आधुनिक नेपालको अधुरो सपना– ट्रली बस

Nayabimarsha (Weekly Newspaper from Nepal)
सूर्य जवेगु

काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको इतिहासमा “ट्रली बस” केवल एउटा सवारी साधन मात्र थिएन । त्यो आधुनिक नेपालको विकास यात्राको प्रतीक थियो । बिजुलीबाट चल्ने, धुवाँ नफाल्ने र अपेक्षाकृत शान्त सार्वजनिक यातायातका रूपमा ट्रली बस कुनै समय काठमाडौंवासीका लागि आकर्षणको केन्द्र बनेको थियो । आज काठमाडौं उपत्यका प्रदूषण, ट्राफिक जाम र अव्यवस्थित सार्वजनिक यातायातको समस्याले थिचिएको अवस्थामा फेरि ट्रली बसको चर्चा हुन थालेको छ । अझ वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमा आगामी आर्थिक वर्ष २०९२÷०९३ सम्म काठमाडौं उपत्यकामा पुनः ट्रली बस सञ्चालन गर्ने योजना उल्लेख भएपछि यो विषयले नयाँ बहस जन्माएको छ ।
नेपालमा ट्रली बस सञ्चालन गर्ने अवधारणा तात्कालीन राजा महेन्द्र वीर विक्रम शाहको शासनकालमै अघि बढाइएको थियो । २०२० को दशकमा काठमाडौं उपत्यकाको बढ्दो शहरीकरणसँगै आधुनिक सार्वजनिक यातायातको आवश्यकता महसुस गरिएको थियो । त्यतिबेला विश्वका विभिन्न शहरहरूमा विद्युतीय ट्रली बस लोकप्रिय हुँदै गएका थिए । नेपालले पनि धुवाँरहित तथा सस्तो सार्वजनिक यातायातको माध्यमका रूपमा ट्रली बस रोज्ने निर्णय ग¥यो ।
यस परियोजनामा विशेष योगदान जनवादी गणतन्त्र चीनको थियो । चीन सरकारले नेपाललाई ट्रली बस, आवश्यक प्रविधि र प्राविधिक सहयोग उपलब्ध गराएको थियो । नेपाल–चीन मित्रताको प्रतीकका रूपमा समेत यो परियोजनालाई हेरिन्थ्यो ।
राजा महेन्द्रको अवधारणालाई राजा वीरेन्द्र वीर विक्रम शाहको शासनकालमा व्यवहारमा उतारियो । अन्ततः वि.सं. २०३२ सालतिर काठमाडौंमा औपचारिक रूपमा ट्रली बस सेवा सञ्चालनमा आयो । प्रारम्भिक चरणमा करिब २२ वटा ट्रली बस सञ्चालनमा ल्याइएको उल्लेख पाइन्छ । पछि थप १० वटा ट्रली बस चीनबाट सहयोगस्वरूप ल्याइएपछि यसको संख्या अझ बढेको थियो ।
ट्रली बसको मुख्य रुट काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरको सूर्यविनायकसम्म थियो । करिब १३ किलोमिटर लामो यो मार्ग त्यस समय काठमाडौं उपत्यकाको महत्वपूर्ण शहरी यातायात करिडोर मानिन्थ्यो । पछि केही समयका लागि त्रिपुरेश्वर–सूर्यविनायकसँगै त्रिपुरेश्वर–कोटेश्वर क्षेत्रसम्म पनि सेवा विस्तार गरिएको थियो । सडक माथि तानिएका विद्युतीय तारमार्फत बसहरूले विद्युत आपूर्ति लिने गर्थे । काठमाडौंका सडकमा माथि दुईवटा लामो डन्डी जोडेर गुड्ने ती बसहरू त्यस समयका लागि आधुनिक प्रविधिको उदाहरणजस्तै थिए ।
ट्रली बस सञ्चालनका लागि छुट्टै प्रशासनिक संरचना पनि बनाइएको थियो । त्यतिबेला यस सेवामा चालक, सहचालक, प्राविधिक, विद्युत लाइन मर्मत कर्मचारी, प्रशासनिक कर्मचारी लगायत गरी सयौँ कर्मचारी कार्यरत रहेको उल्लेख पाइन्छ । विभिन्न समयमा कर्मचारी संख्या घटबढ भए पनि करिब २०० देखि ३०० जनासम्म कर्मचारी यस संस्थानसँग आवद्ध रहेको बताइन्छ ।
ट्रली बस त्यस समय विद्यार्थी, कर्मचारी तथा सर्वसाधारणका लागि लोकप्रिय सार्वजनिक यातायात बन्दै गएको थियो । डिजेल वा पेट्रोलबाट चल्ने बसको तुलनामा यसले धुवाँ नफाल्ने भएकाले वातावरणमैत्री यातायातका रूपमा यसको प्रशंसा हुन्थ्यो । काठमाडौं उपत्यकामा आजजस्तो वायु प्रदूषणको संकट नभए पनि ट्रली बसलाई भविष्यको आधुनिक यातायातको नमूनाका रूपमा प्रस्तुत गरिएको थियो ।
नेपालका धेरै सरकारी परियोजनाहरूजस्तै ट्रली बस पनि दीर्घकालीन रूपमा टिक्न सकेन । यसको पतन क्रमशः शुरु भयो । व्यवस्थापन कमजोरी, राजनीतिक हस्तक्षेप, आर्थिक अभाव र सरकारी उदासीनता यसको प्रमुख कारण बने । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि सरकारी संस्थानहरूमा राजनीतिक भागबण्डा र हस्तक्षेप बढ्दै गएको आरोप लाग्ने गरेको थियो । ट्रली बस सेवा पनि त्यसबाट प्रभावित भयो । आवश्यक स्पेयर पाट्र्स समयमै ल्याइएन । पुराना बसहरूको नियमित मर्मत हुन सकेन । प्राविधिक दक्ष जनशक्ति अभाव बढ्दै गयो ।
अर्कोतर्फ काठमाडौं उपत्यकामा निजी सार्वजनिक यातायात व्यवसाय तीव्र रूपमा फैलियो । माइक्रोबस, मिनीबस र निजी बसहरूले सडक कब्जा गर्न थाले । ट्रली बस निश्चित तारमा मात्र चल्न सक्ने भएकाले लचिलो सेवा दिन कठिन भयो । सडक विस्तार तथा अव्यवस्थित शहरीकरणका कारण माथिका विद्युत लाइनहरू व्यवस्थापन गर्न पनि समस्या बढ्दै गयो ।
नेपाल विद्युत प्राधिकरणसँगको समन्वय, विद्युत आपूर्तिको समस्या तथा बारम्बार हुने प्राविधिक खराबीले सेवा अविश्वसनीय बन्दै गयो । कहिले बस बिग्रने, कहिले लाइनमा समस्या आउने, कहिले विद्युत अवरोध हुने समस्या दोहोरिन थाले । परिणामतः यात्रुहरूको विश्वास क्रमशः घट्दै गयो ।
ट्रली बस संस्थान आर्थिक रूपमा घाटामा जान थाल्यो । कर्मचारी तलब, मर्मत खर्च र सञ्चालन लागत धान्न कठिन बन्दै गयो । अन्ततः सेवा कहिले आंशिक रूपमा चल्ने, कहिले बन्द हुने अवस्थाबाट गुज्रँदै पूर्ण रूपमा बन्द भयो । बहुदलीय व्यवस्थापछिका सरकारहरूले यसलाई पुनर्जीवित गर्ने खास पहल गर्न सकेनन् ।
ट्रली बस बन्द भएसँगै काठमाडौंले स्वच्छ सार्वजनिक यातायातको एउटा महत्वपूर्ण विकल्प गुमायो । त्यसपछि डिजेल र पेट्रोलबाट चल्ने सवारी साधन तीव्र रूपमा बढे । आज काठमाडौं विश्वका प्रदूषित शहरहरूमध्ये एकका रूपमा चिनिन थालेको छ । धुवाँ, धुलो, सवारी जाम र अव्यवस्थित सार्वजनिक यातायातले उपत्यकावासीलाई दैनिक सास्ती दिइरहेको छ ।
यही कारण अहिले फेरि ट्रली बसको आवश्यकता महसुस हुन थालेको छ । विश्वका धेरै शहरहरूले विद्युतीय सार्वजनिक यातायातलाई पुनः प्राथमिकता दिइरहेका छन् । चीन, युरोप तथा अन्य विकसित देशहरूले ट्राम, ट्रली बस र इलेक्ट्रिक बस विस्तार गरिरहेका छन् । नेपालमा पनि विद्युतीय सवारी साधनप्रति आकर्षण बढ्दो छ ।
यस्तो अवस्थामा वर्तमान सरकारको १०० बुँदे कार्यसूचीमा काठमाडौंमा पुनः ट्रली बस सञ्चालन गर्ने योजना समावेश हुनु अर्थपूर्ण मानिएको छ । यदि यो योजना व्यवहारमा सफल भयो भने काठमाडौंको सार्वजनिक यातायात प्रणालीमा महत्वपूर्ण परिवर्तन आउन सक्छ । नेपालमा उत्पादन हुने जलविद्युत प्रयोग गरेर सार्वजनिक यातायात सञ्चालन गर्न सकिए इन्धन आयात घटाउने, वायु प्रदूषण कम गर्ने र दीर्घकालीन रूपमा सस्तो यातायात उपलब्ध गराउने सम्भावना बलियो बन्न सक्छ ।
ट्रली बसको इतिहासले एउटा महत्वपूर्ण पाठ पनि दिएको छ । केवल राम्रो योजना भएर पुग्दैन, त्यसलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सक्षम व्यवस्थापन, राजनीतिक प्रतिबद्धता, प्राविधिक तयारी र स्पष्ट शहरी यातायात नीति आवश्यक पर्छ । विगतमा यिनै कुराको अभावले ट्रली बस बन्द भएको थियो ।
नेपालमा ट्रली बसको इतिहास हेर्दा एउटा रोचक राजनीतिक चक्र पनि देखिन्छ । राजा महेन्द्रको विकास सोचबाट शुरु भएको परियोजना राजा वीरेन्द्रको समयमा सञ्चालनमा आयो, बहुदलीय व्यवस्थामा क्रमशः पतन भयो र अहिले गणतान्त्रिक व्यवस्थामा फेरि पुनर्जीवनको चर्चा भइरहेको छ ।
सायद कुनै दिन फेरि काठमाडौंका सडकमा माथि विद्युत तारमा जोडिएर शान्त रूपमा गुडिरहेका ट्रली बसहरू देख्न पाइयो भने त्यो केवल पुरानो इतिहासको पुनरागमन मात्र हुनेछैन, बरु नेपालले आफ्ना विगतका अनुभवबाट सिकेर भविष्यतर्फ अघि बढेको संकेत पनि हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *