भौतिकमा मिश्रको आगमनले गुप्ता छायामा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । गत २०७८ असोज २२ गते जनता समाजवादी पार्टी (जसपा) बाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेकी रेणुकुमारी यादवले सात महिना पूरा गरेकी छिन् । मन्त्री बन्नासाथ भौतिक मन्त्रालयको सल्लाहकारमा नियुक्त भएका राजकिशोर गुप्ताले सचिव रवीन्द्रनाथ श्रेष्ठसँग मिलेर कर्मचारीहरुको सरुवामा व्यापक चलखेल गरेको आरोप लागेको थियो ।

त्यतिबेला गुप्तालाई छाया मन्त्रीका रुपमा पनि हेरिएको थियो । ज्योति निर्माण सेवाका मालिक गुप्ताले प्रेरा निर्माण सेवासँग मिलेर काम गर्दा लेनदेनको मुद्दा अहिले पनि अदालतमा रहेको जानकारहरुले बताएका छन् । आर्थिक मामिलामा बद्नाम गुप्ताले भौतिक मन्त्रालयका सचिव श्रेष्ठलाई प्रभावमा पारेर सरुवामा मोटो रकम हात पारी मन्त्री यादवलाई बद्नाम गरेको मन्त्रालय स्रोतले बताएको छ ।

कर्मचारीहरुको सरुवा सकिएपछि मन्त्रालयमा विज्ञका रुपमा नियुक्त गरिएका पूर्वमहानिर्देशक (रेल विभाग) बलराम मिश्रका आगमनपछि गुप्ताको प्रवेश मन्त्रीको कार्यकक्षमा बन्द भएकोले सचिव श्रेष्ठको कार्यकक्षमा चिया खाएर फर्किने गरेको जानकारी प्राप्त भएको छ । श्रेष्ठ र गुप्ताको गठबन्धनले त्यतिबेला महिनैपिच्छे सिडिइहरुको सरुवा गरी आतंक नै मच्चाएका थिए ।

विज्ञका रुपमा मिश्रको प्रवेशपछि श्रेष्ठ र गुप्ताको असुलीधन्दामा ब्रेक लागेको छ । मिश्र आएपछि इन्जिनियरबाट डिइमा बढुवा भएका २७ जनालाई मिश्रको सल्लाहबमोजिम मन्त्री यादवले निःशुल्क पदस्थापन गरेपछि श्रेष्ठ र गुप्ताको असुल्ने सपनाले हावा खाएको छ । सात महिनाको अवधिमा वर्षौंदेखि सञ्चालन हुन नसकेको जानकपुर—जयनगर रेल मन्त्री यादवले सञ्चालन गर्न सफल भएकी छिन् ।

कर्मचारीहरुको सरुवामा पारदर्शिता र विकास निर्माणलाई तीव्रता दिँदै अगाडि बढेकी मन्त्री यादवलाई सचिव श्रेष्ठ र सल्लाहकार गुप्ताले विवादमा परेको मन्त्रालय सूत्रले बताएको छ ।

यता, सडक विभागको महानिर्देशक हुँदै भौतिक मन्त्रालयको सचिव बनेका आर्थिक चलखेलका माहिर खेलाडी (हाल ऊर्जा सचिव) देवेन्द्र कार्की यही साता अनिवार्य अवकाशमा पर्ने बताइएको छ । सचिव कार्कीले पनि असुलउपरलाई केन्द्रित गरी काँग्रेस समर्थक डिइ र सुइहरुको गला रेटेको चर्चा चलेको छ ।

अहिले सडक विभागको महानिर्देशक गत बैशाख १८ गतेपछि रिक्त रहेको अवस्थामा निमित्त महानिर्देशक शिव नेपाल कि मन्त्रालयका प्राविधिक सहसचिव (निर्माण महाशाखा) अर्जुनजंग थापामध्ये को बन्लान् भनी चासोको रुपमा हेरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *