रमेश ढकाल
कुनै स्थापित राजनीतिक दलको नेतृत्व यदि साँच्चिकै इमान्दार छ भने सबैभन्दा पहिला त उसले आफ्नो दलबाट सांसद बनेका नेताहरुमध्येबाट सबैभन्दा सक्षम र इमान्दार सांसदहरुको एउटा प्रारम्भिक सूची तयार गर्न सक्छ । त्यसपछि ती सांसदहरुलाई भोलि तपाईंहरुले हाम्रो दलको प्रतिनिधित्व गर्दै मन्त्री बन्ने अवसर पाउनु भयो भने तपाईं कुन क्षेत्रमा काम गर्न चाहनु हुन्छ ? उक्त क्षेत्रमा तपाईंसँंग देश र जनताको हितमा काम गर्नका लागि के कस्ता नयाँ कार्यक्रम तथा योजनाहरु छन् ? त्यस्ता कार्यक्रमहरुको कार्यान्वयनकालागि अनुमानित समय सीमा कति हुने ? लगायतका विषयहरुलाइ समेटेर एउटा प्रारम्भिक प्रस्ताव तयार गरेर पेस गर्नुस् भनेर भन्न सक्छ । यसो गर्दा, भोलि आवश्यकताको आधारमा कुन सांसदलाई के को जिम्मेवारी दिने भन्ने कुराको निर्णय गर्न सहज हुन्छ ।
विशेष अवस्थामा मन्त्री नियुक्त गरिसकेपछि पनि सम्बन्धित मन्त्रीबाट यस्तो प्रकारको लिखित प्रस्ताव दलको समिति वा नेतृत्वलाई बुझाउनुपर्ने नियम बनाउन सकिन्छ । यो विधिलाई मन्त्रीमात्र हैन हरेक प्रकारका राजनीतिक नियुक्तिहरु गर्दा अपनाउन सकिन्छ । यति प्रकृया पूरा गरेर बनेको कुनै पनि मन्त्री वा प्रमुख व्यक्तिले देश र जनताको हितमा उसले पेश गरेको लिखित प्रस्ताव÷ प्रतिबद्धता अनुसार काम गर्न बाध्य बन्ने छ । यस्तो अवस्थामा आफ्नो प्रतिबद्धता अनुसार काम गर्न नसक्दा भोलि आपूm अयोग्य सावित हुने र आपूmले प्राप्त गरेको पद गुम्न सक्ने डर पनि सम्बन्धित व्यक्तिमा सधैं कायम रहने छ । यो अभ्यासले स्वतः भ्रष्टाचारको न्यूनीकरण त हुने नै छ, संँगसँंगै यसले सांसद, मन्त्री लगायतका अन्य प्रमुख व्यक्तिहरुमा अनुशासनको विकास पनि गर्ने छ ।
यस्तो विधि अपनाउनाले, मन्त्री लगायतका अन्य संस्थाका कार्यकारी प्रमुखहरुको कार्यसम्पादन अर्थात उनीहरुले पेश गरेको प्रस्ताव अनुरुप काम गरे नगरेको कुरा पनि सजिलैसँंग मूल्याङ्कन तथा समीक्षा गर्न सकिने छ । यसले भोलिका दिनमा उनीहरुलाई नियुक्त गरिएको जिम्मेवारीमा अझै रहि रहन दिने कि नदिने भन्ने कुराको निर्णय गर्न पनि दलका शीर्ष नेताहरुलाई सजिलो पर्ने छ ।
हाम्रो देशको दुर्भाग्य कस्तो छ भने, यहाँ मन्त्रीलगायतका अन्य राजनीतिक नियुक्तिहरु गर्दा प्रायः देश र जनताको हितमा राम्रो काम गरेर देखाउन सक्ने कुनै व्यक्तिको खुवी अथवा उसको योग्यताका आधारलाई मानिँदैन । सकेसम्म व्यक्तिगत रुपमा ठूला नेताहरुलाई आर्थिक लगायतका लाभ दिन सक्ने अर्थात उनीहरुको अनुकुल काम गरिदिने ‘यस म्यान्’ हरुलाई छानेर नियुक्ति दिने प्रचलन छ । अधिकांश अवस्थामा यस्ता नियुक्तिहरु सम्बन्धित दलको समिति वा अन्य कुनै निकायको स्वतन्त्र निर्णयका आधारमा भन्दा पनि विभिन्न देशी विदेशी दलाल, नाफाखोर तथा विचौलियाहरुको सिफारिसमा हुने गरेको छ ।
कदाचित् कुनै राम्रा व्यक्तिहरुले कुनै अवसर पाइहाले भने पनि उनीहरुलाई स्वतन्त्र रुपमा देश र जनताको हितमा काम गर्न दिँइदैन । उनीहरुका आफ्नै दल भित्रका वा दलले सिफारिस गरेका दलाल, नाफाखोर, गुण्डा नाइकेहरुको दबाब झेल्न गाह्रो हुने र बाहिरिनु परेको अथवा हटाइने गरेको हामीले देख्दै आएका छौँ । यसले के देखाउँछ भने हाम्रो सिङ्गो मुलुकको सरकार सञ्चालन प्रणालीमा अप्रत्यक्ष रूपमा एक खाले यस्तै मानिसहरुको समूहको बोलवाला चल्ने गरेको छ जुन समूह जनता गरिब हुँदा धनी बन्छ र जनता रुँदा हाँस्ने गर्दछ ।
हालै एक निवर्तवान मन्त्री एउटा टेलिभिजन अन्तर्वार्तामा भन्दै हुनुहुन्थ्यो, ‘खुट्टामा जुत्ता, टाउकोमा जेल र घाँटीमा टाई झुन्ड्याएका दलालहरुका कारण मन्त्रालयभित्र शुरुका दिनहरुमा मलाई निसास्सिएको अनुभुती हुन्थ्यो, जुन व्यक्तिहरु आफ्नै दल वा नेताहरुको सिफारिसमा आउने गर्थे । आफ्नो दलको नाम बेचेर विभिन्न उपभोक्ता समितिमार्फत काम गराएर कमिशन खानकालागि योजना माग्न आउने, विभिन्न आपूर्तिकर्ता तथा ठेकेदारहरुको नाममा एलओआईका लागि सिफारिस गरिमाग्ने लगायतका मान्छेहरुको आकांक्षा पूरा गर्नै गाह्रो । राजनीति आमजनताको जीवन परिवर्तनकालागि, सामाज परिवर्तनकालागि एउटा पवित्र माध्यम बन्नु पर्ने थियो । राजनीतिलाई कमाई खाने भाँडो बनाएका, जीवननिर्वाहको साधन बनाएका आफ्नै दल भित्रका यस्तै मान्छेहरुले बदनाम गरेका छन् ।’
हाम्रा केही मन्त्रीहरुका यस्ता कुरा सुन्दा लाग्छ, हाम्रा ठूला भनिने राजनीतिक दलहरु नै सम्पूर्ण रुपमा विभिन्न देशीविदेशी शक्ति केन्द्रका मान्छे, दलालीहरु, नाफाखोरहरु तथा विचौलियाहरुको चङ्गुलमा फसेका छन् । अझ स्पष्ट रुपमा भन्ने हो भने, हाम्रा ठूला राजनीतिक दल र तिनका नेताहरु एउटा यस्तो कुनै शक्तिद्वारा नियन्त्रित वा निर्देशित छन्, जुन शक्तिले नेपाल शान्त र समृद्ध बनेको कहिल्यै हेर्न चाहँदैन । यही कारणले गर्दा, आमजनताको विश्वास प्राप्त गरेर पटक पटक बहुमतको सरकार बनाउने मौका पाउँदा पनि अहिलेसम्म कुनै पनि दलले स्थिर रुपमा आफ्नो कार्यकाल पूरा गर्न सकेको इतिहास हाम्रो देशमा छैन ।
आफ्नो देशको यस्तो दुर्दशा देख्दै गर्दा, मेरो कर्मभूमि कतारमा भने २५ जुन २०१३ का दिन ३३ वर्षकै उमेरमा नयाँ राजाको रुपमा पदभार ग्रहण गरेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले गएको नौ वर्ष भित्रमा कतारलाई सबै तहमा विकसित मुलुकको सूचीमा मात्र पारेनन्, उनको कुशल नेतृत्वमा कतारले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा खेलकुदका क्षेत्रमा सारा विश्वलाई नै चकित तुल्याउने प्रगति ग¥यो । यसले गर्दा आज कतार सारा विश्वकालागि एउटा रोल मोडल बनेको छ ।
एउटा राजा÷नेतामा इच्छाशक्ति र इमानदारीता हुने हो भने ९–१० वर्षको समय देश बनाउनकालागि पर्याप्त हुने रहेछ अर्थात् ९–१० वर्षको समयमा अकल्पनिय प्रगति गरेर देखाउन सम्भव हुने रहेछ । अब यो कुरा हाम्रो देशका ठूला दलका ठूला नेताहरुलाई कसले सम्झाउने ?
खैर, जतिसुकै विधिविधान तथा पद्धतिका कुरा गरे पनि मुख्य समस्या हाम्रा ठूला राजनीतिक दलका ठूला नेताहरुमा नै छ । यी नेताहरुभित्र लुकेको अहंकार र असीमित आकांक्षामा नै छ । अहिलेसम्म आमजनताले अपेक्षा गरे अनुसार देशको विकास हुन नसक्नुमा मुख्य जिम्मेवार हाम्रा ठूला दलका ठूला नेताहरु नै हुन् ।
मुलुकमा व्यवस्था परिवर्तनकालागि ठूला दलका शीर्ष नेताहरूकोे भूमिकालाई सधैं सम्झना गरौंला । देश र जनताको अवस्था परिवर्तन गर्ने सवालमा उनीहरुले देखाएको अकर्मण्यतालाई भने कहिल्यै विर्सन सकिने छैन । मुलुकमा नयाँ युगको आरम्भ गर्न तथा देश र जनताको अवस्था परिवर्तन गर्न, अब हरेक दलका सक्षम युवा नेताहरुले कम्मर कस्नै पर्छ, अन्यथा धेरै ढिलो हुनसक्छ ।
भद्रपुर–झापा (हाल दोहा–कतार) dhakalrp@gmail.com
राष्ट्रिय राजनीतिमा युवाको हस्तक्षेप अपरिहार्य
Facebook Comments Box