दुर्गा अधिकारी ’दृशी’
पाटन अस्पतालको न्युरो सर्जरीमा उपचार भैरहेको बिरामीलाई हेर्न आएकी थिएँ म त्यस दिन । घर फर्किन ढिला भएकाले बिहान घरमा छोडेको कामको चाङले मेरो बाटो हेर्दैछन् भन्ने कुराले मन पिरोलिँदै थियो । बिरामीसँग त्यही कुरा राखेर बिदा भएँ । मनभरि बिरामीकै मलिन मुहार र उनकै पीडालाई खेलाउँदै म हतार हतार घर फर्किदै थिएँ ।
“ओहो दुर्गा ! तिमी पो !” अस्पतालको गेट पार गर्नै लाग्दा मेरो कुममा कसैको धाप पर्यो । फर्केर पुलुक्क हेरेँ । तीन दशकअघि एउटै विद्यालयमा पढेकी अति मिल्ने साथी रहिछन् । धेरै वर्षपछिको भेट थियो भावावेशमा उनले मलाई आफ्नो अँगालोमा कसिन् । मैले पनि खुशी नमान्ने कुरै थिएन ।
“हुन त धेरै हतारमा छौ जस्तो छ तर पनि लामो समय पछिको भेट पर्यो, एकछिन त्यहाँ बसेर कुरा गरौँ न है ।” उनले नजिकैको बेन्च देखाउँदै भनिन् । मैले उनको प्रस्तावलाई सहर्ष स्वीकार गरेँ ।
कुराको थालनी उनैबाट भयो । यौवनावस्थाबाट वृद्ध अवस्थाको निकट आइपुग्दासम्ममा उनले प्राप्त गरेका सफलताको ठूलै पोको रहेछ उनीसँग । धनी र खान्दानी परिवारमा उनको विवाह भएछ । उनका श्रीमान् उड्डयन मन्त्रालयमा जागिरे रहेछन् । सरकारले बस्नका लागि क्वार्टर र गाडीसहित अन्य सुविधा दिएको रहेछ । उनका दुईवटी छोरी र एउटा छोरा रहेछ्न् । छोराछोरी संस्कारी र असल रहेछ्न् । छोरा अमेरीकामा डाक्टर छन् रे, धेरै राम्रो आम्दानी छ रे । बुहारी पनि अमेरिकन विवाह गरेका छन् रे । ठूली छोरी सडक विभागमा इन्जिनियरको जागिर खान्छिन् रे, उनको विवाह भएर नाति पनि जन्मिसक्यो रे । ज्वाइँको पनि राम्रो जागिर छ रे । कान्छी छोरी डाक्टर पढ्न अमेरिका जान्छु भन्दैछिन् रे । उनी आफैँ चाहिँ बैंकको जागिरे रे । श्रीमानले जागिरबाट अवकाश पाएपछि छोराबुहारीसँगै बस्न यताको सबै बेचबिखन गरेर अमेरिका जाने योजना छ अरे ।
उनले हँसिलो मुहार बनाएर घरी घरी आफ्नो हातको घडीमा समय हेर्दै यतिका बेलिबिस्तार लगाइन् । उनको प्रगतिको विवरण सुनेर मैले खुशी प्रकट गरेँ ।
अब उनलाई आफ्नो कुरा सुनाउने पालो थियो मेरो र मैले उसलाई आफ्नो कुरा भन्न प्रारम्भ गरें – “मचाहिं गाउँकै स्कुलमा शिक्षिका भएकी थिएँ तर विवाहपछि बिरामी श्रीमान्को उपचार र सेवा गर्नुपर्ने भएकाले …. “
मैले आफ्नो वाक्य पुरा गर्न नपाउँदै उनले आफ्नो नाडीको घडीतिर हेरिन् र भन्न थलिन्– “ला ! हेर न मेरो श्रीमानलाई चियाखाजा दिन ढिला भयो । म अहिले जान्छु । पछि भेट होला नि है !”
तीस वर्षपछि भेट भएकी बाल्यकालकी मेरी एकज्यानकी साथीले आफ्नो खुशीका तीसवटा बेलून उडाउन भ्याई तर मेरो मनको एउटा आवाजसम्म सुनिदिने धैर्यता देखाउन सकिन । ऊ क्रमशः टाढा भएको दृश्यलाई मेरा आँखाले ट्वाल्ल हेरिरहेका थिए भने मनले शायद साथीको परिभाषा खोजिरहेको थियो ।
