रोशन ज्ञवाली
मानव सभ्यताको इतिहासमा केही यस्ता ग्रन्थ छन्, जसले समय, स्थान र परिस्थितिको सीमा नाघेर पुस्तौँपुस्तालाई मार्गदर्शन गरिरहेका छन् । त्यस्ता ग्रन्थहरूमध्ये श्रीमद्भगवद्गीता एक अनुपम र कालजयी कृति हो । महाभारतको भीषण युद्ध शुरु हुन लाग्दा कुरुक्षेत्रको रणभूमिमा अर्जुन गहिरो मानसिक द्वन्द्वमा फसेका थिए । आफ्नै गुरु, पितामह, आफन्त र मित्रहरूमाथि शस्त्र उठाउनुपर्ने अवस्थाले उनको मन कमजोर बनेको थियो । हातमा रहेको गाण्डीव धनुषसमेत खस्न लागेको थियो । यस्तो कठिन क्षणमा भगवान श्रीकृष्णले अर्जुनलाई दिएको ज्ञान नै भगवद्गीता हो ।
गीता कुनै एउटा धर्म वा समुदायका लागि मात्र सीमित छैन । यसले मानिसलाई जीवन के हो, कर्तव्य के हो, सफलता कसरी प्राप्त गर्ने, दुःखबाट कसरी मुक्त हुने, मनलाई कसरी नियन्त्रण गर्ने र अन्ततः आत्मिक शान्ति कसरी प्राप्त गर्ने भन्ने विषयमा गहिरो शिक्षा दिन्छ । आजको आधुनिक युगमा पनि गीता त्यत्तिकै सान्दर्भिक छ, किनभने मानिसका समस्या बदलिएका भए पनि उसको मनभित्रका डर, मोह, लोभ, क्रोध र अन्योल भने उस्तै छन् ।
भगवान श्रीकृष्णले अर्जुनलाई दिएका प्रमुख शिक्षाहरूलाई विस्तारमा बुझ्ने हो भने सबैभन्दा पहिले आत्माको विषय आउँछ । कृष्णले अर्जुनलाई शरीर र आत्माको भिन्नता बुझाए । उनले भने, शरीर नश्वर छ तर आत्मा अमर छ । मानिसले पुरानो लुगा फेरेर नयाँ लगाएझैँ आत्माले पनि एउटा शरीर त्यागेर अर्को शरीर धारण गर्छ । त्यसैले मृत्यु वास्तवमा अन्त्य होइन, केवल एउटा परिवर्तन हो । यही कारणले मृत्युका कारण अत्यधिक शोक गर्नु उचित होइन । जन्म लिएको प्रत्येक प्राणीको मृत्यु निश्चित छ र मृत्यु भएपछि पुनर्जन्मको चक्र पनि स्वाभाविक प्रक्रिया हो । जीवनको यो सत्य बुझ्ने मानिस दुःखमा पनि धेरै विचलित हुँदैन ।
गीताको अर्को महत्वपूर्ण शिक्षा कर्तव्य अर्थात् धर्मसँग सम्बन्धित छ । अर्जुन युद्ध गर्नबाट पछि हट्न खोजिरहेका थिए तर कृष्णले उनलाई सम्झाए कि आफ्नो कर्तव्यबाट भाग्नु उचित होइन । क्षत्रीयका रूपमा अन्याय र अधर्मविरुद्ध लड्नु अर्जुनको धर्म थियो । यही शिक्षा आज पनि उत्तिकै उपयोगी छ । शिक्षकले इमानदारीपूर्वक पढाउनु, चिकित्सकले बिरामीको उपचार गर्नु, पत्रकारले सत्य सूचना दिनु, न्यायाधीशले निष्पक्ष न्याय गर्नु र नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्नु पनि कर्तव्य नै हो । कठिनाइ आए भन्दैमा जिम्मेवारीबाट भाग्नु समाधान होइन ।
भगवद्गीताको सबैभन्दा चर्चित शिक्षा हो– æकर्म गर, फलको चिन्ता नगर ।Æ मानिसको अधिकार कर्ममा हुन्छ, फलमा हुँदैन । धेरै मानिस कामभन्दा पनि परिणामको चिन्तामा अल्झिन्छन् । विद्यार्थी परीक्षा दिनुअघि नै नतिजाको चिन्ता गर्छ, व्यवसायीले नाफाको मात्र सोच राख्छ, कर्मचारी पदोन्नतिको आशामा काम गर्छ तर फलप्रतिको अत्यधिक आसक्तिले मन अशान्त बनाउँछ । कृष्णले निष्काम कर्मको सिद्धान्त प्रस्तुत गर्दै स्वार्थरहित कर्मलाई सर्वोत्तम बताएका छन् । जब मानिस आफ्नो कर्तव्यमा केन्द्रित हुन्छ, तब उसको कामको गुणस्तर स्वतः राम्रो हुन्छ ।
कृष्णले मानिसलाई सफलता र असफलतामा समान रहने शिक्षा पनि दिएका छन् । जीवनमा कहिले सफलता आउँछ, कहिले असफलता । सफल हुँदा अहंकारी बन्नु र असफल हुँदा निराश हुनु दुवै अनुचित हुन् । समभाव राख्ने व्यक्ति नै वास्तवमा स्थिर बुद्धिको हुन्छ । क्रिकेट खेलाडीले एउटा खेलमा शतक बनाएर घमण्ड गर्नु वा अर्को खेलमा शून्यमा बाहिरिएर जीवन समाप्त भएको ठान्नु उचित होइन । जीवनका उतारचढावलाई समान रूपमा स्वीकार गर्न सक्नु नै परिपक्वता हो ।
गीताको अर्को महत्वपूर्ण पक्ष मनको नियन्त्रण हो । कृष्णले भनेका छन् कि मानिसको मन नै उसको सबैभन्दा ठूलो मित्र पनि हो र सबैभन्दा ठूलो शत्रु पनि हो । नियन्त्रणमा रहेको मनले उन्नति गराउँछ भने अनियन्त्रित मनले पतन गराउँछ । आज मानिसको धेरै तनाव बाह्य परिस्थितिका कारण भन्दा पनि आफ्नै मनका कारण उत्पन्न हुन्छ । अनावश्यक तुलना, चिन्ता, ईष्र्या र नकारात्मक सोचले मनलाई अशान्त बनाउँछ । त्यसैले मनलाई सही दिशामा लगाउनु अत्यन्त आवश्यक छ ।
मनलाई नियन्त्रण गर्न इन्द्रिय संयम आवश्यक हुन्छ । आँखाले आकर्षक बस्तु देख्छ, कानले विभिन्न कुरा सुन्छ, जिब्रो स्वादमा लोभिन्छ । यदि मानिस इन्द्रियहरूको दास बन्यो भने उसले विवेक गुमाउँछ । त्यसैले संयमित जीवनलाई गीता अत्यन्त महत्त्व दिन्छ । भोजन, निद्रा, मनोरञ्जन र काम—सबैमा सन्तुलन आवश्यक छ ।
क्रोध, लोभ र मोहलाई पनि कृष्णले मानिसका प्रमुख शत्रुका रूपमा चित्रण गरेका छन् । क्रोधबाट विवेक नष्ट हुन्छ । रिसाएको मानिसले सामान्य अवस्थामा कहिल्यै नगर्ने गल्ती गर्न सक्छ । त्यस्तै लोभले मानिसलाई सन्तुष्ट हुन दिँदैन । करोडपति व्यक्ति पनि अझ धेरै सम्पत्तिको लोभमा दुःखी हुन सक्छ । मोहले सत्य देख्न दिँदैन । आफ्ना स्वार्थ र सम्बन्धमा अत्यधिक आसक्त हुँदा मानिस सही निर्णय लिन असमर्थ हुन्छ । त्यसैले यी तीन दुर्गुणमाथि विजय प्राप्त गर्नु आवश्यक छ ।
ज्ञानको महत्व गीता भरि बारम्बार उल्लेख गरिएको छ । कृष्णका अनुसार अज्ञान सबै दुःखको मूल कारण हो । जसरी अन्धकारलाई प्रकाशले हटाउँछ, त्यसरी नै अज्ञानलाई ज्ञानले हटाउँछ तर ज्ञान प्राप्त गर्न विनम्रता, जिज्ञासा र श्रद्धा आवश्यक हुन्छ । अहंकारी व्यक्तिले सिक्न सक्दैन । त्यसैले गुरुको सम्मान र ज्ञानप्रतिको श्रद्धा जीवन विकासका आधार हुन् ।
भगवान कृष्णले प्रत्येक कर्मको परिणाम हुने सिद्धान्त पनि स्पष्ट पारेका छन् । राम्रो कर्मले राम्रो फल दिन्छ भने नराम्रो कर्मले नराम्रो फल दिन्छ । आज गरिएका कामको प्रभाव भोलि देखिन्छ । किसानले जस्तो बीउ रोप्छ, त्यस्तै फल पाउँछ । जीवन पनि यस्तै हो । असल व्यवहार, इमानदारी र परिश्रमको प्रतिफल ढिलो भए पनि अवश्य प्राप्त हुन्छ ।
गीताको अर्को महत्वपूर्ण शिक्षा समानता र मानवतासँग सम्बन्धित छ । कृष्णले सच्चा ज्ञानीले सबैलाई समान दृष्टिले हेर्ने बताएका छन् । जात, धर्म, वर्ग, सम्पत्ति वा पदका आधारमा मानिसलाई विभाजन गर्नु उचित होइन । प्रत्येक प्राणीमा एउटै दिव्य चेतना रहेको छ । यही सोचले समाजमा सहिष्णुता, सम्मान र सद्भाव बढाउँछ ।
अहंकार त्याग्नु पनि गीताको प्रमुख सन्देश हो । मानिसलाई प्राप्त भएका क्षमता, ज्ञान, धन वा पद स्थायी हुँदैनन् । आज शक्तिशाली भएको व्यक्ति भोलि कमजोर पनि हुन सक्छ । त्यसैले विनम्रता नै महानताको चिन्ह हो । फलले भरिएको रूख झुकेझैँ वास्तवमा ज्ञानी र सफल व्यक्ति पनि नम्र हुन्छ ।
कृष्णले सत्य, क्षमा, दया र करुणालाई पनि उच्च स्थान दिएका छन् । सत्य जीवनको आधार हो । असत्यले क्षणिक लाभ दिलाउन सक्छ तर अन्ततः त्यसले हानि पु¥याउँछ । त्यस्तै क्षमा गर्न सक्ने व्यक्ति नै वास्तवमा बलवान् हुन्छ । बदला लिन सजिलो हुन सक्छ, तर क्षमा गर्न ठूलो हृदय चाहिन्छ । करुणा र दयाले मानिसलाई मानव बनाउँछ । अरूको दुःख बुझ्ने क्षमता नभएको व्यक्तिको ज्ञान अधुरो हुन्छ ।
धैर्य र आत्मविश्वासलाई पनि गीता महत्वपूर्ण मान्छ । जीवनमा ठूलो उपलब्धि एकै दिनमा प्राप्त हुँदैन । किसानले बीउ रोपेपछि समय पर्खनुपर्छ । विद्यार्थीले वर्षौँ अध्ययन गर्नुपर्छ । उद्यमीले संघर्ष गर्नुपर्छ । त्यसैले धैर्य सफलता प्राप्त गर्ने आधार हो । आत्मविश्वासले मानिसलाई कठिन परिस्थितिमा पनि अगाडि बढ्न प्रेरित गर्छ ।
योग र ध्यानको विषयमा कृष्णले गहिरो व्याख्या गरेका छन् । योग केवल शरीर मोड्ने अभ्यास मात्र होइन, जीवनमा सन्तुलन कायम गर्ने कला हो । ध्यानले मनलाई स्थिर र शान्त बनाउँछ । आज मानसिक तनाव, चिन्ता बढिरहेका बेला ध्यान र आत्मचिन्तनको महत्व झन् बढेको छ ।
गीताले सत्संगको महत्व पनि बताउँछ । मानिसको व्यक्तित्व उसले गर्ने संगतबाट प्रभावित हुन्छ । असल मानिसको संगतिले असल विचार जन्माउँछ भने खराब संगतिले पतनतर्फ लैजान्छ । त्यसैले मित्र चयनदेखि लिएर पढ्ने सामग्री र सुन्ने कुरासम्ममा सावधानी आवश्यक हुन्छ ।
भक्ति योग गीताको अर्को महत्वपूर्ण पक्ष हो । कृष्णले सच्चा भक्ति केवल मन्दिरमा पूजा गर्नु मात्र नभई शुद्ध हृदय, असल आचरण र ईश्वरप्रतिको विश्वास भएको बताएका छन् । भगवानलाई महँगा बस्तु चढाउनुभन्दा शुद्ध मनले अर्पण गरिएको एउटा फूल पनि प्रिय हुन्छ । भक्ति मानिसलाई आन्तरिक बल प्रदान गर्ने स्रोत हो ।
कृष्णले ज्ञानयोग, कर्मयोग र भक्तियोग तीनै मार्गलाई मोक्ष प्राप्त गर्ने माध्यमका रूपमा प्रस्तुत गरेका छन् । कसैका लागि ज्ञानको मार्ग उपयुक्त हुन सक्छ, कसैका लागि कर्मको, कसैका लागि भक्तिको । अन्तिम लक्ष्य आत्मिक उन्नति र सत्यको प्राप्ति नै हो ।
जीवन परिवर्तनशील छ भन्ने शिक्षा पनि गीता भरि पाइन्छ । सुख स्थायी छैन, दुःख पनि स्थायी छैन । जाडो र गर्मी आउने–जाने गरेझैँ जीवनका परिस्थिति पनि बदलिइरहन्छन् । त्यसैले कठिन समय आएर पनि आत्तिनु हुँदैन र राम्रो समय आएर पनि घमण्ड गर्नु हुँदैन ।
कृष्णले अर्जुनलाई सम्पूर्ण भ्रम, भय, मोह र अहंकार त्यागेर सत्यको मार्गमा हिँड्न प्रेरित गरेका छन् । गीताको अन्तिम सन्देश आत्मसमर्पण, आत्मज्ञान र कर्तव्यपरायणतामा केन्द्रित छ । मानिसले आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्दै, मनलाई नियन्त्रणमा राख्दै, सत्य र धर्मको मार्गमा हिँड्दै तथा ईश्वरप्रति आस्था राख्दै जीवन बिताएमा ऊ बाह्य रूपमा मात्र होइन, भित्री रूपमा पनि सफल र सुखी बन्न सक्छ ।
यसरी हेर्दा भगवद्गीता केवल युद्धभूमिमा अर्जुनलाई दिइएको उपदेश होइन, यो हरेक मानिसको जीवनको मार्गदर्शक ग्रन्थ हो । आजको व्यस्त, प्रतिस्पर्धी र तनावपूर्ण संसारमा पनि गीताको सन्देश उत्तिकै सान्दर्भिक छ । जब मानिसले आत्माको अमरतत्व बुझ्छ, कर्तव्यलाई प्राथमिकता दिन्छ, निष्काम कर्मको अभ्यास गर्छ, लोभ–क्रोधमाथि विजय प्राप्त गर्छ र समभावका साथ जीवन बिताउँछ, तब उसले वास्तविक सफलता र शान्ति प्राप्त गर्न सक्छ । यही कारणले भगवद्गीतालाई केवल धार्मिक ग्रन्थ होइन, जीवन जिउने सर्वोत्तम कला सिकाउने अमूल्य मार्गदर्शकका रूपमा सम्मान गरिन्छ ।
१. आत्मा अमर हुन्छ ः शरीर नाशवान् छ, तर आत्मा कहिल्यै मर्दैन । मानिसले पुरानो लुगा फेरेझैं आत्माले शरीर परिवर्तन गर्छ । त्यसैले मृत्यु अन्त्य होइन, एउटा परिवर्तन मात्र हो ।
२. जन्म र मृत्यु प्राकृतिक नियम हुन्- जसको जन्म हुन्छ, उसको मृत्यु निश्चित छ । मृत्यु भएपछि पुनः जन्म पनि निश्चित छ । अपरिहार्य कुरामा अत्यधिक शोक गर्नु बुद्धिमानी होइन ।
३. आफ्नो कर्तव्यबाट विमुख हुनु हुँदैन- अर्जुनको धर्म क्षत्रीयको धर्म थियो । त्यसैले न्यायका लागि युद्ध गर्नु उनको कर्तव्य थियो । मानिसले आफ्नो जिम्मेवारीबाट भाग्नु हुँदैन ।
४. कर्म गर, फलको चिन्ता नगर- गीताको सबैभन्दा चर्चित शिक्षा यही हो । मानिसको अधिकार कर्ममा छ, फलमा होइन । फलको चिन्ताले कर्म कमजोर बनाउँछ ।
५. निष्काम कर्म सर्वोत्तम हो- स्वार्थ, लोभ वा व्यक्तिगत लाभको अपेक्षा नराखी गरिने कर्म नै निष्काम कर्म हो । यस्तो कर्मले मनलाई शान्त बनाउँछ ।
६. सफलता र असफलतामा समभाव राख ः परीक्षामा उत्तीर्ण हुँदा अत्यधिक खुशी र अनुत्तीर्ण हुँदा अत्यधिक दुःखी हुने मानिस अस्थिर हुन्छ । समभाव नै योग हो ।
७. मन नै मित्र र शत्रु दुवै हो- नियन्त्रित मनले उन्नति गराउँछ, अनियन्त्रित मनले पतन गराउँछ ।
८. इन्द्रिय नियन्त्रण आवश्यक छ- आँखा, कान, जिब्रो, नाक र छालाले मानिसलाई विभिन्न विषयतर्फ आकर्षित गर्छन् । संयमले मात्र जीवन सन्तुलित हुन्छ ।
९. क्रोध विनाशको कारण हो- क्रोधबाट भ्रम पैदा हुन्छ, भ्रमबाट स्मृति नष्ट हुन्छ र अन्ततः बुद्धि नष्ट भएर मानिस पतनतर्फ जान्छ ।
१०. लोभ दुःखको मूल कारण हो- जति पाए पनि अझै चाहने प्रवृत्तिले मानिसलाई कहिल्यै सन्तुष्ट हुन दिँदैन ।
११. सन्तोष नै सुखको आधार हो – धन धेरै भएर मात्र सुख प्राप्त हुँदैन । सन्तोष भएको व्यक्ति सधैं धनी हुन्छ ।
१२. ज्ञान अज्ञानभन्दा श्रेष्ठ छ- अन्धकारलाई हटाउन उज्यालो आवश्यक भएझैं अज्ञान हटाउन ज्ञान आवश्यक हुन्छ ।
१३. गुरुको सम्मान गर- साँचो ज्ञान प्राप्त गर्न विनम्रतापूर्वक गुरुको शरणमा जानुपर्छ ।
१४. श्रद्धा बिना ज्ञान प्राप्त हुँदैन- जसमा विश्वास र समर्पण हुन्छ, उसले मात्र गहिरो ज्ञान प्राप्त गर्न सक्छ ।
१५. प्रत्येक कर्मको परिणाम हुन्छ- राम्रो कर्मले राम्रो फल र नराम्रो कर्मले नराम्रो फल दिन्छ । यही कर्म सिद्धान्त हो ।
१६. धर्मको रक्षा गर्नुपर्छ- जब धर्म कमजोर हुन्छ र अधर्म बढ्छ, तब समाजमा अशान्ति फैलिन्छ ।
१७. भगवान सबै प्राणीमा छन्- जात, धर्म, वर्ग वा सम्पत्तिको आधारमा भेदभाव गर्नु उचित होइन ।
१८. सबैलाई समान दृष्टिले हेर- सच्चा ज्ञानीले ब्राह्मण, गाई, हात्ती, कुकुर वा गरीबलाई समान दृष्टिले हेर्छ ।
१९. अहंकार त्याग- म नै सबैभन्दा ठूलो हुँ भन्ने भावना पतनको कारण बन्छ ।
२०. विनम्रता महान गुण हो- फल लागेको रुख झुकेझैं ज्ञानी व्यक्ति पनि नम्र हुन्छ ।
२१. सत्य बोल- सत्य जीवनको आधार हो । असत्यले क्षणिक लाभ दिए पनि अन्ततः हानि गर्छ ।
२२. हिंसा र द्वेषबाट टाढा रहनु- अनावश्यक घृणा र वैरभावले मन अशान्त बनाउँछ ।
२३. क्षमा गर्न सिक- क्षमा वीरको आभूषण हो । बदला लिनुभन्दा क्षमा गर्नु महानता हो ।
२४. धैर्य राख- सफलता तत्काल प्राप्त हुँदैन । किसानले बीउ रोपेपछि फल आउन समय लागेजस्तै जीवनमा पनि धैर्य आवश्यक हुन्छ ।
२५. आत्मविश्वास आवश्यक छ- आफ्नो क्षमतामाथि विश्वास गर्ने व्यक्ति कठिनाइ पार गर्न सक्षम हुन्छ ।
२६. भय त्याग – भयले निर्णय क्षमता कमजोर बनाउँछ । सत्य र धर्मको मार्गमा हिँड्नेले डराउनु पर्दैन ।
२७. योग भनेको सन्तुलन हो- योग केवल आसन होइन । जीवनका हरेक क्षेत्रमा सन्तुलन कायम गर्नु नै योग हो ।
२८. ध्यानले मन शान्त बनाउँछ- ध्यानले चञ्चल मनलाई स्थिर र केन्द्रित बनाउँछ ।
२९. संयमित जीवन जिउ- अत्यधिक खाने, नसुत्ने वा धेरै सुत्ने मानिस योगी बन्न सक्दैन ।
३०. सत्संगको महत्व बुझ- असल मानिसको संगतिले व्यक्तित्व निर्माण हुन्छ ।
३१. खराब संगतिबाट बच- दुव्र्यसनी वा अधार्मिक संगतिले पतन निम्त्याउँछ ।
३२. प्रकृतिको सम्मान गर- सम्पूर्ण सृष्टि ईश्वरको अभिव्यक्ति भएकाले यसको संरक्षण आवश्यक छ ।
३३. ईश्वरप्रति भक्ति राख- सच्चा भक्ति केवल पूजा होइन, शुद्ध हृदय र असल कर्म पनि हो ।
३४. समर्पणमा शक्ति हुन्छ- ईश्वरमा विश्वास र समर्पणले मानसिक बल प्रदान गर्छ ।
३५. भक्त र भगवानको सम्बन्ध प्रेमको हुन्छ- भक्तिले डर होइन, प्रेम सिकाउँछ ।
३६. शुद्ध हृदय नै सबैभन्दा ठूलो पूजा हो- महँगा पूजा सामग्रीभन्दा निर्मल भावना महत्वपूर्ण हुन्छ ।
३७. ज्ञान, कर्म र भक्ति तीनै मार्ग महत्वपूर्ण छन्- व्यक्तिको स्वभाव अनुसार मोक्ष प्राप्त गर्ने मार्ग फरक हुन सक्छ ।
३८. आफ्नो स्वभाव अनुसार काम गर- अरूको काम राम्रोसँग गर्नुभन्दा आफ्नै धर्म अपूर्ण रूपमा गर्नु श्रेष्ठ हो ।
३९. परिवर्तन संसारको नियम हो- जीवनमा आउने उतारचढावलाई सहज रूपमा स्वीकार गर्नुपर्छ ।
४०. दुःख अस्थायी हुन्छ- जाडो र गर्मी आउने–जाने गरेझैं दुःख र सुख पनि स्थायी हुँदैनन् ।
४१. वर्तमानमा बाँच- अत्यधिक विगतको पश्चाताप वा भविष्यको चिन्ताले वर्तमान बिगार्छ ।
४२. आत्मज्ञान जीवनको सर्वोच्च उपलब्धि हो- आफू को हुँ भन्ने बोध नै वास्तविक ज्ञान हो ।
४३. सेवा महान कर्म हो- अरूको हितमा गरिने काम ईश्वरको सेवा सरह हो ।
४४. दान विवेकपूर्वक गर- सही व्यक्ति, सही समय र सही उद्देश्यका लागि गरिएको दान सात्विक हुन्छ ।
४५. तीन गुणलाई बुझ- सत्व, रज र तम गुणले मानिसको व्यवहार निर्धारण गर्छन् । सत्व गुणको विकास आवश्यक छ ।
४६. इच्छाहरूलाई नियन्त्रण गर- अत्यधिक इच्छाले मन अशान्त बनाउँछ ।
४७. जीवनको लक्ष्य केवल भौतिक सफलता होइन- आध्यात्मिक उन्नति पनि उत्तिकै महत्वपूर्ण छ ।
४८. ईश्वर सर्वत्र विद्यमान छन्- हरेक जीव र बस्तुमा दिव्य चेतनाको अंश रहेको छ ।
४९. प्रेम र करुणा अपनाऊ- दया, करुणा र प्रेमले समाजलाई सुन्दर बनाउँछ ।
५०. अन्ततः ईश्वरको शरणमा जाऊ- भगवान कृष्णको अन्तिम सन्देश थियो कि सबै प्रकारका भ्रम, भय र अहंकार त्यागेर ईश्वरको शरणमा आऊ, म तिमीलाई मुक्ति दिनेछु ।
