कौशल कुमार भट्टराई
पाल्पाको पहाडी गाउँमा बिहानको घाम ढल्कँदै गर्दा आँगनभरि धुवाँको गन्ध मिसिएको हुन्थ्यो । त्यही आँगनमा विन्दा आमा चुलो अगाडि बसेर भात पकाउँदै हुन्थिन् र छेउमै सानो जनकप्रसाद उनको ओढ्नेको किनार समातेर उभिएको हुन्थ्यो । जनकप्रसादका बुबा रामप्रसाद बितेको दिनदेखि नै त्यो घरमा दुःखले स्थायी बास बसिसकेको थियो ।
“बाबु, पढ्नुपर्छ है तिमीले,” विन्दाले सधैं भन्थिन्, “म तिमीलाई जे जस्तो भए पनि पढाउँछु ।”
जनकप्रसादले टाउको हल्लाउँथ्यो । उसलाई थाहा थियो—आमाको दुःखको ऋण उसले कहिल्यै तिर्न सक्दैन । समय बग्दै गयो। जनकप्रसाद जवान भयो, अनि जीवनको खोजीमा भारततिर लाग्यो । गाउँमा आमालाई छाडेर जानुपर्दा मन भारी थियो, तर बाध्यता थियो । वर्षमा एक–दुई पटक घर फर्किँदा उसको आँखामा सधैं एउटै चाहना हुन्थ्यो—शान्ति ।
त्यो शान्ति घरको आँगनले कहिल्यै पाउन सकेन । कमला, उसकी पत्नी, घर सम्हालिरहेकी हुन्थिन् । दुई छोरा—प्रकाश र दीपेश—उनकै वरिपरि खेल्थे । उता, सासू विन्दा र बुहारी कमलाबीच सधैं स–सानो कुरामा ठाकठुक भइरहन्थ्यो ।
“तँ काम गर्न जान्दिनस्, एकरत्ति ढंग छैन ।,” विन्दाले एक दिन कराउँदै भनिन् ।
कमलाले रिसाएर जवाफ दिई, “आमा, म दिनभरि के गर्दैछु त? तपाईँले कहिल्यै राम्रो देख्नुहुन्न ।”
जनकप्रसाद त्यस्ता दृश्य देखेर चुपचाप बसिरहन्थ्यो । ऊ आमाको कुरा काट्न सक्दैनथ्यो, तर पत्नीको पीडा पनि देख्थ्यो ।
एक रात, कमलाले बिस्तारै भनिन्, “म यसरी बस्न सक्दिनँ अब । म आफ्नै खुट्टामा उभिन चाहन्छु ।” जनकप्रसाद चुप लाग्यो । केही बोल्न सकेन । कमलाले कि आपूmसँगै शहरतिर जान कि त आफूलाई जान दिन भनिरहिन् । कमलाको कुरा सुनेर पनि जनकप्रसाद पत्नीसँगै शहर जाने पक्षमा थिएनन् । केही दिनपछि कमला आफ्ना दुई साना छोरालाई गाउँमै छाडेर पोखरा लागिन् —काम गरेर बाँच्ने अठोटका साथ ।
घर अझ सुनसान भयो । विन्दाको मनमा अर्को योजना पलाउँदै थियो ।
“बाबु,” उनले एक दिन जनकप्रसादलाई भनिन्, “तिमीले फेरि बिहे गर । घर सम्हाल्ने मान्छे चाहियो ।”
जनकप्रसाद अलमलमा प¥यो । “आमा, कमला…?”
“त्यो आफ्नो बाटो लागिसकी,” विन्दाले कठोर श्वरमा भनिन्, “अब तिमीले आफ्नो भविष्य सोच ।”
आमाको आग्रहलाई नकार्न नसक्ने जनकप्रसादले अन्ततः अर्को गाउँकी चन्दासँग विवाह ग¥यो । विवाहअघि एउटा सहमति भयो—“प्रकाश र दीपेश नै हाम्रा सन्तान हुन्, अरु सन्तान जन्माउने छैनौं ।”
चन्दा घर भित्रिएपछि आश्चर्यजनक रूपमा सबै कुरा बदलिन थाल्यो । उनले दुई साना बालकलाई आफ्नो सन्तानझैं माया गरिन् ।
“आमा,” सानो दीपेशले एक दिन सोध्यो, “तिमी हाम्रो साँच्चिकै आमा हो ?”
चन्दाले उसलाई काखमा तानेर भनिन्, “म तिमीहरूको माया गर्ने आमा हुँ, बस् त्यही काफी हो ।”
प्रकाश चुपचाप त्यो दृश्य हेरिरहन्थ्यो । उसको मनमा कमलाको अनुहार कहिल्यै मेटिएको थिएन, तर चन्दाको माया पनि नकार्न सक्दैनथ्यो ।
वर्षहरू बिते । प्रकाश र दीपेश पढे, हुर्किए र अन्ततः विवाह पनि भए । चन्दाले आफ्ना वाचा निभाइन् —उनीहरूले कहिल्यै आफूलाई सौतेनी आमा भएको अनुभूति गर्न दिइनन् ।
समयले फेरि अर्को मोड लियो । जनकप्रसाद र चन्दा काठमाडौं सरे । त्यहाँ पुगेर एउटा पुरानो प्रश्न फेरि उठ्यो—वैधानिकताको ।
“ए हजूर !,” चन्दाले एकदिन चिन्तित स्वरमा भनिन्, “हाम्रो बिहे दर्ता भएको छैन । पछि समस्या होला कि ?”
जनकप्रसाद गम्भीर भयो । “पहिले कमलासँग सम्बन्ध विच्छेद गर्नुपर्छ,” उसले भन्यो । कानूनी रुपमा सम्बन्धविच्छेद नभई अर्को विवाह गर्न वैध नमानिने कुरामा जनकप्रसाद सजग थियो ।
यो कुरा प्रकाश र दीपेशसम्म पुग्यो । उनीहरूले पहिलो पटक आफ्नो जन्मदिने आमा कमलाको खोजी शुरु गरे । पोखराको एक सानो कोठामा उनीहरूले कमलालाई भेटे । समयले उनको अनुहारमा रेखा कोरेको थियो तर आँखामा उस्तै ममता थियो ।
“आमा…” प्रकाशको श्वर काँप्यो ।
कमला चकित भइन् । “प्रकाश !, दीपेश !”
तीनैजना अँगालोमा बेरिए ।
“हामीलाई तपाईँसँग कुरा गर्नु छ,” दीपेशले भन्यो ।
जनकप्रसादको अवस्था, कानूनी समस्या—सबै कुरा कमलालाई सुनाइयो । केही क्षण उनी मौन रहिन् ।
“ठीक छ,” उनले अन्ततः भनिन्, “म सम्बन्धविच्छेद गर्न तयार छु । तिमीहरुका बाउले अर्को विहे नै गरिसके भने मैले किन बाँधिदिनु ?”
त्यो दिन एउटा अध्याय सकियो र अर्को शुरु भयो । जनकप्रसाद र चन्दाको विवाह दर्ता भयो । चन्दाको मनमा शान्ति आयो ।
प्रकाश र दीपेशको मनमा अर्को चिन्ता पलायो आमा कमलाको बारेमा ।
“आमा अब एक्लै बस्नु हुँदैन,” प्रकाशले भन्यो ।
“तपाईँले पनि आफ्नो जीवन सोच्नुपर्छ,” दीपेशले थप्यो ।
पहिले त कमलाले इन्कार गरिन् । “मेरो उमेरमा फेरि बिहे ?” आफू ५२ वर्षमा लागेको सम्झाउँदै कमलाले भनिन्, ‘‘यत्तिका वर्ष त यस्तै बसें भने बाँकी जीवन पनि यसैगरी विताउनेछु ।’’
छोराहरूको आग्रहले अन्ततः उनको मन बदलियो ।
त्यही क्रममा चक्रसँग उनको भेट भयो । चक्र भारतीय सेनामा कार्यरत एक नेपाली थिए । उनकी पत्नी बितिसकेकी थिइन् । दुवैको पीडा उस्तै थियो एक्लोपन ।
“हामीले बाँकी जीवन सँगै बिताउन सक्छौं,” चक्रले शान्त श्वरमा भने ।
कमलाले केही क्षण सोचिन्, अनि हल्का मुस्कान दिइन् ।
विवाहको दिन, प्रकाश र दीपेश आफैं अगाडि बढे ।
“आज हामी आमालाई विदा गर्दैछौं, तर खुशीसाथ,” प्रकाशले भन्यो ।
कमलाको आँखाबाट आँसु झरिरहे, तर त्यो पीडाको होइन सन्तोषको थियो ।
वर्षौँपछि, सबै आ–आफ्नो ठाउँमा छन् । कमला र चक्र भारतमा छन्, सँगै नयाँ जीवन बाँच्दै । काठमाडौंमा जनकप्रसाद, चन्दा र विन्दा शान्तिपूर्वक बसिरहेका छन् । प्रकाश र दीपेश पनि आफ्ना परिवारसँग व्यस्त छन् ।
यसैबीचमा विन्दा एक्कासी विरामी परिन् । उनलाई काठमाडौं वीर अस्पतालमा भर्ना गरियो । उमेर तथा रोगका कारण उनको स्वास्थ्यस्थिति झन झन जटिल हुँदै गयो । खाना पनि रुच्न छोड्यो । विस्तारै उनको अवस्था गल्दै गएको चिकित्सकहरुले बताउन थाले ।
त्यसबीचमा विन्दालाई भेट्न धेरैजना आए । विन्दा विस्तारै नियाल्दै हेर्थिन आएका अनुहारमा । उनको अनुहारमा झल्किन्थ्यो कि उनले खोजी रहेको मानिस आएको थिएन । त्यसबीचमा एक दिन छोरा जनकप्रसादलाई अस्पतालकै शैयामा विन्दाले सासको श्वरमा भनिन्, ‘सबै आए, त्यो कमला आइन । कहाँ छे त्यो ?’’ मृत्युशैयामा रहेकी आमाले पहिलेकी बुहारी कमलालाई खोजेको सुनेर जनकप्रसाद अक्क न बक्क भए ।
उनले कान्छो छोरा दीपेशलाई भने, ‘आमाले त तिमीहरुकी आमा कमलालाई खोजी रहनु भएको छ । आमाको समय धेरै छैन रे डाक्डरसाबले भनेको ।’’
फेरि खासै सम्पर्कमा नरहेकी आमा कमलाको खोजीमा प्रकाश र दीपेश केन्द्रित भए । विभिन्न व्यक्ति तथा फोन सम्पर्कबाट कमलासँग उनीहरु सम्पर्कमा पुगे । विन्दा विरामी परेको तथा भेट्न खोजी रहेको भनी जानकारी गराए ।
अवस्था सुनेपछि कमलाले चक्रलाई सल्लाह गर्दै भनिन्, ‘‘ प्रकाश र दीपेशकी हजूरआमाको अवस्था गम्भीर छ रे । अहिले मेरो नाम मात्र लिइरहेकी छिन् रे बुढीले । के गर्ने ? भेट्न जाने हो त ?’’
चक्रले पनि सही जनाउँदै भने, ‘बुढीलाई आफूले पहिले गल्ती गरेको याद आयो होला । अन्तिम अवस्था हो भने भेटौ न त गएर ।’’
कमला र चक्र सिधै काठमाडौं आए । अस्पतालको शैयामा विन्दा कमलाको आगमनलाई पर्खिएर बसेकी थिइन् । उनले कमलातिर हेरेर बिस्तारै भनिन्, “मबाट गल्ती भयो होला, माफ गरिदेऊ ।”
कमलाले मुस्कुराउँदै उत्तर दिइन्, “सबै कुरा समयले सिकाउँछ आमा ।”
त्यो दिन, वर्षौँदेखिको दूरी पग्लियो । जीवनले उनीहरूलाई छुट्टायो, फेरि जोड्यो । कमलाको आगमन भएको केही घन्टामै विन्दा अचेत भइन् । फेरि उनमा चेत आएन । उनले देहत्याग गरिन् ।
‘परिवार केवल रगतको नाताले होइन, समझदारी, क्षमा र मायाले बन्दो रहेछ ।’ भन्ने वाक्य राख्दै चक्र र कमला फेरि भारततिर फर्किने तयारीमा लागे । उता, जनकप्रसाद आफ्ना परिवारजनसहित भएर आमा विन्दाको अन्त्येष्ठीको तयारीमा जुटे ।
