भक्तपुरमा जि.स.स.को चर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर l भक्तपुर जिल्लामा अब कसको नेतृत्वमा जिल्ला समन्वय समिति (जि.स.स.) बन्ला भनी चर्चा शुरु भएको छ । यस जिल्लामा चारवटा नगरपालिकाहरु रहेकामा नेपाली कांग्रेसले दुइटा नगरपालिकाको प्रमुख जितेर ठूलो दल बने पनि उसले समेत स्पष्ट बहुमत पाएको अवस्था छैन ।

चार पालिकाका प्रमुख र उपप्रमुखहरुको हिसाब जिल्ला समन्वय समितिका लागि हुने गर्दछ । यस हिसाबले चार पालिकाका आठ जनाको हिसाब हुने गर्दछ । कांग्रेसले चाँगुनारायण र मध्यपुर थिमीको नगरपालिकामा प्रमुख जितेको छ । यसैगरी नेकपा (एमाले) ले सूर्यविनायक नगरपालिकाको प्रमुख र उपप्रमुख तथा चाँगुनारायण न.पा.को उपप्रमुख जितेको छ । उता, भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एकलौटी रुपमा जितेको छ । भक्तपुर नगरपालिकामा सबै वडाध्यक्षमा नेमकिपाका उम्मेदवार विजयी भएका छन् । यसरी नेमकिपाको भागमा पनि भक्तपुर न.पा.का प्रमुख र उपप्रमुख गरी दुईजना छन् । यसैगरी मध्यपुर थिमीमा नेकपा (माओवादी केन्द्र) ले कांग्रेसको साथ पाएर उपप्रमुखमा जितेको छ ।

यस्तो अवस्थामा भक्तपुरको निर्वाचन परिणामलाई हेर्ने हो भने चाँगुनारायणमा कांग्रेसका जीवन खत्री नौ हजार पाँच सय ५० मतसहित प्रमुखमा निर्वाचित भएका हुन् । यसैगरी वडा नं.१ को वडाध्यक्षमा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसका सोमप्रसाद प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल र ४ मा एमालेका रोजबहादुर तामाङ निर्वाचित भए । वडा नं.५ को वडाध्यक्षमा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्यामकृष्ण नयाँजु, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात निर्वाचित भए ।

उता, नेमकिपाको गढ साबित भएको भक्तपुरको प्रमुखमा नेमकिपाका सुनिल प्रजापति २९ हजार दुई सय ५२ मतसहित निर्वाचित भए । उप–प्रमुखमा सोही दलकी रजनी जोशीले २९ हजार सात सय ५९ मतसहित निर्वाचित भइन् । यस्तै, सोही दलबाट वडा नं.१ को वडाध्यक्षमा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ मा उपेन्द्र सुवाल, ५ मा योगेन्द्रमान बिजुक्छे निर्वाचित भए । यस्तै वडा नं. ६ मा हरिराम सुवाल, ७ मा उकेश कवां, ८ मा कृष्णप्रसाद कोजु, ९ मा रविन्द्र ज्याख्व र १० मा लक्ष्मीप्रसाद हयौमिखा निर्वाचित भए ।

कांग्रेसले आफ्नो वर्चश्व कायम गरेको मध्यपुर थिमीको प्रमुखमा सुरेन्द्र श्रेष्ठ १५ हजार ९८ मतसहित निर्वाचित भए । उप–प्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ १२ हजार एक सय दुई मतसहित कांग्रेससँगको गठबन्धनबाट निर्वाचित भए । यसैगरी वडा नं. १ को वडाध्यक्षमा कांग्रेसका बाबुकाजी डंगोल, २ मा कांग्रेसका श्रीकृष्ण श्रेष्ठ, ३ मा कांग्रेसका कृष्णहरि आचार्य, ४ मा एमालेका बालकृष्ण श्रेष्ठ, ५ मा कांग्रेसका बालकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । वडा नं.६ मा कांग्रेसका ज्ञानदास प्रजापति, ७ मा एमालेका कृष्णकुमार प्रजापति, ८ मा नेमकिपाका रमेश थापा श्रेष्ठ र ९ मा कांग्रेसका सानुकाजी राजवाहक वडाध्यक्षमा निर्वाचित भए ।

उता, एमालेले प्रमुख र उपप्रमुख जित्न सफल भएको सूर्यविनायकको प्रमुखमा एमालेका बासुदेव थापा १४ हजार सात सय ५८ मतसहित निर्वाचित भए । उपप्रमुखमा एमालेकी सरिता भट्टराई १४ हजार चार सय ९० मतसहित निर्वाचित भइन् । यसैगरी वडा नं.१ को वडाध्यक्षमा एमालेका सानुकाजी कायष्ठ, २ मा कांग्रेसका प्रदीप कार्की, ३ मा कांग्रेसका दीपेन्द्र के.सी., ४ मा कांग्रेसका लछुराम न्यौपाने, ५ मा एमालेका राजकुमार जोशी निर्वाचित भए । वडा नं.६ को वडाध्यक्षमा कांग्रेसका ईश्वर खड्का, ७ मा एमालेका रविन्द्र सापकोटा, ८ मा एमालेका पुष्पराज बस्नेत, ९ मा कांग्रेसका भगवान खत्री र १० मा एमालेका शिवराम राउत निर्वाचित भए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *