मलको समस्याको दीर्घकालिन समाधान खोजौं

Nayabimarsha (Weekly Newspaper from Nepal)

प्रतिनिधि सभाको सोमबारको बैठकले कृषकलाई मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकमा नेकपा (एमाले) का सांसद विशाल भट्टराईले अत्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्ताव दर्ता गरेपछि उक्त प्रस्तावमा छलफल भएपछि त्यस्तो निर्देशन दिइएको हो । भट्टराईले खेती लगाउने बेलामा कृषकले मल नपाएको र कृषकलाई मल उपलब्ध नहुँदासम्म संसद् बैठक स्थगित हुनुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावको छलफलमा ४८ जना सांसदले भाग लिँदा अधिकांशले मलको व्यवस्थापनका विषयमा आवाज उठाएका थिए । छलफलपछि संसदले विशेष प्रस्ताव पारित गर्दै मल आपूर्तिका लागि सबै प्रयास गर्न सरकारलाई निर्देशन दिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले रासायनिक मल कृषि उत्पादन वृद्धिका लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा यस सदनको गम्भीर ध्यानाकर्षण भएको भनी भनेका थिए । विशेष प्रस्तावमा ‘कुल ग्रार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिँदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’ भनिएको छ ।
सार्वजनिक चासोको यस विषयमा संसदले सरकारलाई दिएको निर्देशन स्वागतयोग्य छ । रासायनिक मलको विषय कुनै व्यक्ति विशेषको मात्र नभई यो कृषक वर्ग तथा स्वयम् राज्यको समेत प्रमुख विषय हो । नेपाललाई कृषि प्रधान देशको दर्जा दिने तर त्यसको पूर्वाधारको व्यवस्था भने समयमा नगरिंदा नेपालका कृषक सधैं मर्कामा पर्ने गरेका छन् । हरेक वर्ष खेतीको समयमा आवश्यक मल प्राप्त नहुने हुँदा कृषकले राम्रो उत्पादन गर्न पाएका छैनन् । कृषि उत्पादन राम्रो नहुँदा त्यसको प्रत्यक्ष मार कृषक वर्गमा पर्न जान्छ भने राज्यको अर्थव्यवस्थामै । कृषि प्रधान देशमै विदेशबाट कृषिसँग सम्बन्धित सामग्रीहरु आयात गर्नुपर्ने अवस्था आउनु राज्यकै लागि लज्जाको विषय हो । त्यसैले सरकारले आफ्नो लाज ढाक्नका लागि पनि आवश्यक मलको व्यवस्था समयमै गर्नुपर्ने हुन्छ । यसका साथै हरेक वर्ष विदेशबाट रासायनिक मल आयात गर्नुको साटो आफ्नै देशमा मल कारखानाको स्थापना गरी मल उत्पादनको कार्यलार्इृ प्रसय दिनु दीर्घकालिन समाधान हुन जान्छ । यसका लागि मुलुककै फोहोर नै मल उत्पादनको लागि पर्याप्त आधार हुने देखिएको छ । फोहोरको सही व्यवस्थापन गर्न सकेका खण्डमा आफ्नो देशका लागि आवश्यक पर्ने मलको उत्पादन मुलुकमै गर्न सकिन्छ भने यस्तो गर्दा फोहोरको व्यवस्थापनमा समेत सहयोग पुग्न जाने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *