तारा भट्टराई (नदिया)
जीवनका केही यात्राहरू केवल भौगोलिक दूरी मापन गरेर मात्रै समाप्त हुँदैनन् ती मनभित्र अझै गहिरो हुँदै जान्छन् । नवौँ अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) को सम्मेलनका लागि कोलोराडो पुग्ने मेरो यो यात्रा पनि त्यस्तै एउटा अविस्मरणीय साहित्यिक अनुभूति बन्यो जहाँ शब्दहरू मात्र होइन, सम्बन्धहरू पनि पुनर्लेखित भए ।
मे २२, २०२६ शुक्रबारका दिन सबेरै न्यूयोर्कबाट हामी तीनजना शकुन, लक्ष्मी र म कोलोराडोतर्फ उड्यौं । विमानको झ्यालबाट टाढिँदै गएको न्यूयोर्क शहरभन्दा बढी नयाँ भेटहरू, नयाँ अनुहारहरू र साहित्यिक उत्साहको हल्का तरंग मनभित्र चलिरहेको थियो । कोलोराडोमा पाइला टेक्दै गर्दा नै त्यहाँको खुला आकाश, चट्टानहरू र शान्त वातावरणले मलाई स्वागत गरेजस्तो लाग्यो । जसमा कुनै अनौठो आत्मीयता लुकेको थियो ।
भोलिपल्ट बिहान हामी होटेलमै रहेको सम्मेलन कक्षतर्फ लाग्यौं । हलमा पुग्दासम्म साहित्यकारहरूको चहलपहलले वातावरण पूर्ण रूपमा साहित्यिक बनिसकेको थियो । पुस्तक स्टलहरूमा सजिएका नयाँ पुराना कृतिहरू, लेखकहरूबीचको आत्मीय संवाद र भेटघाटले हललाई साहित्यमय र ठूलै उत्सवजस्तो बनाएको थियो ।
सम्मेलनको शुरुवात परिचयात्मक भेटघाटबाट भयो । देश विदेशबाट आउनुभएका वरिष्ठ साहित्यकार, सर्जक र साहित्यप्रेमीहरूसँग पहिलो भेटमै एउटा अनौठो आत्मीय नजिकपनको अनुभूति भयो । अपरिचित अनुहारहरू साहित्य र शब्दको साझा धागोले विस्तारै आफ्नाजस्ता लाग्न थाले । त्यतिबेला महसुस भयो साहित्य केवल लेख्ने वा पढ्ने विषय मात्र होइन रहेछ मानिसहरूलाई भावनात्मक रूपमा जोड्ने एउटा अदृश्य सेतु पनि रहेछ ।
दोस्रो दिन सम्मेलन अझ गहिरो, अर्थपूर्ण र आत्मस्पर्शी बन्यो । गुरु राजन शर्माद्वारा प्रस्तुत गरिएको “जीवन जिउने कला” सम्बन्धी विचार र योग केवल एउटा औपचारिक भाषणजस्तो लागेन कि त्यो त जीवनलाई फेरि एकपटक नयाँ दृष्टिले बुझ्ने अवसरजस्तै लाग्यो । उहाँका शब्दहरूमा धैर्य, चेतना, आत्मअनुशासन र सकारात्मक सोचको यस्तो संयोजन थियो कि जसले जीवनलाई हेर्ने मेरो दृष्टिकोणमै हल्का परिवर्तन ल्याइदियो । मानिस केवल समय बिताएर मात्रै बाँच्दैन, उसले आफ्नो सोच र चेतनाबाट जीवनलाई अर्थपूर्ण बनाउनुपर्छ भन्ने मलाई मनमा लाग्यो ।
त्यसपछि उद्घाटन सत्रमा की नोट वक्ताका रूपमा डा. ज्याक्लिन केरब्याकको प्रस्तुति भयो । उहाँले विश्व साहित्यका वर्तमान चुनौतीहरू, नेपाली साहित्यको सम्भावना तथा यसको अन्तर्राष्ट्रिय विस्तारबारे अत्यन्त गहिराइका साथ आफ्ना विचार राख्नुभयो । उहाँका प्रत्येक वाक्यले साहित्यको विश्वव्यापी यात्रालाई नयाँ कोणबाट हेर्न प्रेरित गरिरहेको थियो । प्रस्तुति समाप्त हुँदा हलमा केही क्षण विचार, अनुभूति र आत्ममन्थनले भरिएको गहिरो मौनता पनि छायो ।
“ऋभभिदचबतष्लन ल्भउबष् िीष्तभचबतगचभ ष्ल भ्लनष्किज” शीर्षकको छलफल सम्मेलनको एउटा प्रमुख आकर्षण बन्यो । डा. महेश पौड्याल, डा. तुलसी आचार्य र डा. संगीता स्वेच्छाका विचारहरूले नेपाली साहित्यको विश्वव्यापी यात्राबारे गर्व र आशा दुवै जगायो । कार्यक्रमलाई डा. टीका लम्साल र डा. खेम अर्यालले अत्यन्त संयमित र सन्तुलित ढंगले अगाडि बढाउनुभयो ।
सम्मेलन केवल विचार प्रस्तुतीको थलो मात्र थिएन, यो सिर्जनाको उत्सव पनि थियो । पुस्तक विमोचनदेखि कविता वाचनसम्मका प्रत्येक सत्रले साहित्यिक सुगन्ध छरेका थिए । विशेषतः कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभावका बीच साहित्यको वर्तमान र भविष्यबारे पनि गम्भीर बहस हुनुपथ्र्यो तर त्यो भएन । आज एआईले कविता, कथा, निबन्धदेखि उपन्यासका प्रारूपसम्म सिर्जना गर्न सक्ने अवस्थामा पुगेको छ तर शब्दहरूको संरचना र भावनाको गहिराइबीचको दूरी कसले पूरा गर्ने ? एआईले सिर्जना गर्न सक्छ, तर अनुभूति, जीवनका घाउ, स्मृति र मानवीय संवेदनाको मौलिक ताप भने अझै लेखककै मन बाट जन्मिन्छ । यही जिज्ञासा सम्मेलनमा सहभागीहरुको मनमा थियो ।
रविन शर्मा र लक्ष्मण न्यौपानेको संयोजनमा सम्पन्न पुस्तक विमोचन कार्यक्रमले नयाँ कृतिहरूलाई जीवन दियो । शकुन ज्ञवाली र पुष्पा खनालको सञ्चालनमा भएको कविता वाचन सत्रमा प्रत्येक कविता एउटा अलग्गै संसारजस्तै लाग्थ्यो । स्रोता गणहरु कहिले मौन बस्थे त कहिले तालीले पिटेर हल गुञ्जयमान बनाउथे ।
महेश्वर पन्त र हरिमाया अधिकारीको गजल प्रस्तुति त भावनाको अर्को तह थियो जहाँ शब्दहरू गीत बने र गीतहरू स्मृतिमा बस्ने अनुभूति बने । नन्द किशोर जोशीको देउडा गीतको बोल “झ्याम्म–झ्याम्म” मा नाच्दा नाच्दै बाह्र बजिसकेको थाहै भएन । अरु पनि थुप्रै सांस्कृतिक कार्यक्रमहरुले मेरो मन जित्यो ।
पूर्वाध्यक्ष गोवद्र्धन पूजाले वाचन गर्नु भएको “जीवनको रंग” शीर्षक कविता साहित्यकारहरूप्रति समर्पित श्रद्धा र सम्मानको सुन्दर अभिव्यक्ति थियो ।
तेस्रो दिन पूर्ण रूपमा म उपस्थित हुन नसके पनि साँझको सांस्कृतिक कार्यक्रमले दिनको कमी पूरा गरिदियो । साथी लक्ष्मी श्रेष्ठले “नवरत्न नारी पुरस्कार” प्राप्त गर्नु र साथी शकुनले मेरिल्याण्ड राज्यबाट नेपाली साहित्यमा योगदानका लागि सम्मान पाउनु मेरो लागि गर्व र खुशी दुवै थियो ।
मलाई लागेको सम्मेलनको सबैभन्दा मूल्यवान पक्ष भनेको सायद नयाँ मानिसहरूसँगको भेट नै थियो । होमनाथ सुवेदी, पदम विश्वकर्मा, राजु सिटौला, पुरु सुवेदी, लालगोपाल सुवेदी, गोवद्र्धन पूजा, सर्वज्ञ वाग्ले, राधेश्याम लेकाली, डा. तुलसी आचार्य, पशुपति घिमिरे, डा. नवराज लम्साल, निलम निहारिका, महेश्वर पन्त, सुदीप खनाल, किरण के.सी., भूपेन्द्र महत, सुरेन उप्रेती, तारा अधिकारी लगायत असंख्य साहित्यिक व्यक्तित्वहरूसँगको भेटले मेरो मनलाई समृद्ध बनायो ।
पत्रकार टीकाराम यात्री, राजन कुइँकेल, बबिता बस्नेत र नारायण श्रेष्ठलाई प्रत्यक्ष देख्दा टेलिभिजनको पर्दा र वास्तविकता बीचको दूरी हराएको अनुभूति भयो ।
उक्त कार्यक्रम राजु सिटौला र तारा अधिकारीले राम्रोसँग सञ्चालन गर्नुभएका कारणले पनि कार्यक्रम आनन्दमयी भएको थियो ।
सम्मेलनमा धेरै साहित्यिक व्यक्तित्वहरूसँग भेटघाट भयो, संवाद भयो, आत्मीयता पनि बढ्यो । पुस्तक आदानप्रदानका दृश्यहरू पनि देखिए । उपस्थित विद्वान्हरूले आफ्ना कृति उपहार दिए, शुभकामना साटासाट गरे । त्यही भीडमा म पनि थिएँ, अनेसास न्यूयोर्क च्याप्टरकी सक्रिय सदस्य, साहित्य र नाटक दुवै क्षेत्रमा निरन्तर साधना गरिरहेकी एक स्रष्टा । मेरो तन र मन दुवै प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणमै समर्पित छन् । सधैं आफ्ना सन्ततिले नेपाली भाषा नबिर्सून् भन्ने चिन्ता मनमा रहिरहन्छ ।
अनौठो के भयो भने, मेरो वरिपरि बसेका धेरैले पुस्तक पाए, तर मेरो हात भने खाली रह्यो । कसैले “तपाईं पनि लेख्नुहुन्छ ?” भनेर सोधेन । कसैले मेरो सिर्जनात्मक यात्राबारे चासो देखाएन । बाहिरबाट हेर्दा त्यो क्षण सामान्य देखिन्थ्यो होला, तर मेरो मन भित्र कतै एउटा मौन चिसोपनले छोएको अनुभूति भयो ।
त्यो क्षणमा मनमा अनेक प्रश्नहरू पनि उठे । सायद मेरो मेरो शान्त उपस्थितिले कतै कसैलाई “यसले के लेख्ली वा पढ्ली र ?” भन्ने पूर्वधारणा त बनाएको थिएन ? यस्ता प्रश्नहरूको उत्तर मसँग छैन । ती क्षणिक अनुभूतिहरूले मनलाई अवश्य छोएका छन् ।
मैले बुझेको एउटा कुरा के हो भने, साहित्यमा सबैभन्दा ठूलो उपहार पुस्तक मात्र होइन एकअर्काको सिर्जनाप्रतिको सम्मान, जिज्ञासा र स्वीकार्यता पनि हो । कहिलेकाहीँ उपेक्षाजस्तो लाग्ने यस्ता साना साना घटनाहरूले मन दुखाए पनि तिनले एउटा गहिरो सत्य सम्झाउँछन् । स्रष्टाको मूल्य तत्काल प्राप्त हुने ध्यान, प्रशंसा वा उपहारले होइन, उसको सिर्जनाको दीर्घ आयु र प्रभावले निर्धारण गर्छ ।
त्यसैले मैले त्यो खालीपनलाई मनभित्र राखेर पनि निराशाको कारण बनाइनँ । बरु केही पुस्तकहरू आफैं किनेर ल्याएँ । फर्कंदै गर्दा मनमा एउटै विचार आयो । कहिलेकाहीँ अरूले नदिएको सम्मानभन्दा आफूले ज्ञान, साहित्य र सिर्जनाप्रति देखाएको प्रेम नै ठूलो पुरस्कार हुँदो रहेछ ।
साहित्यको यात्रा अन्ततः प्राप्तिको होइन र निरन्तर लेखिरहन सक्ने धैर्य, विश्वास र समर्पणको यात्रा हो । आज कसैले नहेरेको आँखातर्फ भोलि पाठकहरूको संसारले हेर्न सक्छ र सायद स्रष्टालाई अगाडि बढाइरहने सबैभन्दा ठूलो शक्ति पनि यही आशा हो ।
तेस्रो दिन बिहान कार्यक्रमलाई केही समय छोडेर मनोज भाइसँग साइबर ट्रकमा डाउनटाउन बोल्डर र एस्टेस पार्क घुम्न जाने अवसर मिल्यो । प्राकृतिक सौन्दर्य, सफा वातावरण र पहाडी भू–दृश्यले त्यो यात्रालाई अझ स्मरणीय बनायो । फर्कने क्रममा शेर्पा रेस्टुरेन्टमा नेपाली खानाको स्वाद लिइयो, जसले परदेशमा पनि आफ्नै घरदेशको स्वाद र आत्मीयता महसुस गरायो ।
त्यसपछि ५८ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएका सफल व्यवसायी नारायण श्रेष्ठसँग उहाँको पसलमा भेटघाट गर्ने अवसर प्राप्त भयो । उहाँका प्रवासका अनुभव, संघर्ष र सफलताका कथाहरू सुन्नु आफैंमा निक्कै प्रेरणादायी रह्यो । साथी लक्ष्मीले त्यहाँबाट केही सम्झनाका उपहार सामग्री किनिन् । यात्राभरि साथीहरूको साथ, हाँसो, रमाइला संवाद र आत्मीयताले सम्बन्धहरूलाई अझ नजिक बनायो र ती क्षणहरू स्मृतिमा रहिरहने अमूल्य अनुभूति बने ।
चौथो दिन अनेसासको आयोजनामा हामी सबैले कोलोराडोका प्रसिद्ध स्थलहरू— च्भम च्यअपक एबचप बलम न्बचमभल या तजभ न्यमक र “नेपाली घर” अवलोकन गर्ने अवसर पायौँ । कोलोराडोमा बसोबास गर्ने नेपाली समुदायले निर्माण गरेको नेपाली घर देख्दा, प्रवासको लामो दूरीले पनि नेपालीपनलाई कमजोर पार्न नसकेको अनुभूति भयो । भाषा, संस्कृति र पहिचानप्रतिको लगावले परदेशमा पनि आफ्नो अस्तित्व कसरी जोगाइरहेको छ भन्ने कुरा त्यहाँ स्पष्ट देखिन्थ्यो । यद्यपि त्यही दिन आयोजित रक्तदान कार्यक्रमको वार्षिक साधारणसभासँग साहित्य सम्मेलनलाई जोडिएको प्रसंगले भने कताकता कार्यक्रमको मूल उद्देश्य र वातावरणबीच केही तालमेल नमिलेको अनुभूति गरायो । बसको यात्रामा सबैले अन्ताक्षरी खेले, कसैले मुक्तक सुनाए तर म र मेरो सिटमा संगै बस्ने साथी शकुन भने कहिले प्रकृति संग रमाउदै, कहिले बितेका पलहरु सम्झिदै कसैले नदेख्ने गरी आँशु पुछ्यौं ।
कोलोराडो बसाइको अन्तिम साँझ अनेसास बिओटी अध्यक्ष पदम विश्वकर्माको सुन्दर निवासमा आयोजित मिष्ठान्न रात्रिभोजले यात्रालाई झन् आत्मीय बनायो । साहित्य, मित्रता र आत्मीय संवादले भरिएको त्यो साँझ सम्मेलनको औपचारिक समापनभन्दा पनि पारिवारिक भेटघाटजस्तै लाग्यो । भोलिपल्ट बिहान उहाँ स्वयंले नीलम निहारिका, मलाई र शकुनलाई विमानस्थलसम्म पु¥याइदिनुभयो । त्यसपछि साथी लक्ष्मी श्रेष्ठ आफ्ना छोरा अनुजसँग क्यालिफोर्नियातर्फ लागिन् भने यात्राभरि हामीसँग रमाइरहनुभएका राजेन्द्र दाइ र इरीना भाउजू पनि अर्को विमानमार्फत न्यू जर्सी फर्किनुभयो ।
कोलोराडोका ती वर्षौंदेखि अडिग उभिएका एक्ला चट्टानहरूसँग मनको कुनै गहिरो मितेरी गाँसिएजस्तो लाग्यो । न्यूयोर्क फर्किँदा साथमा केवल केही तस्बिरहरू मात्र थिएनन् असंख्य सम्झनाहरू पनि थिए । अनेसास केन्द्रले प्रदान गरेको मायाको चिनो, साथीहरूको आत्मीयता, यात्राको थकानभित्र घुलिएको आनन्द र मनमा सधैँ जीवित रहने केही अनुपम क्षणहरू पनि थिए ।
र अन्त्यमा… घर फर्किएपछि विभिन्न तहका प्रतिक्रिया र गुनासाहरू पनि सार्वजनिक रूपमा सुन्न पाइए । विशेषगरी केही साहित्यकारहरूको उपस्थितिलाई लिएर र केही समाजमा स्थापित तथा सक्रिय स्रष्टाहरूलाई कार्यक्रममा स्थान नदिइएको विषयमा असन्तुष्टि व्यक्त गरिएको देखियो ।
यसै सन्दर्भमा उनीहरूको भनाइमा, निरन्तर लेखन र साधनामा सक्रिय रहेका तर संस्थागत सर्कलभन्दा बाहिर रहेका केही नामहरू दृश्यमा कम देखिनु वा पूर्ण रूपमा अनुपस्थित रहनु प्रश्नयोग्य विषय पनि हो ।
अर्कोतर्फ, मलाई लाग्छ आयोजक पक्षको दृष्टिकोणमा यस्ता सम्मेलनहरू सीमित समय, स्रोत र व्यवस्थापकीय संरचनाभित्र सञ्चालन गर्नुपर्ने हुन्छ, जसले सबै स्रष्टालाई समान रूपमा समेट्न व्यावहारिक चुनौती पनि थियो होला ।
ती सबै प्रतिक्रियाहरूका बीच एउटा कुरा भने स्पष्ट थियो । नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको प्रेमले नै सबैलाई जोडेको थियो । कसैले प्रशंसाका शब्द सुनाए, कसैले सुधारका सुझाव दिए, र कसैले आफ्ना मनका पीडाहरू पोखे । सायद यिनै फरक आवाजहरूको संगमबाट संस्थाहरू अझ परिपक्व बन्छन् र आगामी यात्राका लागि नयाँ बाटोहरू खोज्छन् ।
कोलोराडो यात्राबाट मलाई लाग्यो, कुनै पनि साहित्य केवल मञ्चमा बोलेका शब्दहरूमा सीमित हुँदैन, यो मानिसहरूका अनुभूति, अपेक्षा, असन्तुष्टि र आत्मीयतासँग पनि उत्तिकै जोडिएको हुनेरहेछ ।
भोलिपल्ट बिहान एक कप कफी हातमा लिएर ती सबै कुरा सम्झँदा, मनमा गुनासाभन्दा बढी कृतज्ञताको भावना जाग्यो किनकि अन्ततः यात्रा सकिएको थिएन यसले नयाँ चिन्तन, नयाँ सम्बन्ध र नयाँ लेखाइका लागि धेरै भन्दा धेरै सामग्री छोडेर गएको थियो । (साहित्यपाटीडटकमबाट साभार)
