भौतिक सचिवमा सिग्देल, श्रेष्ठको असारे विकासमा असिना

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ l भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठको सरुवा भएको छ । करिब डेढ वर्ष मन्त्रालयमा सचिव बनेर एकछत्र राज गरेका श्रेष्ठलाई गत जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको हो ।

ट्रष्टका गोपाल सिग्देललाई भौतिक सचिवमा सरुवा गरिएको छ । आर्थिक वर्षको अन्त्य हुन ५० दिन बाँकी रहँदा श्रेष्ठलाई मन्त्रालयमा गन्हाएपछि सरुवा गर्न बाध्य भएको जानकारहरुले बताएका छन् । सचिव श्रेष्ठले गत वर्षको सरुवामा सडकका सिडिइहरुलाई मोलमोलाइका आधारमा सरुवा गरेर हैरान पारेका थिए ।

सचिव श्रेष्ठ र मन्त्री रेणुकुमारी यादवका सल्लाहकार राजकिशोर गुप्ताको गठबन्धनले सरुवामा मन्त्री यादवलाई बद्नाम बनाएको ब्यापक चर्चा चलेको थियो । सचिव श्रेष्ठको सरुवा ट्रष्टमा भएपछि सरुवा बदर गरी ऊर्जा मन्त्रालयमा जान शक्तिकेन्द्रहरुमा दौडधूप गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशासनिक सल्लाहकार जनार्दन नेपाल र खुमलटार धाएको खबर प्राप्त भएको छ । २०८० श्रावणमा अनिवार्य अवकाश हुने श्रेष्ठले ऊर्जामा छिरेर भौतिक मन्त्रालयजस्तै दुर्गन्धित पार्ने र मोटो रकम हात पार्ने सपना देखेका छन् ।

उता, सडक विभागको महानिर्देशक र मन्त्रालयको बैदेशिक महाशाखामा बसेर राम्रो अनुभव प्राप्त गरेको सिग्देललाई अरुले लगाएको बाली स्याहार्ने भाग्यमानी सचिव भनिएको छ । सचिव सिग्देल सहरी विकास र खानेपानी मन्त्रालय नगई भौतिकमा नै सरुवा हुने अडान लिएर बसेका थिए । सचिव सिग्देलले अब सडक विभागको नेतृत्वदेखि अस्तव्यस्त सडकको अवस्थालाई कसरी अगाडि बढाउँछन् भन्ने सर्वत्र चर्चा चलेको छ । निर्माण व्यवसायीहरुको कामचोर प्रवृत्ति र सडकका सिडिइ र इन्जिनियरहरुको कमिसनमोह तथा तर मार्ने प्रवृत्तिमा सुधार ल्याउन सके सचिव सिग्देल सफल मानिन्छन्, नत्र उनलाई पनि नानाथरी आरोप लाग्ने भुक्तभोगीहरुले बताएका छन् । कर्मचारीहरुको सरुवामा पारदर्शिता अपनाई ‘दूधको दूध, पानीको पानी’ गरे सिग्देल प्रशंसाको पात्र बन्नेछन् भन्ने पनि चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *