मतदानको तयारीमा नेपालीजन ll मतदातामा उत्साह ।। दलहरुको आफ्नै रणनीति

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर । स्थानीय निर्वाचन होला नहोला भनी विभिन्न आशंका गरिँदै आएको अवस्थामा आज शुक्रबार देशभरी नै मतदान हुने भएको छ । मतदानको पूर्वनिर्धारित कार्यक्रम अनुसार आज विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानका लागि मतदान स्थलमा पुगिसकेकाहरुले आफ्नो कुनै पनि परिचयपत्रको आधारमा मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा भएको नामलाई रुजु गरी मतदान गर्न पाउने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । पाँच वर्षपछि हुन लागेको यो स्थानीय तहको निर्वाचनको लागि नेपालीजनमा एकदमै उत्साह थपिएको पाइएको छ । निर्वाचनको तयारीमा रहेका सबैजसो दलहरुले यो निर्वाचनलाई ध्यानमा राखी आ–आफ्ना उम्मेदवार उठाएका छन् । कपितय ठाउँहरुमा विभिन्न दलहरुले गठबन्धन समेत गरी उम्मेदवार उठाएको अवस्था छ ।

अघिल्लो पटकको निर्वाचन तीन चरणमा भएको थियो । यस पटकको निर्वाचन आज एकै चरणमा हुने भएकाले पनि नेपालीजनमा उत्साह थमिएको हो । अघिल्लो निर्वाचनमा विभिन्न चरणहरुमा निर्वाचन भएका कारण विभिन्न अवस्थामा मतदाताहरु आफ्नो ठाउँमा पुग्ने गरेका थिए । यस पटक भने सबै स्थानमा एकै पटक निर्वाचन हुने भएका कारण मतदाताहरु आफ्नो स्थानमा पुगी आफ्नै निर्वाचन स्थलमा मात्र केन्द्रित भएको अवस्था छ । यसले पनि अर्कै खालको चुनावी रौनक देखिएको चर्चा चलेको छ ।

आजको निर्वाचनबाट देशैभरीका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका प्रमुख÷ उपप्रमुख तथा सबै वडाहरुमा पदाधिकारीहरुको निर्वाचन हुँदैछ । आजको निर्वाचनलाई निकै नै उत्साहका साथ नेपालीजनले हेर्दै आएका छन् । मुलुक संघीय प्रणालीमा गएपछिको यो दोस्रो निर्वाचन भएका कारण पनि निर्वाचनमा उत्साह थपिएको हो । यस पटकको निर्वाचनमा पहिलेको तुलनामा ‘गठबन्धन’ संस्कृति पनि हाबी हुन पुगेको छ । खासगरी हाल केन्द्रीय सरकारमा एक साथ रहेका पाँच दलले अधिकांश स्थानमा गठबन्धन गरी साझा उम्मेदवार खडा गरेका छन् ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले शुरुका दिनमा गठबन्धनको विरोध गर्दै आएको थियो । आफ्नो दल सक्षम भएकाले कसैसँग गठबन्धन गर्नु पर्ने अवस्था नरहेको भनी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले फुर्ती लगाउँदै भाषण ठोक्ने गरेका थिए । उनले आफ्नो दलले गठबन्धन नगर्ने मात्र होइन कि गठबन्धनमा रहेका दलहरुसँग समूहमै भिड्न तयार रहेको भन्ने गरेका थिए । ओलीको यो फुर्ती एक हप्ता पनि टिक्न सकेन । उनको दलले घोषित रुपमा नेपाल परिवार दल र कमल थापा नेतृत्वको राप्रपा नेपालसँग गठबन्धन बनाउने निर्णय गर्न पुग्यो । त्यसैगरी आवश्यकता तथा अवसर अनुसार अन्य दलसँग मात्र होइन कि व्यक्ति–व्यक्तिसँग समेत गठबन्धन गर्न पुग्यो ।

यसरी गठबन्धनको विरोध गर्नेहरु नै गठबन्धन गर्ने अवस्थामा पुगेपछि पछिल्लो चरण गठबन्धनको लहर नै चल्न पुगेको देखिन्छ । जुन ठाउँमा जुन दल बलियो छ त्यसका विरुद्धमा अन्य दलले गठबन्धन गरी उम्मेदवार उठाउने चलन अहिले चलेको देखिन्छ । यसैगरी विभिन्न स्थानमा घोषित गठबन्धन तोडिएका छन् त कतिपय स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने गरी निर्वाचनमा होमिएको अवस्था छ ।

खासगरी सत्तारुढ दलहरुले महानगरहरुमा घोषित रुपमै गठबन्धन गरेका छन् । उनीहरुले कतिपय वडामा आफ्ना उम्मेदवार उठाए पनि प्रमुख र उपप्रमुखमा भने एकअर्कालाई सघाउने नीति लिएका छन् । यसैगरी कतिपय स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय पनि गरेका छन् ।

पछिल्लो समयसम्म पनि केही स्थानहरुमा गठबन्धनको विरोधमा केही व्यक्तिहरुले आफ्नो उम्मेदवारीलाई कायमै राखेका छन् भने कतिपय स्थानमा निर्वाचनको मुखमा पनि आफ्नो उम्मेदवारीलाई निष्कृय पारी गठबन्धनलाई साथ दिने निर्णय समेत भएका समाचारहरु आएका छन् ।

यस्ता दृश्यहरुका कारण निर्वाचनको माहौलै यस पटक पृथक खालको देखिन थालेको छ । त्यसैले पनि मतदाताहरु यस पटक अलिक फरक ढंगको निर्वाचनको माहौलमा होमिएका छन् । त्यसैले पनि उनीहरुमा बेग्लै खालको उत्साह देखिएको हो ।

यसरी निर्वाचनको रौनक बढेको अवस्थामा दलहरु पनि आफ्नै रणनीतिमा लागेको पाइएको छ । ७२ घन्टा अर्थात तीन दिनको समयलाई मौन समयको रुपमा लिने गरिएको छ । यो समयमा निर्वाचन प्रभावित हुने गरी प्रचार प्रसार गर्न नपाइने, मतदातालाई आकर्षित गर्न नपाइने भन्ने निर्वाचन आयोगको आचार संहिता भए पनि यही अवधिमा त्यस्ता घटनाहरु भएका भनी समाचारहरु पनि आएका छन् । विभिन्न ठाउँहरुमा उम्मेदवारहरु विवादास्पद अवस्थामा पक्राउ परेका समाचार आएका छन् । मतदाताहरुलाई प्रभावित पार्नका लागि पैसा तथा सामान सहित उम्मेदवारहरु पक्राउ परेका समाचारहरु पनि सञ्चारमाध्यममा आइरहेका छन् ।

यस्ता घटनाहरु भने लज्जास्पद हुन् । यस्ता घटनाले निर्वाचनलाई स्वतन्त्र, धाँधलीरहित अवस्थामा गराउनका लागि मद्दत नगर्ने अवस्था आइदिन्छ । त्यसैले दलहरुले पनि यहि निर्वाचनलाई अन्तिम नठानी सही ढंगबाट निर्वाचन गराउने तथा निर्वाचनमा जनतालाई परिचालन गराउने वातावरण बनाउने पर्ने भनी वुद्धिजीवीहरुले सुझाव दिंदै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *