमा बजार बढ्ने वा घट्ने प्रमुख कारण हेर्दा, एउटा शब्दमा भन्नुपर्दा तरलता हो । बैंकको ब्याजदर घट्यो भने पैसा शेयर बजारमा पस्छ र सूचक बढ्छ । यसैगरी ब्याजदर बढ्यो भने पैसा बाहिरिन्छ र बजार घट्छ । यसबाहेक, केन्द्रीय बैंकका नीतिहरू, मार्जिन लोनका नियम, रेमिट्यान्सको प्रवाह र राजनीतिक अवस्थाले पनि बजारलाई प्रत्यक्ष असर गर्छ ।
नेपालमा सबैभन्दा फरक पक्ष भनेको लगानीकर्ताको मनोविज्ञान हो । यहाँ धेरैजसो लगानीकर्ताहरू छोटो समयमा नाफा कमाउने उद्देश्यले बजारमा प्रवेश गर्छन् । “आज किनेर भोलि बेच्ने” प्रवृत्ति हावी छ । सामाजिक सञ्जाल, साथीभाइको सल्लाह वा बजारको हल्लाले निर्णयहरू प्रभावित हुन्छन् । यसले बजारलाई अस्थिर बनाउँछ ।
यदि विश्व र नेपालको बजारलाई सँगसँगै राखेर हेर्ने हो भने, मुख्य भिन्नता तीन तहमा देखिन्छ—संरचना, सोच र प्रणाली ।
संरचनामा विश्व बजार फराकिलो छ, नेपाल सानो । यसैगरी सोचमा विश्व दीर्घकालीन छ, नेपाल अल्पकालीन । यस्तै, प्रणालीमा विश्व व्यवस्थित छ, नेपाल विकासोन्मुख ।
यही तुलना निराशाजनक मात्र होइन, प्रेरणादायी पनि हो । जहाँ कमजोरी देखिन्छ, त्यहीँ सुधारको अवसर लुकेको हुन्छ ।
नेपालको शेयर बजारलाई सुदृढ बनाउन पहिलो आवश्यकता हो विश्वासनिर्माण गर्न सक्नु । विश्वास बिना बजार केवल सट्टेबाजीको मैदान बन्छ । त्यसका लागि पहिलो पारदर्शिता बढाउनुपर्छ, सूचनाको पहुँच सहज बनाउनुपर्छ र नियामक निकायलाई अझ प्रभावकारी बनाउनुपर्छ ।
दोस्रो, संस्थागत लगानीकर्ताको भूमिका बढाउनुपर्छ । जब ठूला र दीर्घकालीन सोच भएका लगानीकर्ता बजारमा सक्रिय हुन्छन्, तब बजार स्थिर र विश्वासयोग्य बन्छ ।
तेस्रो, लगानी संस्कार परिवर्तन आवश्यक छ । छिटो नाफाभन्दा दीर्घकालीन मूल्य सिर्जनामा केन्द्रित सोच विकास गर्नुपर्छ । यसका लागि वित्तीय साक्षरता अत्यन्त जरुरी छ ।
चौथो, बजारको दायरा विस्तार गर्नुपर्छ । अहिले सीमित क्षेत्रमा केन्द्रित बजारलाई उत्पादन, प्रविधि, कृषि र नवप्रवर्तनशील उद्योगतर्फ विस्तार गर्न सकियो भने बजारको आधार बलियो बन्नेछ ।
विश्व र नेपालको शेयर बजारबीचको अन्तर केवल दूरी होइन, एउटा यात्रा हो— जहाँ नेपाल अझै अघि बढ्दैछ । विश्वले देखाएको बाटो स्पष्ट छः अनुशासन, पारदर्शिता र दीर्घकालीन सोच ।
यदि नेपालले यी मूल सिद्धान्तहरूलाई आत्मसात गर्न सके, भने यसको शेयर बजार केवल कारोबारको ठाउँ मात्र होइन, आर्थिक रूपान्तरणको सशक्त माध्यम बन्न सक्छ । शेयर बजार भनेको केवल पैसा कमाउने साधन होइन—यो विश्वासको कथा हो । जहाँ विश्वास बलियो हुन्छ, त्यहाँ भविष्य पनि उज्यालो हुन्छ ।
