निर्विरोध निर्वाचित, उम्मेदवार नै पाइएनन्

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर l आसन्न स्थानीय तहको निर्वाचनबाट प्रतिनिधि चुनिएर आउनका लागि रस्साकस्सी चलिरहेको बेलामा कतिपय स्थानका निर्विरोध निर्वाचित भएको अवस्था छ । अझ देशको राजधानी काठमाडौं लगायतका ठाउँमा समेत निर्विरोध निर्वाचित भएका समाचारहरु आएका छन् । अझ कतिपय स्थानहरुमा त उम्मेदवारी नै नपरेको अवस्था आएको छ । खासगरी दलित कोटामा उम्मेदवारी नपरेको तथा निर्विरोध हुनेमा पनि सोही कोटा नै परेको बताइएको छ ।

भक्तपुरको केही पालिकाका वडाहरुमा दलित कोटाबाट निर्विरोध निर्वाचित भएको अवस्था छ । यसैगरी ताप्लेजुङमा १० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता भएसँगै ती १० जना निर्विरोध भएका निर्वाचन आयोगले जनाएको छ ।

फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित १० जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । यसरी निर्विरोध निर्वाचित हुनेहरुमा नेपाली कांग्रेसबाट तीन जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यता, काठमाडौँ महानगरमा चारजना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा नं. १८, २२, २३ र २७ गरी चारवटा वडाबाट दलित महिला सदस्य पदमा १–१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएको आयोगले जनाएको छ । यसरी निर्वाचित हुनु हुनेमा वडा नं. १८ की अम्बिका सुनार, २२ की गीता परियार, २३ की कञ्चना नेपाली (हरिजन) र २७ की प्रभा परियार हुन् ।

यस्तै, वडा नं.१८, २२ र २७ मा नेकपा (एमाले) बाट मात्र उम्मेदवारी परेको थियो भने वडा २३ बाट नेपाली कांग्रेसबाट मात्र उम्मेदवारी परेको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *