खानेपानीको डिजी खोज्दै मन्त्री, केयुकेएलमा लफडा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । खानेपानी मन्त्रीमा नेपाली काँग्रेसबाट नियुक्त भएका उमाकान्त चौधरी विवादमा मुछिएका छन् । मन्त्री चौधरी स्वास्थ्य मन्त्रालयमा पनि विवादित बनेका थिए । काँग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री जितेका चौधरीलाई आर्थिक चलखेलको आरोप लागेको छ ।
खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सूर्य कँडेल आगामी श्रावणको दोस्रो साता शुरुमै अनिवार्य अवकाश हुँदैछन् । अमेरिका भ्रमणमा रहेका कँडेल आगामी असार १२–१३ गते स्वदेश फर्कने बताइएको छ । कँडेलले महानिर्देशक बनेर गति दिन नसकेपछि अवकाश हुनु अगावै विभागमा नयाँ महानिर्देशकको खोजी शुरु भएको मन्त्रालय सूत्रले बताएको छ । मन्त्री चौधरीले एक–डेढ वर्ष जति सेवा अवधि बाँकी रहेका प्राविधिक सहसचिव तिरेश खत्रीलाई पठाउन खोजे पनि खत्रीले चासो नदेखाएको स्रोतले बताएको छ ।
कँडेलको बहिर्गमनपछि गोर्खालीहरुमध्ये हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रमाकान्त दुवाडी र कमल श्रेष्ठको महानिर्देशक बन्ने चर्चा चलेको छ । श्रेष्ठको जागिर झण्डै १६–१७ वर्ष बाँकी रहेकाले दुवाडीको सम्भावना बढेको बताइएको छ । वरिष्ठताको हिसाबले मीना श्रेष्ठ विभागको महानिर्देशक हुँदाहुँदै तत्कालीन नेकपा (एमाले) को टीका लगाएर मन्त्री बनेका मणि थापाले हटाएर शुभलाभ लिई खत्रीलाई महानिर्देशक बनाएको चर्चा चलेको छ । डिजी बनेको ८–९ महिनामा मन्त्री चौधरीले खत्रीलाई मन्त्रालयमा सरुवा गरी कँडेललाई पठाएका थिए ।
मेलम्ची खानेपानी आयोजना र साना शहरी खानेपानी आयोजनासमेत विभागमा गाभिएपछि क्षेत्राधिकार बढेकाले डिजी बन्नका लागि मोटो रकम खर्चिनुपर्ने बताइएको छ । आगामी संसदीय निर्वाचनमा बाराबाट चुनाव लड्नका लागि पैसा र आफ्ना कार्यकर्ताहरु जागिर खुवाउन कार्यालय एवं विभागीय प्रमुखहरुलाई दबाब दिने गरेको सरोकारवालाहरुले बताएका छन् । हाल मेलम्चीको पानी वितरण वर्षाका कारण बन्द भएपछि (पिआइडी) आयोजना कार्यान्वयन निर्देशनालयको काम पनि लगभग रोकिएको अवस्था छ ।
यता, प्रतिस्पर्धा गरेर चार वर्षका लागि आएका कारण कसैले हटाउन र सरुवा गर्न नसक्ने बताएका केयुकेएलका सिइओ मिलनकुमार शाक्यले मन्त्री चौधरीलाई टेरपुच्छर नलगाएपछि शाक्य निशानामा परेको बताइएको छ । केही मान्छेलाई केयुकेएलमा करार सेवामा राख्न मन्त्री चौधरीले अनुरोध गर्दा शाक्यले नटेरेपछि कर्मचारीहरु आन्दोलित बनेका छन् । यसअघिका मन्त्रीहरुले केयुकेएललाई कार्यकर्ता भर्ती केन्द्र बनाएका थिए । जसको उदाहरण पिआइडीमा देख्न सकिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *