—गम्भीर बहादुर हाडा
अधिवक्ता तथा सह–प्राध्यापक, अर्थशास्त्र
भक्तपुर बहुमुखी क्याम्पस (अवकासप्राप्त)
सामाजिक विज्ञानमा समुदाय भनेको कुनै निश्चित भौगोलिक क्षेत्रमा समान विश्वास, मान्यता, उस्तै धारणा राख्ने व्यक्तिहरुको बसोबास भएको समूह हो । पुराना र आधारभूत संस्थाहरुमा समुदाय परिवारपछिको दोस्रो दर्जामा आउँछ । समुदायका सदस्यहरु भावनात्मक सम्बन्धमा गाँसिएका हुन्छन् । समूहका सदस्यहरुप्रति उनीहरुले आपसी सम्बन्धको भावनाको बण्डा गर्छन् र कृतज्ञता महसुस गर्छन् ।
प्रारम्भिक समयदेखि नै मानव जाति साथीसंगति, सहयोग र सुरक्षाको लागि समूहमा आवद्ध भएको हो । पहिला समुदायहरु एउटा विशेष क्षेत्रमा बसोबास गरेका मानिसहरुका साना समूहहरु मिलेर बनेका थिए । धेरैजसो यस्ता समुदायहरु अलग्गिएका र स्वयंपूर्ण थिए । समाजको इतिहासले समुदायको महत्वमा कमी आएको बताउँछ । अरु खालका ठूला संगठनहरुको विकास हुँदै गएपछि समुदायका क्रियाकलापहरुलाई संगठनहरुले ग्रहण गरेका छन् । यस्ता संगठनहरुमा विद्यालय, संस्थानहरु, क्षेत्रीय एवं राष्ट्रिय सरकारहरु पर्दछन् । जेहोस्, समुदाय हराएको छैन ।
सामुदायिक विकास सम्पूर्ण समुदायको राम्रो जीवन अभिवृद्धि गर्ने एउटा आन्दोलन हो, जसमा समुदायको सहभागिता रहन्छ र जहाँसम्म सम्भव हुन्छ । यो प्रेरणा समुदायबाटै आउँदछ । यदि यो प्रेरणा समुदायबाट आउन सकेन भने आन्दोलनमा समुदायको सक्रिय र उत्साहपूर्ण सहभागिता प्राप्त गर्न अरु नै तरिका अपनाउनुपर्दछ (रिपोर्ट आफ दि ए सरिज कन्फरेन्स, १९५४ लण्डन) । संयुक्त राष्ट्र संघले दिएको परिभाषा अनुसार सामुदायिक विकास भनेको प्रक्रियाहरु हुन्, जस अनुसार जनता र सरकारी अधिकृतहरुको प्रयासलाई समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि संयुक्त रुपमा प्रयोगमा लगाइन्छ ।
यी समुदायहरुलाई राष्ट्रिय जीवनमा समावेश गरेर यिनै समुदायहरुबाट राष्ट्रिय उत्थानमा योगदान दिलाउनका लागि मद्दत पु¥याइन्छ (यू.एन्.ओ.) । १९४८ ई.मा भएको क्याम्ब्रिज कन्फरेन्सले सामुदायिक विकासबारे व्यक्त गरेको विचार अनुसार “समुदायको जीवनस्तर वृद्धिको लागि जनताकै तत्परताद्वारा चलाइएको अभियान सामुदायिक विकास हो” यदि समुदायमा यस्तो किसिमको तत्परता नआउने भएमा सामुदायिक विकासको अभियानलाई सक्रिय र उत्साहित गर्न प्रेरणा जगाउने विधिहरुको प्रयोग गर्नुपर्दछ ।
गाउँ वासिन्दाहरुको बासहरुको सानो गुच्छा हो जसमा उनीहरुले सामुदायिक भावना पाइरहेका हुन्छन् । यस्तो भावना समूहसँग आवद्ध भएको रुपमा हुन्छ र त्यस ठाउँको आर्थिक तथा अन्य स्रोतहरुमा हिस्सा लिइरहेका हुन्छन् । गाउँ, नगरभन्दा सानो हुन्छ तर आकार गाउँ छुट्टाउने उत्तम आधार बन्न सक्दैन । गाउँमा बस्ने मानिसको संख्या ५० देखि ५,००० हुन सक्छ । यूरोप जस्ता औद्योगिक राष्ट्रहरुमा गाउँमा एउटा चर्च, प्राथमिक विद्यालय, सभाभवन (हल), पब (सार्वजनिक घर) या पौवा र एउटा पसल हुन्छ । यस्ता गाउँका घरहरु प्रायः स्थानीय ढुंगा र अरु पदार्थले बनेका हुन्छन् । वासिन्दामा त्यस्ता मानिसहरु हुन्छन् । जसका परिवारका पुर्खा त्यहाँ, बसोवास गरेका र काम गरिरहेका हुन्छन् र भरखरै त्यस क्षेत्रमा शहरहरुबाट सरेका अरु मानिसहरु हुन्छन् । (स्रोत कृष्ण बहादुर कुँवर, गरिबी र सामुदायिक विकास सिद्धान्त र व्यवहार, प्रथम संस्करण २०६१, मीना प्रकाशन, काठमाडौं, पेज नं. १४,) ।
औद्योगिक संसार भरिनै गाउँजस्तै लाग्ने बसोवासहरु पाइन्छ, यद्यपि तिनीहरुलाई गाउँ मानिँदैन । अमेरिकामा, एउटा गाउँ नगरपालिका इकाइ हुन सक्छ जो नगरभन्दा सानो हुन्छ । न्यूजीलैण्डमा, गाउँको अवस्थिति स्वयम् आवद्ध शहरी क्षेत्र या आफ्नै पसलहरु सहितको छिमेकहरु भएको बासस्थान हो । विकासशील देशहरुका गाउँहरु संस्कृतिमा फरक फरक हुन्छन् ।
सामुदायिक विकासको अवधारणा दोस्रो विश्वयुद्धसँगसँगै ब्रिटिश सरकारद्वारा प्रसारमा ल्याइएको हो । तात्कालिन अवस्थामा यो अवधारणा प्रट र ब्वाइडेन (१९८५) ले भने अनुसार “सामाजिक तथा भौतिक पूर्वाधारको सिर्जना तथा आत्मनिर्भरताको अभिवृद्धिका माध्यमबाट केन्द्रीय सरकारको उद्देश्यको पूर्तिका निमित्त ग्रामीण तथा शहरी क्षेत्रको श्रमशक्तिलाई परिचालित गर्नु” भन्ने थियो । सामुदायिक विकाससम्बन्धी अवधारणाको प्रयोग सर्वप्रथम अफ्रिकी राष्ट्र घानामा गरिएको पाइन्छ । सन् १९४० को दशकको शुरुवातसँगै प्रसारमा आएको यो अवधारणालाई सन् १९५० को दशकमा भारतको राष्ट्रिय विकास योजना रूपमा प्रयोग गरियो ।
विकासोन्मुख देशहरूको समग्र क्षेत्रमा परिवर्तन र विकास बाहिरी शक्तिहरूको जागरुकता तथा संलग्नताबाट हुनुपर्दछ भन्ने आधुनिकतावादी सिद्धान्तविद्हरूको मान्यताभन्दा भिन्नै रूपमा सामुदायिक विकास अवधारणाका समर्थकहरूले ग्रामीण समुदायको विकासको सम्भावनालाई बढी महत्व दिए । ग्रामीण समुदायहरूलाई संगठनका इकाइको रूपमा लिइयो र समुदायका सबै सदस्यहरूबाट प्रवद्र्धन गरियो । संयुक्त राष्ट्रसंघको मान्यताअनुसार जनताको आर्थिक सामाजिक र सांस्कृतिक जीवनस्तर उकास्ने दिशातर्फ जनसमुदायको विकाससम्बन्धी गतिविधि तथा प्रयासहरूलाई केन्द्रीय गर्नुपर्दछ । यसका लागि सरकारी विकास परियोजना तथा कार्यक्रमहरूसँग सामुदायिक विकासको नीतिलाई सँगसँगै एकीकृत गर्दै लैजानुपर्ने देखिन्छ ।
वास्तवमा सामुदायिक विकास कार्यक्रम गाउँका मानिसहरूलाई आत्म–निर्भरतातर्फ डो¥याउने एक सशक्त माध्यम हो । केन्द्रीयस्तरका विकास योजनाको नीति निर्धारण माथिल्लो निकायहरूबाट हुने भएकाले यसबाट पाउने प्रतिफल पनि गाउँमा रहेका हुनेखानेले मात्र उपयोग गर्ने भएकाले यस्ता प्रकारका केन्द्रीय विकास योजना गाउँमा त्यति फलदायी हुन सकेन । यसर्थ विकासविद्हरूले समग्र जनपरिचालन तथा गरिबी निवारण रोजगारी सिर्जना, सामाजिक समस्याहरूलाई जरैदेखि निर्मूल पार्नका लािग सामुदायिक विकास अवधारणालाई अगाडि बढाइएको हो । समुदाय भन्नाले वास्तवमा एउटा संगठन हो । कुनै पनि व्यक्ति एक्लै रहन सक्दैन ऊ हरेक प्रकारले अरु व्यक्तिहरूसँग सम्बन्धित भएको हुन्छ । यसरी व्यक्ति–व्यक्ति मिलेर समूह निर्माण गर्दछन् । व्यक्ति निश्चित भौगोलिक क्षेत्रभित्रका क्षेत्रमा मात्र सम्बन्धित हुन्छन् ।
नेपालमा समुदायमा आधारित विकास प्रक्रियाको अभ्यास निकै पुरानो मानिन्छ । परम्परागत समुदाय तथा जनतामा आधारित संगठनहरूको आफ्नै महत्व छ । समुदायका सदस्यहरूले आफ्नो आवश्यकता र चाहनाअनुरूपका विभिन्न संगठनहरू विकसित गरेका थिए । जति मानव सभ्यता र समुदाय आफैमा पुरानो छ । त्यति नै यी सामुदायिक प्रयोजनका लागि सामूहिक प्रयासद्वारा स्थापना गरिएका संगठनहरू त्यति नै पुराना मानिन्छन् । मानव सभ्यताको विकासक्रम सँगसँगै यी संगठनहरूमा पनि सांगठानिक संरचना, व्यवस्थापकिय ढाँचा र प्रकार्यात्मक शैलीमा परिवर्तन हुँदै आएको पाइन्छ ।
परापूर्व कालदेखि नै चाहे त्यो धार्मिक प्रयोजनका हिसावले होस् वा चाहे सामाजिक–सांस्कृतिक एवं आर्थिक हिसावले होस यस्ता सामुदायिक भावना एकता विश्वास र आफ्नै प्रकारका नीति नियम तथा मूल्य मान्यता बोकेका यस्ता संगठनहरूले राष्ट्रिय उद्देश्यलाई समाहित गर्न नसकेता पनि निश्चित सामाजिक उद्देश्यलाई समाहित गर्न नसकेता पनि निश्चित सामाजिक आवश्यकता परिपूर्ति गर्नमा केही न केही रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेकै थिए । ग्रामीण समुदायले बाटो–घाटो बनाउने, मर्मत संहारको व्यवस्थापन गर्ने पाटीपौवा भवन मठ–मन्दिर निर्माण गर्ने, कुलो–नहर बनाउने, झै–झगडा मिलाउनका लागि न्यायिक टोली गठन गर्ने जस्ता कार्यहरू परम्परागत रूपमा नै चलिआएको पाइन्छ । समुदायका कुनै पनि संगठनहरू स्वतः स्फूर्त एकाइहरू हुन् जुन जनचाहना परिपूर्तिका लागि जनताद्वारा नै निर्माण गरिएका हुन्छन् ।
सामुदायिक वन समुदायद्वारा समुदायको प्रत्यक्ष फाइदाका लागि गरिएको एउटा महत्वपूर्ण योगदान हो । नेपालमा सामुदायिक वनको इतिहास लामो छ । गाउँघरका मानिसहरूले अहिलेसम्म पनि कुनै जंगललाई ‘देवीको वन’ भनेर सबैको सल्लाह र सहमतिमा जंगल जोगाएको पाइन्छ । त्यसलाई सामुदायिक वन जोगाउने परापूर्व तरीका भन्न सकिन्छ । नेपालमा सन् १९७८ पछिमात्र सरकारले अनियन्त्रित वन–जंगलको फडानी रोक्न सामुदायिक विकासको कार्यक्रम अगाडि बढाएको हो । नेपालमा विभिन्न सामुदायिक विकास कार्यक्रममध्ये यो सबैभन्दा सफल मानिएको छ ।
वनसम्पदा पर्यावरणीय दृष्टिकोणले मात्र नभई जैविक संरक्षण तथा गरीब जनताको जीवनस्तर उकास्ने एउटा सशक्त माध्यम पनि हो । हाम्रोजस्तो कृषि प्रधान देशमा जहाँ वनजंगलबाट आर्षित उद्योगधन्दाहरू छन्, त्यसका लागि पनि वन अत्यावश्यक र अनिवार्य छ ।
कृषिका लागि वर्षा, उत्पादकत्वमा वृद्धि, वादी नियन्त्रण आदिजस्तो कुराहरूमा वनको महत्व छ । यसका साथै पशुपालनका लागि घाँसपात र इन्धनका लागि काठ, दाउरा, निर्माण सामग्रीको आवश्यकता समेत वनजंगलबाट परिपूर्ति हुन्छ । यसका साथै पानीको स्रोत, रमणीयताका लागि सुन्दरता, जंगली जन्तुका लागि आरक्ष पनि वनजंगलबाट पूर्ति हुन्छ । यी सबै आवश्यकताको परिपूर्ति जंगलबाट हुने भएता पनि जंगलको अनियमित फँडानी गरेर सखाप पार्नेजस्ता कार्यहरू धेरै हुन थालेपछि सरकारको मात्र एकल प्रयासबाट वनजंगलको संरक्षण हुन गाह्रो हुन थाल्यो । त्यसको फलस्वरूप सरकारले सामुदायिक वनको अवधारणा अगाडि सारेको हो ।
