भक्तपुरमा कसले कति जिते ? : राजु अर्याल

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर । चारवटा नगरपालिका रहेको भक्तपुरका सबै नगरपालिकाका मतगणनाको नतिजा सर्वजनिक भएको छ । सूर्यविनायक नगरपालिकाको नतिजा आएसँंगै सबै स्थानीय तहको नतिजा आएको हो । यस जिल्लामा दुइटा नगरपालिको प्रमुखमा कांग्रेस निर्वाचित भएको छ भने एक–एक नगरपालिकामा नेपाल मजदुर किसान पार्टी र नेकपा (एमाले) ले विजयको माला पहिरिएका छन् ।

पछिल्लो नतिजा अनुसार सूर्यविनायक नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार वासुदेव थापा प्रमुखमा विजयी भएका छन् । उनले काँग्रेसका उम्मेदवार निशान ढुंगेललाई पराजित गरेका हुन् ।

कांग्रेसले मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाको प्रमुख जितेको छ । २०७४ को निर्वाचनमा कांग्रेसले मध्यपुरको उप प्रमुखमा मात्र चित्त बुझाएको अवस्थामा यस पटक दुइटा नगरपालिकामा प्रमुखमा जिताउन सफल भयो । मध्यपुर थिमीमा कांग्रेसको जनाधार बलियो भए पनि गठबन्धनलाई साथ दिंदा उप प्रमुखमा नेकपा (माओवादी केन्द्र) लाई जिताउन सफल भयो । यसैगरी एमालेले सूर्यविनायकको नगर प्रमुख र उप प्रमुख तथा चाँगुनारायणाको उप प्रमुखमा जित हात पारेको छ ।

यसरी कांग्रेस र एमालेका बीचमा रस्साकस्सी भैरहेको अवस्थामा नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको प्रमुख र उप प्रमुख सहित सबै पदमा जित हात पारेको छ ।

ती नगरपालिकाहरुमा ३८ वटाहरु रहेका छन् । तीमध्ये काँग्रेसले सबैभन्दा बढी १५ वटा वडामा जित हात पारेको छ । काँग्रेसले सूर्यविनायक नगरका १० मध्ये पाँच वडा अध्यक्ष जितेको छ । सूर्यविनायकको वडा नं.२, ३, ४, ६ र ९ मा कांग्रेसले जित निकालेको हो । त्यस्तै मध्यपुर थिमीका नौमध्ये १, २, ३, ५, ६ र ९ गरी छवटा वडामा कांग्रेसले विजय भएको छ । यसैगरी चाँगुनारायणका नौ मध्ये १, २, ५ र ८ गरी चार वटामा कांग्रेसले जित हात पारेको छ ।

उता, नेपाल मजदुर किसान पार्टीले भक्तपुरका १० वटा सबै वडामा जित निकालेको छ । उक्त दलले मध्यपुर थिमीको वडा नं.८ र चाँगुनारायणको वडा नं.९ गरी १२ वडामा जितेको छ ।

यसैगरी एमालेले सूर्यविनायकका १, ५, ७, ८ र १० गरी पाँचवटामा जित हासिल गरेको छ । यस्तै, मध्यपुर थिमिका वडा नं. ४ र ७ गरी दुइटा र चाँगुनारायणका ३ र ४ गरी दुइटामा जितेको छ । यसरी कुल नौवटा वडामा एमाले जित्न सफल भएको छ ।

स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चाँगुनारायण नगरपालिकाका ६ र ७ नं. वडामा जित दर्ता गरी चाँगुनारायण न.पा.मा दह्रो उपस्थिति देखाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *