जि.स.स.कसले जिते ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ स्थानीय निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै पछिल्लो समयमा जिल्ला समन्वय समितिको निर्वाचनहरु भइरहेका समाचारहरु प्राप्त भैरहेका छन् । कतिपय जिल्लाले आफ्नो निर्वाचन सम्पन्न गराएका छन् भने कतिपयले गराउने तयारी गरिरहेका छन् ।
यसक्रममा सुनसरीमा जि.स.स.को निर्वाचन सम्पन्न भएको छ । जिल्लामा नेपाली कांग्रेसको स्पष्ट बहुमत भएको अवस्थामा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि केही पदमा निर्वाचन भएपछि भने त्यहाँ पनि निर्वाचन नै भएको छ । निर्वाचनमा प्रमुख र उपप्रमुख समेत गरी बहुमत पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी सत्तागठबन्धनलाई टिकाउनका लागि आफ्नो एकल बहुमत भएको अवस्थामा समेत कांग्रेसले सुनसरीमा गठबन्धनमा आवद्ध दलहरुलाई पनि पद दिएकाले जित सहज रुपमा निकालेको छ ।
प्रमुख, उपप्रमुख र दलित महिला सदस्य गरी तीन पदकोलागि बैशाख ३० गते सम्पन्न निर्वाचनमा तीनवटै पदमा कांग्रेसका उम्मेदवारहरु विजयी भएका हुन् । निर्वाचन परिणाम अनुसार जिसस सुनसरीको प्रमुखमा इनरुवामा पूर्व प्रमुख राजन मेहता निर्वाचित भएका छन् । उपप्रमुखमा कमला दहाल (खतिवडा) विजयी भएकी छिन् । यस्तै दलित महिला सदस्यतर्फ कुमारी विश्वकर्मा निर्वाचित भएकी छिन् ।
मत परिणाम अनुसार विजेता तीनैजना उम्मेदवारले समान १४–१४ मत ल्याएका छन् । यसैगरी एमालेका तर्फबाट उम्मेदवार बनी पराजित बनेकाहरुले १०–१० मत प्राप्त गरेका छन् । नौ पदमध्ये गठबन्धनबाट एकल उम्मेदवारी परेका कारण सदस्य तर्फका अन्य छ जना भने यसअघि नै निर्विरोध निर्वाचित भैसकेका छन् । यसरी सदस्य तर्फ निर्विरोध निर्वाचित हुनेहरुमा टंकप्रसाद गुरुङ, सलिम मियाँ, कलावती माझी, शेषकुमारी घिमिरे, लालकुमारीदेवी चौधरी र भूपेन्द्र उराँव रहेका छन् ।
यसैगरी जिसस कैलालीमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । समितिको प्रमुखमा कांग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन् । उनी १३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका ईन्द्र चौधरीले १२ मत पाए । यसैगरी उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का खगराज भुसाल १३ मत पाएर विजयी भएका छन् । एमालेका राजेन्द्र खनालले १२ मत पाएका छन् । कैलालीमा सत्ता गठबन्धन अन्तर्गत कांग्रेस, माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए । गठबन्धनका उम्मेदवारहरुलाई धनगढीका प्रमुख गोपाल हमालले सहयोग गरेका कारण जित निकाल्न सहज भएको थियो । नागरिक उन्मुक्ति पार्टी र एमालेबीच छुट्टै तालमेल भई उम्मेदवारी परेको अवस्थामा हमालको मत निर्णायक हुने देखिएको थियो ।
भ्रष्टाचारको मुद्दाका आरोपी माओवादी केन्द्रबाट निर्वाचित मोहन्याल गाउँपालिकाका प्रमुख देवीदत्त उपाध्यायले भने मतदान गर्न नपाएको अवस्थामा सत्तारुढ गठबन्धन सहज बहुमतबाट एक मत नपुगको अवस्थामा रहेको थियो ।
उता, जिल्ला समन्वय समिति रोल्पाको प्रमुखमा माओवादी केन्द्रकी सीता आचार्य निर्वाचित भएकी छिन् । प्रमुखमा आचार्य र उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका हुन् । जि.स.स.को प्रमुखमा महिला प्रतिनिधिको रुपमा निर्वाचित हुने आचार्य अहिलेसम्म पहिलो र एकमात्र पात्र बनेकी छिन् । समितिको सदस्यमा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुन निर्वाचित भएका छन् । यस्तै दलित वा अल्पसंख्यक सदस्यमा पनि सोही दलका निलम सुनार निर्वाचित भएकी छिन् । महिला सदस्यमा पनि सोही दलका जीतकुमारी विक, मीना सुनार र सर्मिला पुन मगर निर्वाचित भएका छन् । समितिको उपप्रमुखमा कांग्रेसका टेकबहादुर बस्नेत निर्वाचित भएका छन् ।
यता, चार स्थानीय तह रहेको मुगुमा कांग्रेसले दुई प्रमुख र तीन उपप्रमुखसहित पाँच स्थान जितेर जिससमा एकल बहुमत बनाएको भए पनि गठबन्धनलाई कायम राखेको छ । कांग्रेसले माओवादी केन्द्र र एकीकृत समाजवदीलाई एक–एक सदस्य दिएको कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाहीले जानकारी दिएका छन् । कांग्रेसबाट प्रमुखमा मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध भएका छन् । यस्तै कांग्रेसबाट एक खुल्ला सदस्य, एक दलित अल्पसख्यक सदस्य र तीन महिला सदस्य गरी पाँचजना निर्विरोध निर्वाचित भएका हुन् । झमुरा रावल, पंचकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव बि.क. सदस्य बनेका छन् । यस्तै, माओवादी केन्द्रबाट कर्णप्रसाद माठागाई संज्याल र एकीकृत समाजवादीबाट दानबहादुर रावल सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी भक्तपुरको जि.स.स.मा भने गोलाप्रथाबाट सबै पद छनौट हुन पुगेको छ । चारवटा पालिका रहेको भक्तपुरमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धनका तर्फबाट तीनजना मतदाता थिए । यसैगरी एमालेका पनि तीनजना नै मतदाता रहेको अवस्थामा नेमकिपाका दुईजना मतदाता थिए । सबै पक्षबाट छुट्टाछुट्टै उम्मेदवार परेका कारण कांग्रेस र एमालेका उम्मेदवारहरुले बराबरी मत अर्थात तीन–तीन पाउँदा गोलाप्रथाबाट निर्वाचित घोषणा गर्नुपरेको थियो ।
यसरी गोलाप्रथा गरिंदा एमालेका उम्मेदवारले प्रमुख सहित अन्य चार सदस्यमा जितको स्थिति पाएको छ । यसैगरी कांग्रेसले उप प्रमुख र एक सदस्यमा विजयको माला पहिरिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले एकलौटी रुपमा जि.स.स. बनाएको अवस्थामा यो पटक कांग्रेस पनि जि.स.स.मा पुग्न सफल भएको छ । एमालेले भने यस पटक गोलाप्रथाबाट आफ्नो भाग्य चम्काउनुपर्ने अवस्था आएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *