पेन्डुलममा सडकका दुई सहसचिव

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ । संघीय सरकारअन्तर्गत रहेको सडक विभागका प्रथम श्रेणीका दुईजना प्राविधिक सहसचिव (सु.इ.) लाई बरण्डामा थन्क्याइएको छ । सु.इ.द्वय नवीनमान श्रेष्ठ र पूर्वकुमार राईले बिहान १० बजेदेखि पाँच बजेसम्म विभागअन्तर्गतका शाखाहरु चहारेर तलब बुझ्नै आइरहेका छन् ।
तीनजना सिडिइहरु धर्मेन्द्र झा, ज्ञानेन्द्र झा र रविन्द्रलाल दासलाई मन्त्रालयले का.मु. को जिम्मेवारी दिएको छ । योग्यता २४ (घ) का बढुवा भएर सु.इ. को भए पनि क्षमता इञ्जिनियरको जति पनि नभएको विभागका जानकारहरुले बताएका छन् । छ महिनाभन्दा बढी का.मु. खान नपाइने प्रावधान भए पनि क्षमता र र्कादक्षता हिसाबले झाद्वय र दासले का.मु. मै जिम्मेवारी बहन गर्दै आइरहेका छन् । यिनीहरु तीनैजनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको आशीर्वाद रहेको समाचार स्रोतले बताएको छ ।
का.मु. खाएकाहरुमध्ये ज्ञानेन्द्र झा, संघीय सुपरीवेक्षण तथा अनुगमन कार्यालय पूर्वाञ्चल, धर्मेन्द्र झा हुलाकी सडक आयोजना प्रमुख र रविन्द्रलाल दास बनेपा–सिन्धुली सडकको प्रमुखमा कार्यरत छन् । यी कार्यालयहरुमा प्रथम श्रेणीको सु.इ. रहने व्यवस्था छ । यता, भौतिक पूर्वाधार मन्त्रालयमा पनि चारजना प्राविधिक सहसचिवहरु केशवकुमार शर्मा सहायता समन्वय महाशाखा (वैदेशिक) महानिर्देशक नबनेपछि विभागबाट मन्त्रालय सरुवा गरिएका शिव नेपाल योजना, डोलिडार सिंचाईहुँदै भौतिक मन्त्रालय छिरेका चूडाराज ढकाल निर्माण महाशाखा र डोलिडारबाटै छिरेका अर्का सु. इ. भीमार्जुन अधिकारीको ठाउँमा सरुवा भएपछि मन्त्रालय पूर्ण बनेको छ ।
सु.इ. मा लिखित परीक्षा उत्तीर्ण गरेका प्रेमप्रकाश खत्रीलाई राजनीतिक नियुक्ति गर्ने सडक बोर्डको कार्यकारी अध्यक्षमा झुण्ड्याइएको छ । खत्रीलाई सडक बोर्ड ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै बनेको जानकारहरुले बताएका छन् ।
दोस्रो कार्यकालका लागि सडक विभागको महानिर्देशक बनेर गएका अर्जुनजंग थापालाई पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धि निर्माण व्यवसायीहरुले काम बन्द गर्ने बताएपछि तनावमा परेका छन् । यही अवस्था रहे भौतिक प्रगति ५० प्रतिशत पनि नपुग्ने अवस्था छ । आर्थिक वर्ष समाप्त हुन अब करिब तीन हप्तामात्र बाँकी रहँदा वर्षायामका कारण भौतिक प्रगति हुन कठिनाई देखिन्छ । ठेकेदारका कारण सडक निर्माण गर्न नसकिएको भन्दै प्रतिनिधिसभाको बैठकमा रोइलो मच्चाएकी मन्त्री यादवका सचिवालयका कृष्णदेव यादव र विज्ञ बलराम मिश्रलाई कर्मचारीहरुको सरुवामा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठसँग सेटिङ गरी चलखेल गरेको आरोप लागेको छ । जुन आरोप मिश्र आउनुभन्दा अगाडि राजकिशोर गुप्तालाई लागेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *