युगल बसेल
उनी ज्यादै आदर्श व्यक्तिको रूपमा यत्रतत्र सर्वत्र चिनिएका प्रसिद्ध पुरुष थिए । सरकारी उच्च ओहदामा भए तापनि उनी लप्पन छप्पनका कुराबाट टाढा रहन्छन् भन्ने भाव उनको बोलिवचनबाट झल्किने गथ्र्यो ।
सरकारी नूनपानी खानेहरू पनि यति सात्विक विचारका हुन्छन् भन्ने कुरा पत्याउन जोतोलाई हम्मे पर्ने गथ्र्यो । आफ्ना सारगर्भित मन्तव्य वा वक्तव्यमा उनले नैतिकताको दह्रो पाठ पस्कने गर्थे । तोकिएको सरकारी तनखा वा खान्गीबाटै राष्ट्रसेवाकर्मीले सहज ढङ्गबाट जीवनवृत्ति चलाउन सकिन्छ भन्ने उनको दाबी थियो र यसका लागि उनले अनेक थरी उपाय पनि बताउन छुटाउँदैनथे । अपरिमित तृष्णा नै असन्तुष्टि र बेइमानीको कारक तत्त्व हो भन्ने उनको मूल नारा थियो । निम्न आय भएका लाखौं देशवासीको अवस्थासित आफ्नो अवस्था दाँजेमा सन्तुष्ट हुने पर्याप्त आधार भेटिन्छ भन्ने जोडदार तर्क उनले बेलाबेला दिने गर्थे ।
वैदिक ज्ञानमा समेत उनको विशेष दखलअन्दाजी थियो । अन्तर्राष्ट्रिय, राष्ट्रिय र वैदिक भाषाको ज्ञान, सीप पनि उनलाई यथेष्ट थियो । उनका विचारोत्तेजक उच्च कोटिका अभिव्यक्तिहरूमा वैदिक सूक्तहरू बग्रेल्ती मिसमास भएका हुन्थे । उनको तर्कशक्तिबाट प्रभावित नहुने मान्छे बिरलै थिए । बौद्धिक जमातमा उनले सन्तोष गर्न लायकको अस्तित्व सत्ता कायम गरेका थिए ।
ओजस्वी भाषा, जादुमय शैली, तिलस्मी भाव, गहन विचार, रोचक शब्द विन्यास, बोधगम्य प्रस्तुति, वैज्ञानिक चेत, शास्त्रीय सन्दर्भको गुम्फन, सारगर्भित बनोट जस्ता कुराहरूले गर्दा उनको वैचारिक प्रस्तुति अरू धेरैको भन्दा भिन्न र दमदार हुने गर्दथ्यो । उनले मन्तव्य व्यक्त गर्ने क्रममा बीचबीचमा दर्शक दीर्घाबाट तालीका पर्रा छुट्ने गर्थे । निष्ठा र इमान्दारिता नै राष्ट्रसेवकको सबैभन्दा ठूलो र अमूल्य सम्पत्ति हो वा भनौँ शोभा बढाउने गहना हो भन्ने कुरामा उनी बरोबर जोड दिने गर्थे ।
एक दिन अनन्त तेजराशी भएका सूर्यनारायणलाई पनि राहुले सजिलै कलङ्कित पारेजस्तै घटना भयो । कसैले नसोचेको, पत्याउनै गाह्रो पर्ने खबर चैतमासको खडेरीमा वनमा डढेलो फैलिएजस्तै गरी राष्ट्रसेवक वृत्तलगायत विभिन्न वृत्तमा फैलियो । त्यस खबरले गर्दा धेरैजना तीन छक्क परे । कसैका आँखीभौँ तन्किए, कसैले आश्चर्यले जिब्रो टोके, कसैले तल्ला र उपल्ला दाँतका बीचमा आफ्नो चोरी औंला किचे र कसैले मुख चुच्चो पारेर उदेक लाग्दो ध्वनि निकाले । त्यस्तो नहोस् पनि किन र ! ठूलै जमातद्वारा बेदाग ठानिएका तिनै उच्च सरकारी पदमा आसीन ठालु प्रशासनकर्मीले थुप्रै महत्वाकांक्षी युवाहरूलाई सरकारी माध्यमबाटै आकर्षक मुलुकमा स्थायी बसोबासको व्यवस्था मिलाइदिने सपना देखाएर ५ करोडभन्दा बढी रकम असुल गरी कन्तबिजोगमा पारेका थिए । यस कसुरको ठहर अख्तियार अनुसन्धान आयोगले लामो अनुसन्धानपछि गरेको थियो । लगत्तै उनी गिरफ्तारीमा परेको समाचार कागजी खबर पत्रिका, अनलाइन खबर पत्रिका र सामाजिक सञ्जालभरि ठूलाठूला अक्षरमा छ्यापछ्याप्ती छापियो । पढ्नेमध्ये धेरैजसो स्तब्ध हुन पुगे । देखाउने र चपाउने दाँत बीचको अन्तर कसरी छुट्ट्याउने भनेर उनीहरू रनभुल्लमा परे ।
